• TOKHA LIVE

    • १५ आश्विन २०७७, बिहीबार ०७:५९

    छुवाछूतमुक्त समृद्ध नेपाल, हाम्रै पालामा!

    टाेखा लाइभ

    घनश्याम कोइराला
    असोज १५ काठमाडौं

    हाम्रो देश नेपाल अनेकौँ प्राकृतिक तथा सांस्कृतिक विविधतायुक्त भूमि हो । यहाँ ऋषिमुनिहरूले तपस्या र साधना गरेर प्राप्त गरेका ज्ञानको भण्डार छ । तिनै तप र साधनाका निष्कर्षहरूलाई व्यवहारिकता प्रदान गरिएका धर्म, परम्परा र संस्कृति भएको हुनाले यहाँको सभ्यता प्राचीन सभ्यता हो । मानिसको व्यवहार विकसित भएको प्राचीन सभ्यताको धनी देश भएर पनि समय क्रममा यहाँ केही असान्दर्भिक परम्परा विद्यमान छन् । यस्ता विषयलाई हामीले सही ढंगले पहिचानगरी हटाउन आवश्यक रहेको छ । त्यसमध्येको एउटा हो जातीय विभेदमा आधारित छुवाछूत प्रथा । नेपालको विविधताको सुन्दरतासँग मेल नखाने यस प्रकारको प्रथाबाट हामीले हाम्रो सिंगो नेपाली समाजलाई मुक्त गर्नुपर्दछ । यो लेखमा आज यस विषयमा सानो चर्चा अघि सारिएको छ ।
    विविधता र सुन्दरता :
    नेपाल अत्यन्त प्राचीन सभ्यता भएको देश हो । यहाँको जलवायु र प्रकृतिमा विविधता रहेको छ । यहाँ चौँरी चर्ने हिमाली पखेराहरू छन् । हाम्रो हिमाली क्षेत्र हिउँका टाकुराहरूले सुन्दर त छँदैछ, यहाँ अत्यन्त दुर्लभ हिमाली जरीबुटी र पशुप्राणी छन् । संसारको सर्वोच्च हिमाल सगरमाथा यहीँ छ ।
    हिमालको सुन्दर काखहुँदै दक्षिणतिर फैलिएको पहाडी भूगोल छ । यहाँको पहाडी भूमिमा अनेकौँ प्रकारका वृक्ष–वनस्पति र जरीबुटी छन् । यहाँ कोदो, कागुनो, फापर, धान, मकै, भटमास आदि कृषिबाली हुन्छ । यहाँ घरेलु पशुहरूका लागि अनुकूल डाले घाँस, भुइँ घाँसको धेरै पाइने हुनाले भैँसी, गाई, गोरु, भेडा, बाख्रा आदि पालेर जीविकोपार्जन र आर्थिक समृद्धि प्राप्त गर्न सकिने आधार छ । पहाडी भूगोल र जनजीवनमा अनेकौँ विविधता र विशेषताहरू छन् ।
    सम्पूर्ण पहाडी क्षेत्रको विस्तार अर्थात् फैलावट उत्तरदेखि दक्षिणतिर रहेको छ । पहाडी सुन्दरताले तराई–मधेसको उर्बरतासँग मित लगाएको छ । हाम्रो देशको तराई–मधेसको भूगोल सिंगो मानवसमाजलाई समानताको शिक्षा दिएजस्तै गरी सम्म परेको छ । यहाँको सम्म मिलेको जमिनले सामाजिक मेलमिलापको उपदेश त दिन्छ नै, यहाँको उर्बरताले राष्ट्रको खाद्यान्न भण्डारको जिम्मेवारी पनि वहन गरिरहेको छ । यसरी तराई–मधेसको भूमिले समता सन्देश र समृद्धिको संकल्पलाई एकसाथ सम्बोधन गरेको आभास हुन्छ ।
    हाम्रो प्यारो र सुन्दर मातृभूमि नेपालको हिमालमा धेरै जातजातिको बसोवास छ । यहाँ धार्मिक, सांस्कृतिक र भाषिक विविधता छ । पहाडी भूभाग भाषा, धर्म, संस्कृति र पहिरन, पेसा–व्यवसायका हिसाबले पनि विविध विशेषतायुक्त छ । हिमाली र पहाडी क्षेत्रमा जस्तै तराई–मधेस पनि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक रहेको छ । भौगोलिक प्राकृतिक विशेषताहरूको प्रभावबाट हुर्किएको परम्परा, पद्धति, संस्कृतिको अनमोल सङ्गम हो नेपाल । यही नै हाम्रो राष्ट्रिय चिनारी हो । यही नै हाम्रो विशेषता हो । यही विविधतामा एकता नै हाम्रो राष्ट्रिय बल हो । यति सानो र यति कम जनसंख्या भएका कमै मुलुकमा मात्र यी विशेषता पाइन सक्ला ।
    सभ्यता र भावनात्मक एकता :
    यही विविधताका कारण यो सुन्दर भूमिमा परापूर्व कालदेखि नै मानिसहरू बस्ने गरेको हो । भिन्न भिन्न प्रकृति र जलवायुका कारण यहाँका मानिसहरूको रहन सहन, पहिरन, खानपानमा भिन्नता रहेको छ । उत्पादनका साधन र औजारहरूमा पनि भिन्नता रहेको पाइन्छ । अनुकूलता र रमणीयताका कारण अन्य विभिन्न भूक्षेत्रहरूबाट आएका मानिसहरूको बसाइका कारणले यहाँको भाषा, पहिरन, खानपान, परम्परा र संस्कृतिमा विविधता रहेको छ । अहिले नेपाल रहेको भूखण्डमा प्राचीन कालदेखि नै मानिसहरूको बसोवास रहेको हुनाले यहाँको सभ्यतालाई प्राचीन सभ्यता भन्न सकिएको हो ।
    हाम्रा यी विशेषताहरूमा हाम्रो भावनात्मक एकतालाई थप बल प्रदान गर्न हाम्रा कलाकारहरूले सुन्दर गीत रचेर गाएका छन् नि, ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ …!’यसको तात्पर्य स्पष्ट छ, हामी हाम्रो देशको जुनसुकै भूगोल, भाषा, जाति, पहिरन, धर्म, संस्कृतिका भए पनि बलियो एकता र मेलमिलाप साथ बस्नुपर्दछ ।
    चुनौती र अवसर :
    यी सबै विविधता र विशेषताहरूबाट सिँगारिएको हाम्रो नेपाली समाजमा अहिलेको पुस्ताले नगरी नहुने केही खास जिम्मेवारीहरू पनि छन् । यस्ता जिम्मेवारीहरूमध्ये जातीय विभेद र छुवाछूतको अन्त्य गर्नु प्रमुख विषय हो । समाजको जरैसम्म रहेको छुवाछूत प्रथा अन्त्य गर्नु जति आवश्यक छ, त्यति नै चुनौतीपूर्ण पनि छ । भनिन्छ, चुनौतीसँग अवसर पनि रहेको हुन्छ । यसरी हेर्दा जातीय विभेदमा आधारित छुवाछूत प्रथा अन्त्य गरी समानतामा आधारित सभ्य समाज विकास गर्ने अवसर आज हाम्रो सामु उपस्थित छ ।
    आजको विज्ञान प्रविधिको विकास भएको, शिक्षा र सचेतनाले सभ्य बनाएको, मानिसका अनेकौँ आवश्यकता र उत्कृष्टताको प्रतिस्पर्धाले घरबाहिरको संसार मुख्य भएको २१ औँशताब्दीमा पनि मान्छे–मान्छेका बीचमा जातकै कारणले उँच–नीच मानिने परम्परा मानवमैत्री हुन सक्दैन । यस विभेदको तगारोले हाम्रो विकासमा बाधा पारेको छ, मान्छे–मान्छेका बीचमा सहकार्य, सद्भाव र सहअस्तित्वलाई कमजोर पारेको छ । यसका अनेकौँ पक्षहरू जस्तै : धारा प्रयोग गरेको कारणले भएका झगडा, मन्दिरमा पूजाआजामा रहेका बन्देज, अन्तर्जातीय प्रेम विवाहमा आएका समस्याहरू हामीले कतिले प्रत्यक्ष देखे–भोगेका छौँ भने धेरैले समाचार माध्यहरूबाट थाहा पाएका छौँ ।

    यहाँसम्म कि एउटै नाकनश्ल, उस्तै देवीदेउता मान्ने, उस्तै धार्मिक तथा पितृकार्यमा विश्वास गर्ने भएर पनि कुनै भिन्न जात भएकै कारणले पुरोहित नपाएका समस्याहरू बेस्सरी उठेका छन् । हाम्रो सामाजिक परम्परामा नयाँ घर बनाउँदा वा गृह प्रवेश गर्दा, नयाँ कारोबार सुरु गर्दा, नयाँ सबारी साधन खरिद गर्दा आजापूजा गर्ने प्रचलन रहिआएको छ । यस्ता प्रचलनका लागि समेत निश्चित समुदायका मानिसहरू उपेक्षित हुनुपरिहेको अवस्था छ । यसबाट हाम्रो समाजलाई माथि उठाउन हामी सबैले केही थप क्रियाशीलता बढाउन आवश्यक छ । जुनसुकै मानिसका गुणदोष हुन्छन्, गुणदोषको भागीदार स्वयं उही व्यक्ति हुनसक्दछ, तर कुनै निश्चित जाति वा समुदायका सबै मानिसहरूलाई नीच र अछुत बनाउने परम्परा बदल्नैपर्छ । तर, यसो गर्दा पनि बदलाको भावनाले नभई ‘बदलिने र बदल्ने’ जिम्मेवारीका साथ अघि बढ्न आवश्यक छ । असमान व्यवहारले सद्भाव बन्दैन, सद्भावको अभावमा सहकार्य हुँदैन र सद्भाव र सहकार्य नभएको समाज समन्यायिक हुँदैन । न्याय मरेको समाजले प्रगति गर्न सक्दैन ।
    संवैधानिक अनुकूलता :
    हाम्रो देशमा पटक–पटक गरिएका राजनीतिक आन्दोलन र क्रान्तिको बलमा लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भएको छ । यो लोकतान्त्रिक गणतन्त्र सबै जातजाति, धर्म, भाषा, संस्कृतिमा विश्वास राख्ने नेपाली जनताको सहभागिताबाट सम्भव भएको हो । यसबाट सबैको मनमा विभेद, अन्याय, शोषण, उत्पीडनबाट मुक्तिको आशा थियो । पहिलेको राजनीतिक व्यवस्थाको अवगुणहरूबाट छुट्कारा पाउने आकांक्षा थियो । यिनै आशा र आकांक्षाका कारणले मानिसहरू आफ्नो ज्यानको समेत मायाँ मारेर आन्दोलन र क्रान्तिमा लागेका थिए ।

    यसै कारणले हामी आफ्ना लागि आफैले आफ्ना जनप्रतिनिधि छान्ने र हामीले छानेका प्रतिनिधिले हाम्रो हितमा काम गर्ने व्यवस्थाको उपभोग गर्न पाएका छौँ । हामी सबैको सद्भाव र सहकार्यमा बाधा प¥यो भने, हामी नेपाली जनताको एकता खलबलियो भने हामी कमजोर हुनेछौँ, हाम्रो समाज कमजोर हुने छ र हाम्रो राष्ट्र कमजोर हुनेछ । यस विषयलाई ध्यान दिएर लोकतान्त्रिक गणतन्त्र स्थापनापछि बनेको ‘नेपालको संविधान २०७२’ मा साह्रै असल प्रावधानहरू राखिएको छ । तीमध्ये केही यहाँ प्रस्तुत गरिएको छ :
    राष्ट्र :

    बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । (नेपालको संविधान २०७२, भाग १, प्रारम्भिक, धारा ३)
    त्यसै गरी अर्को ठाउँमा यसरी लेखिएको छ :
    ‘(१) कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन । (२) कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरीद वा प्राप्त गर्नबाट रोक लगाइने वा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वितरण वा प्रदान गरिने छैन ।’(नेपालको संविधान २०७२, भाग ३, मौलिक हक र कर्तव्य, धारा २४ छुवाछूत तथा भेदभाव विरुद्धको हक)
    वेद–शास्त्रका कुरा :
    यद्यपि, नेपाली समाज बहुधार्मिक समाज हो, तथापि यहाँको ठूलो जनसंख्या सनातन हिन्दूहरूको रहेको छ । सनातन हिन्दूहरूको मुख्य धर्मग्रन्थ वेद र त्यसपछि पुराणहरू हुन् । पुराण र यसको व्याख्या गर्ने अन्य ग्रन्थहरूलाई शास्त्र भन्ने गरिन्छ । वेद, पुराण र अन्य शास्त्रहरूको अध्ययन गर्दा जाति र छुवाछूत प्रथालाई फेर्नै नहुने, फेर्नै नसकिने भन्ने देखिँदैन । वेदमा त छुवाछूत भन्ने नै छैन ।
    केही पहिले (असोज १, २०७७) हामीले विश्वकर्मा पूजा गर्यौ, मनायौँ वा देख्यौँ, सुन्यौँ । हाम्रो समाजले विश्वकर्मालाई भगवान मान्यो र पूजा गर्यो ; तर, हाम्रो समाजमा अहिले पनि विश्वकर्मा थर भएका मानिसहरूलाई अछूत बनाइएको देखिन्छ । जब कि विश्वकर्मा शूद्र हुनुपर्ने कुनै कारण देखिँदैन । यस सन्दर्भमा मैले त्यसै दिन सामाजिक सञ्जाल ‘फेसबुक’मा यस्तो लेखेको थिएँ :
    ‘आज विश्वकर्मा पूजा । यन्त्रविद्, वैज्ञानिक विश्वकर्मा । विश्वकर्मा सूर्यका ससुरा हुन् । मनु सूर्यवंशी हुन् । (हुन त मनु एउटा मात्र छैनन्) यिनै मनु वंशका ‘पृषध्र’ नाम गरेका राजाले भुलवश आफ्ना गुरुको गाई मारेर गुरुले दिएको श्रापका कारण उनी शूद्र भए ।
    ‘शूद्रत्वं च पृषध्रोद्रगाद्धिंसयित्वा गुरोश्च गाम् ।’ (अग्निपुराण)
    कुरा यत्ति हो । अनि, सबै विश्वकर्मा अछुत किन ? गुरुको गाईरसम्पत्ति नष्ट गर्नेलाई सजाय दिइयो, राम्रो भयो । पृषध्रको शूद्रतासँग न ती वैज्ञानिक विश्वकर्माको सम्बन्ध छ, न आजका विश्वकर्माको । पहिलेका विश्वकर्मा देवता हुन्, पूजा गरौँ । अहिलेका विश्वकर्मा मानव हुन्, समान व्यवहार गरौँ । विश्वकर्मा दिवसको शुभकामना !!’
    वेद, पुराण र अन्य शास्त्रहरूमा यस्ता अनेकौँ उदाहरण छन् । तर मानिसहरू प्रसंग नबुझी लहेलहैमा लागेर पनि जातीय छुवाछूत लगायतका अन्धविश्वासजन्य विभेदहरू कायम रहेका छन् ।

    अब समय आइसकेको छ, संविधान र प्रचलित कानुनहरूमा छुवाछूतलाई अपराध भनेर किटान गरिएको छ । मानिसहरूमा शैक्षिक जागरण बढेको छ । वेदादि शास्त्रहरू सबैले पढ्न सकिने गरी नेपाली भाषामा अनुवाद भइसकेका छन् । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान घोषणा गरेको छ । यस उपलब्धिका लागि हामी सबै नेपाली जनता जुट्न आवश्यक छ । सबै नेपाली जुट्न जातीय विभेद अन्त्य गर्न आवश्यक छ । समृद्ध नेपाल निर्माण गर्न जातीय विभेदको मानसिकताबाट माथि उठ्न आवश्यक छ । जातीय छुवाछूत मुक्त समृद्ध नेपाल बनाउनु छ हाम्रै पालामा !

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै