–बाबुलाल भण्डारी
कुनै राज्यमा राजकुमारीको भव्य स्वयम्वर आयोजना भयो. शर्त अनौठो थियो। १ देखि २० सम्मको सार्थक गिन्ती सुनाउन सक्नेलाई राजकुमारीले वरमाला पहिर्याउने र चुक्नेलाई ५० कोर्रा हानिने। धेरै देशका राजा-महाराजा र राजकुमारहरू स्वयंवरमा आए. सबै पठित थिए, अङ्क राम्रो जान्दथे, सबैले खरर्र एकोहोरो गिन्ती सुनाए- “एक, दुई, तीन, चार…” तर सबै फेल भए र अन्तत: कोर्रा खाएर निराश भई फर्किए।
दर्शकको भिडबाट एउटा सामान्य मजदुरले आफू राजकुलको नभएको तर यस्तो गन्ती जानेको दाबी गर्यो।उसको साहस देखेर मौका दिइने तर नसकेमा आजीवन जेलहाल्ने शर्तमा उसलाई पनि गिन्ती सुनाउने अवसर दिइयो।
उसले राजकुमारीतर्फ भावपूर्ण दृष्टिले हेर्यो र आफ्नो गणना सुरु गर्यो:
“१. ईश्वर २. पक्ष ३. लोक ४.युग ५. तत्व ६. ऋतु ७. बार ८. सिद्धि ९. ग्रह १०. दिशा ११. रुद्र १२. महिना १३. करण १४. विद्या १५. तिथि १६. श्राद्ध १७. वृहस्पतिका गुण १८. पुराण १९. यिनै राजकुमारी महोदया र २०. स्वयम् म, एक मजदुर !”
वाह ! यो सुनेर सबै चकित भए, एकछिन सन्नाटा छायो।
उसको गन्तीमा कोरा अङ्क मात्र थिएनन् – जीवन र जगतको सार छिपेको थियो।उ १ मा परमात्मा देखि थालेर सारा सारा ब्रह्माण्ड र चराचर जगत समेट्दै २० मा आफैसम्म आइपुगेको थियो। अर्थात् त्यसभित्र परमात्मा, अनन्त ब्रह्माण्ड, प्रकृति, युग, दिशा, काल, तत्व, ज्ञान, विज्ञान, जीवन… र अन्तमा राजकुमारी अनि खुद आफू पनि थियो. विराट जगतमा यसरी नै आफूलाई एकाकार देख्नु र आफूभित्र अनन्त संसार समाहित देख्नु – यही ब्रह्मदृष्टि हो।
कुलीन राजा-राजकुमारहरू गिन्ती जान्दथे, राम्रो सुनाउन पनि सक्थे तर गन्तीभित्र संसार र जीवनलाई समेट्न सक्दैनथे। राजसी शिक्षा मान, सम्मान, शिकार, घोडचढी, युद्धकौशल जस्ता बाह्य कुरामा सीमित थियो. उनीहरू साक्षर र पठित थिए तर शिक्षित थिएनन।उता मजदुर सानो हैसियतको मान्छे, राजगुरुसङ्ग पढ्ने अवसर र प्रतिष्ठा थिएन तापनि उभित्र अवलोकन थियो, अनुभव थियो, दृष्टि थियो र अर्थ थियो।
ज्ञान पदले होइन, विवेक र बुद्धिले निर्धारण हुन्छ. असली शिक्षित त त्यही मजदुर थियो जसले जीवन र जगत बुझेको थियो र जीवनका अनुभवले ज्ञानलाई सिञ्चित गरेको थियो। यही वास्तविक शिक्षा पनि हो।
साक्षरता किताबबाट आउँछ तर शिक्षा जीवन र भोगाइबाट ! साक्षरताले शब्द दिन्छ, शिक्षाले त्यसको अर्थ ! साक्षरता सङ्ख्या र गिन्ती जान्नु हो तर शिक्षा ती सङ्ख्यालाई संसारसङ्ग उनेर सप्तरङ्गी माला बनाउनु हो.
अन्तमा उही मान्छे विजयी भयो जसले पढेको कमै थियो तर जगत र जीवन बुझेको थियो।
यही जीवनको सच्चाइ हो।

