• TOKHA LIVE

    • १६ जेष्ठ २०८३, शनिबार ०७:२५

    सुरूवात नयाँ सोचको: कलाकारहरू किन चित्रकला प्रदर्शनी गर्छन् ?

    -हिक्मत डंगोल

    धेरै कलाकारहरूको जवाफ हुन्छ, आफ्ना नयाँ सिर्जना सार्वजनिक गर्न। कलाकार सम्झना राजभण्डारी पनि यही विचारमा सहमत देखिन्छिन्। आज बालाजुस्थित “सशीस आर्ट स्टुडियोमा सुरु भएको “निरन्तता” कला प्रदर्शनी हेर्दा उनले प्रस्तुत गरेको सोच र सिर्जनामा नयाँपन महसुस गर्न सकिन्छ। “श्री विद्या धिस राजभण्डारी अवार्ड सेरेमोनी २०२६” सँगै आयोजना गरिएको उक्त प्रदर्शनीमा विद्यार्थी कलाकारहरूले तयार गरेका विविध चित्रकला र सिर्जनाहरू प्रदर्शनमा राखिएका छन्। प्रदर्शनीको उद्घाटन वरिष्ठ कलाकार तथा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागकी पूर्व विभागाध्यक्ष डा. सीमा शर्मा शाहले गर्नुभएको थियो। कार्यक्रममा बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, लगायत कला, शिक्षा तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रदर्शनी केवल कला देखाउने माध्यम मात्र नभई बालबालिकाको कल्पनाशक्ति, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकास गर्ने थलो बनेको सहभागी अभिभावकहरू बताउँछन्। विद्यार्थी प्रजना पोखरेलले आफूले यहाँ आएपछि धेरै नयाँ कुरा सिकिरहेको अनुभव सुनाइन्। उनकी आमा कल्पना पोखरेलका अनुसार कला शिक्षाले छोरीको आत्मविश्वास बढाएको छ। “शनिबार घरमा बसेर मोबाइल चलाउनु भन्दा यस्तै सिर्जनात्मक सिकाइमा जोड दिनु राम्रो हो,” उनले भनिन्। अर्की अभिभावक विदुषी अर्यालले पनि नियमित कला अभ्यासपछि छोरीको पढाइ लेखाइमा सुधार आएको बताइन्। “हप्ताको एक दिन पठाएदेखि छोरीको प्रगति राम्रो भएको छ, यसले खुशी बनाएको छ,” उनले भनिन्। आगामी जुन ४ तारिखसम्म सञ्चालन हुने प्रदर्शनीले कला केवल रंग र क्यानभासमा सीमित नभई सोच, अनुभूति र व्यक्तित्व विकाससँग जोडिएको सन्देश दिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै