• TOKHA LIVE

    • २० चैत्र २०८२, शुक्रबार ०५:५२

    दोलखा भीमसेनको गाथाः

    -रविन्द्र श्रेष्ठ
    पृथ्वीको उत्पत्ति भएदेखि नै नेपाल अस्तित्वमा थियो । नेपाललाई परापूर्वकालमा हिमवत्खण्ड भनिन्थ्यो । वेदको सिर्जना यहीँ भएको मानिन्छ । चारै वेदमा हिमवत्खण्डको पटक–पटक चर्चा हुन्छ । तर यहाँनेर शिवांश अथवा रुद्रांश पनि भनेर चिनिने र कतिपय नेपालीले ईष्टदेवको रुपमा पुज्ने भीमसेनको बारेमा र अझ त्यसमा पनि दोलखा भीमसेनको बारेमा चर्चा गरेको छु ।
    एक दिन ऋषि व्यासले भीमसेनलाई आफ्नो शक्ति र सामथ्र्य बढाउने हो भने निर्जला एकादशीको व्रत बस्नु भनेर सुझाव दिन्छन् । शक्ति र सामथ्र्य बढ्ने आशामा भीमसेन पनि व्रत बस्न राजी हुन्छन् । व्रत बस्दा नुहाउनु र उपवास अर्थात् भोकै बस्नुपर्छ । त्यसैले उनी नुहाउन ताम्रपर्णी नदीमा जान्छन् । ताम्रपर्णी भनेको तामाकोशी नदी हो । भीमकाय शरीरका उनी लमतन्न भएर नदीमा सुतेपछि पानीको बहाव रोकिन्छ । पानी रोकिएपछि जगतमाता पार्वतीले महादेवलाई सोध्छिन्– ‘हे प्रभु, ताम्रपर्णी आज कसरी सुक्यो ?’
    महादेव भन्छन्– ‘हे प्रिय, आज निर्जला एकादशीको ब्रत बस्न भीमसेन नुहाउन ताम्रपर्णीमा शयन गरेकाले पानी रोकिएको हो ।’
    पार्वती पनि अचम्म मान्दै– ‘यस्तो खञ्चुवा भीमसेन कुनै हालतमा भोको बस्न सक्दैनन् । म उनको परीक्षा लिन जान्छु’ भनी अपरा नाम गरेकी अप्सरालाई गाईको बाच्छो बनाई आफू स्वयम् बघिनी बनेर ताम्रपर्णीमा जान्छन् । नदीमा सुतेका भीमसेनले बघिनीले बाच्छोलाई खान लघारेको देख्छन् । बाच्छो खान तम्सिएका बघिनीबाट बाच्छोलाई बचाउनु आफ्नो कर्तव्य सम्झी भीमसेन बघिनीलाई लघार्न जान्छन् । त्यसपछि बघिनीरुप पार्वती र भीमसेनको भयङ्कर ठूलो युद्ध हुन्छ । युद्धमा भीमसेन नराम्ररी हार्छन् । उनले आफू व्रत बसेको कारण भोको भएको र भोको भएको कारण शक्तिहीन भएको अनुभव गर्छन् ।
    एउटा बघिनीबाट पराजीत भएर असहाय बनेका भीमसेनले तत्काल शिवलिङ्ग स्थापना गरी महादेवलाई सम्झेर पुकारा गर्छन्– ‘हे महादेव, म आज एकदिन भोको बस्दा मेरो शक्ति नै क्षीण भयो । कैयौं अजंगका हात्ति, सिंह र बाघहरु मेरा यी हातबाट मारिए तर आज एकदिन भोको बस्नाले कमजोर भएर एउटा बघिनीसँग हार्नु प¥यो ।’ भीमसेनले बघिनीरुपी पार्वतीसँगको युद्धमा अब ‘भागौं’ कि ‘लडौं’ भनेर दुई कुरा लेखे । भीमसेनले यी दुई कुरा लेखेको हुनाले ‘दोलखा’ नाम रहन गएको भनिन्छ ।
    उनको पुकारले स्वयम् महादेव प्रकट भए र पार्वतीलाई भने– ‘हे पार्वती ! तिमी अब भने भीमसेनलाई जित्न सक्दैनौं । जसले मलाई आपत पर्दा सम्झन्छ, उसलाई कसैले जित्न सक्दैन ।’
    त्यसपछि भीमसेनलाई महादेव भन्छन्– ‘हे भीमसेन, आज यति ठूलो आपतमा पनि तिमीले मलाई सम्झेर शिवलिङ्ग स्थापना गरी पूजा गरेकोले म अति प्रसन्न भएँ । तिमीले चाहेको वरदान माग ।’
    भीमसेन माग्छन्– ‘मेरो नाम र शक्ति अमर रहोस् । जसले मेरो पूजा गर्छन्, म उसको कामना पूरा गर्न सकूँ ।’ महादेवले ‘तथास्तु’ भनेर भीमसेनलाई वरदान दिई पार्वतीसहित शिवजी अन्तरध्यान हुन्छन् । त्यसैले दोलखा भीमसेनलाई सुरुवाती विहानी पूजा शिवको रुपमा गरिन्छ । त्यसपछि मात्रै उक्त शिलालाई भीमसेनको रुपमा पूजिन्छ । भीमसेनको रुपमा पूजिदा बलि पूजा हुन्छ । भीमसेनको पूजापश्चात् शिलालाई स्नान गरी नारायणको रुपमा पूजा गरिन्छ र साँझ पुनः भीमसेनकै रुपमा पूजा गरी आरती दिने चलन छ ।
    चौतारास्थित गौराति भीमेश्वर, सिन्धुलीस्थित मामती भीमेश्वर र काभ्रेको दाप्चा भीमेश्वर पनि भीमसेनले स्थापना गरेको ज्योर्तिस्वरुपको लिङ्ग मानिन्छ । यी प्रत्येक स्थानमा दोलखामा जस्तै शिलालाई विविध भगवानको रुपमा पूजा हुनुपर्ने हो । भीमेश्वर भनेको भीमसेनले स्थापना गरेको ज्योर्तिस्वरुपको महेश्वर हो । त्यसैले यी शिलाहरुमा भीमेश्वरको रुपमा महेश्वर अर्थात् महादेव र भीमसेन दुवै रुपमा पूजा गरिन्छन् । सिन्धुपाल्चोककै आत्माको रुपमा पुजिने गौराति भीमेश्वरमा पनि शिवजीलाई पूजा गर्ने चलन ‘फूलतार्ने’ विधिबाट गरिन्छ । यो चाहिँ कार्तिक पूर्णिमाको गौराति जात्रामा मात्रै गरिन्छ । खासमा गौरातिमा पनि हुनुपर्ने दोलखामा जस्तै हो ।
    -लेखक रविन्द्र श्रेष्ठ सिन्धु युनेस्कोका अध्यक्ष हुन्।
    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै