नविना श्रेष्ठ
काठमाडौं, गोकर्णेश्वर २०८३ असार १/ आगामी UG-5 Training कार्यक्रम सञ्चालनको तयारीस्वरूप गोकर्णेश्वर नगरपालिकामा समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा नगर प्रमुखसँग आगामी प्रशिक्षण कार्यक्रमको उद्देश्य, सञ्चालन प्रक्रिया तथा स्थानीय समन्वयका विषयमा विस्तृत छलफल गरिएको हो।
उक्त छलफलमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, शिक्षा शाखा प्रमुख वीर बहादुर खड्का लगायत नगरपालिकाका उच्चस्तरीय पदाधिकारीहरूको सहभागिता रहेको थियो।
त्यसैगरी थाइल्याण्डका श्रद्धेय भिक्षु, Dhammakaya Foundation का प्रतिनिधि तथा Universal Goodness Organization का अध्यक्ष राकेश महर्जन, धादिङ दार्खा खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, UG-5 प्रशिक्षक सविता खनाल, श्री राम जानकी आधारभूत विद्यालयका प्रधानाध्यापक तथा टिचिङ हस्पिटलका अध्यक्षसहितको टोलीले समेत बैठकमा सहभागिता जनाएको थियो।
बैठकमा UG-5 तालिमले सहभागीहरूको व्यक्तित्व विकास, नैतिक शिक्षा, नेतृत्व क्षमता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको छ। आयोजक पक्षका अनुसार कार्यक्रमले स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै आगामी प्रशिक्षणलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ।

