कान्सास सिटी, असार ३ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरिया माथि ३–० को प्रभावशाली जित दर्ता गरेको छ। कप्तान लियोनल मेसिले एक्लैले तीन गोल गर्दै ह्याट्रिक पूरा गरेपछि अर्जेन्टिनाले प्रतियोगितामा विजयी सुरुआत गरेको हो।
खेलको १७औँ मिनेटमा मेस्सीले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली शट गोलमा परिणत गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा उनले अर्को गोल थप्दै टोलीको पकड बलियो बनाए। ७६औँ मिनेटमा बक्स बाहिरबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएपछि मेस्सीले आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गरे।
३९ वर्षको उमेरमा विश्वकपमा ह्याट्रिक गर्ने मेस्सीको यो प्रदर्शन ऐतिहासिक मानिएको छ। यससँगै उनले विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अर्जेन्टिनाले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्दै अल्जेरियामाथि दबाब कायम राख्यो। अल्जेरियाले केही अवसर सिर्जना गरे पनि अर्जेन्टिनाको संगठित रक्षापंक्तिलाई भेद्न सकेन।
मेस्सीको जादुमय प्रदर्शनसँगै अर्जेन्टिनाले समूह चरणमा महत्वपूर्ण तीन अंक जोडेको छ भने अल्जेरियाले अब आगामी खेलहरूमा पुनरागमनको चुनौती सामना गर्नुपर्ने भएको छ।

