बालमैत्री योजनामा बालबालिकाको जोड
काठमाडौं २०८३ जेठ १४ । टोखा नगरपालिका नगरबाल संजालको आयोजनामा आ.व.२०८३/८४ को लागि योजना छनौटका लागि आयोजना गरिएको बाल भेला कार्यक्रम “नगर स्तरीय बाल भेला” सम्पन्न भएको छ। बालबालिकाका आवाजलाई स्थानीय योजना तथा नीति निर्माणमा समेट्ने उद्देश्यले आयोजित कार्यक्रममा नगरभरिका बाल प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम नगर बाल सञ्जालका अध्यक्ष धिरेन्द्र बुढाको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथिका रूपमा टोखा नगरपालिका उपप्रमुख तथा कार्यवाहक प्रमुख मुरारी तामाङ रहनुभएको थियो भने विशेष अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई सहभागी हुनुभएको थियो। कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष शान्ता खनाल, टोखा नगरपालिका बालकल्याण अधिकारी निर्मला रेग्मी, ११ वटै वडा बाल अधिकार समितिका संयोजक तथा कार्यपालिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा नगरपालिकाभित्र रहेका ११ वटै वडा बाल सञ्जाल, सामुदायिक बाल क्लब तथा नगर बाल सञ्जालका प्रतिनिधिहरूले समूहगत छलफलमार्फत आगामी आर्थिक वर्षमा बालबालिकाका क्षेत्रमा नगरपालिकाले प्राथमिकतामा राख्नुपर्ने योजनाहरू छनौट गरेका थिए।
बालबालिकाले सार्वजनिक स्थलमा सीसीटीभी तथा सडक बत्ती जडान गर्ने, बालमैत्री अभ्यास गरेका स्थानीय तहहरूको अवलोकन भ्रमण गर्ने, बालमैत्री नगर घोषणा गर्न आवश्यक बजेट व्यवस्था गर्ने, शिक्षकलाई दण्डरहित शिक्षासम्बन्धी तालिम दिने तथा विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुपर्ने माग अघि सारेका थिए।
त्यस्तै, सबै विद्यालयमा समान शैक्षिक क्यालेन्डर लागू गर्ने, १८ वर्षमुनिका बालबालिकालाई लागुऔषध तथा सुर्तीजन्य पदार्थ बिक्री नगर्न पसल व्यवसायीसँग अन्तरक्रिया गर्ने, प्रत्येक वडामा बालमैत्री पार्क निर्माण गर्ने तथा अभिभावकलाई बालअधिकारसम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने विषयमा पनि बालबालिकाले बढी मत दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुरारी तामाङले बालमैत्री नगर निर्माण नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले बालबालिकाले छनौट गरेका योजनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्दै कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, बालश्रममुक्त समाज निर्माण तथा बालअधिकार संरक्षणका लागि सबै सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढिरहेको र आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गरिने जानकारी दिनुभयो।
विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले बालबालिकाको सहभागिताले स्थानीय शासनलाई थप जिम्मेवार र उत्तरदायी बनाउने धारणा राख्नुभयो। उहाँले बालमैत्री वातावरण निर्माणका लागि नगरपालिकाले आवश्यक सहकार्य र योजना कार्यान्वयनलाई प्राथमिकता दिने बताउनुभयो।
सामाजिक समावेशीकरण शाखा प्रमुख एवं बालकल्याण अधिकारी निर्मला रेग्मीले बालबालिकाको सहभागितामूलक योजना निर्माणले स्थानीय सरकारलाई अझ उत्तरदायी र बालमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन्।
उहाँले बालबालिकाका आवश्यकता, समस्या र सुझावलाई योजनामा समेटेर अगाडि बढ्दा मात्र वास्तविक अर्थमा बालअधिकार सुनिश्चित हुने उल्लेख गर्दै नगरपालिकाले बालमैत्री शासन प्रणालीलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिइन्।उहाँले बालबालिकाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा निर्णय प्रक्रियामा सहभागिता बढाउन नगर बाल सञ्जालले खेलेको भूमिका प्रशंसनीय रहेको पनि बताइन्।
वडा नं. ६ का वडा अध्यक्ष शान्ता खनालले बालअधिकार संरक्षणमा समुदाय, विद्यालय र अभिभावक सबैको साझा भूमिका आवश्यक रहेको धारणा राख्नुभएको थियो। खनालले बालबालिकाको आवाजलाई नीति तथा योजनामा समेट्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने बताइन्। उहाँले बालबालिकालाई सिर्जनशील, जिम्मेवार र सचेत नागरिकका रूपमा विकास गर्न स्थानीय तहले निरन्तर सहकार्य र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा बाल अधिकारकर्मी तथा बाल हेल्पलाइन (१०९८) का संयोजक अधिवक्ता सागर भण्डारी, कानुनी साक्षरता नेपालका कार्यकारी निर्देशक ओमप्रकाश सेन ठकुरी, सिविसका सुरज श्रेष्ठ तथा विश्वास नेपालकी कमला सापकोटाको समेत उपस्थिति रहेको थियो।कार्यक्रमको ऋचा अधिकारी र कषक ओझाले संचालन गर्नुभएको थियो ।बालबालिकाका आवश्यकता, सुरक्षा, शिक्षा र अधिकारलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रमले बालमैत्री समाज निर्माणतर्फ सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।


