काठमाडौं । टोखा नगरपालिकाले बिज बिनायक गणेश मन्दिर (विचबिनायक) क्षेत्र आसपास सार्वजनिक जग्गामा निर्माण गरिएका पूजा पसल, टहरा तथा पाटी हटाएको छ। बिहीबार बिहान नगरपालिकाको टोलीले डोजर प्रयोग गरी संरचना हटाउँदा केही समय स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो भने स्थानीयवासी तथा श्रद्धालुहरू भावुक बनेका थिए।
साविक गोंगबु गाविस वडा नं. ८, ९, १० र ११ तथा हालको टोखा नगरपालिका वडा नं. ९, १० र ११ को संगमस्थलमा रहेको गणेशथान (विचबिनायक) मन्दिर क्षेत्रको पाटी तथा टहरा हटाइएको नगरपालिकाले जनाएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको भनिएका संरचनाले गोंगबु–बानियाँटार सडक क्षेत्रमा वर्षौंदेखि सवारी आवागमनमा समस्या सिर्जना गर्दै आएको स्थानीयको गुनासो थियो।
नगरपालिकाका अनुसार बिहान–साँझ कार्यालय तथा विद्यालय समयमा सो क्षेत्रमा अत्यधिक ट्राफिक जाम हुने गरेको थियो। स्थानीयहरूले लामो समयदेखि बाटो विस्तार र अतिक्रमण हटाउन माग गर्दै नगरपालिकामा उजुरी दिँदै आएका थिए।
अभियानअन्तर्गत विचविनायक गनेद्यःछे, गौरी पूजा पसल, एम.के. प्लाजाले निर्माण गरेको फलामे भर्याङ तथा जुत्ता पसल रहेको टहराको केही भाग डोजर लगाएर हटाइएको छ। स्थानीय राकेश सिंहका अनुसार एम.के. प्लाजाले सरकारी जग्गामा रहेको इनारसमेत अतिक्रमण गरेर पुरेको आरोप लगाइएको छ।
टहरा हटाउने क्रममा केही स्थानीयले सार्वजनिक जग्गा संरक्षण र सडक विस्तारको कार्यको समर्थन गरेका थिए भने केहीले लामो समयदेखि व्यवसाय गर्दै आएका साना व्यवसायीलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने बताएका छन्। कतिपयले पर्याप्त पूर्वसूचना नदिई डोजर चलाइएको भन्दै असन्तुष्टि पनि जनाएका छन्।
टोखा नगरपालिकाका कार्यवाहक नगर प्रमुख मुरारी तामाङले लामो समयदेखिको जनताको मागअनुसार पाटी तथा टहरा हटाउन सफल भएको बताए। उनका अनुसार आगामी दिनमा ग्राण्डी अस्पताल, घोप्टे पुल तथा शुभ होम्स क्षेत्रका अतिक्रमित संरचनामा समेत अभियान सञ्चालन गरिनेछ। करिडोर सडक निर्माणलाई प्राथमिकतामा राखेर सार्वजनिक अवरोध हटाउने काम जारी रहने उनले बताए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले नक्सा पास विपरीत सडक क्षेत्रमा बनाइएका भर्याङ तथा अनधिकृत संरचनामाथि पनि कारबाही गरिने जानकारी दिए। उनले पहिलो चरणमा सूचना प्रकाशन, त्यसपछि माइकिङमार्फत जानकारी गराइने र अटेर गरेमा डोजर प्रयोग गरी हटाइने तथा खर्च सम्बन्धित घरधनीबाट असुल गरिने बताए।
टोखा–१० लगायत क्षेत्रमा रहेका केही सामुदायिक भवनहरू व्यक्तिले भाडामा लगाएर लाभ लिइरहेको भन्दै त्यस्ता अतिक्रमणकारीमाथि पनि कारबाही गर्नुपर्ने रास्वपा टोखाका नेता जग्गानाथ ढकालले बताएका छन्। उनले सार्वजनिक जग्गा संरक्षण अभियानमा स्थानीय सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै अभियानलाई अझ तीव्र बनाउन आग्रह गरे।
नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियानअन्तर्गत गणेशथान क्षेत्रमा ४४ वर्षअघि निर्माण गरिएको गुठी भवन र केही टहरा पनि हटाएको जनाएको छ। पूर्व प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीको कार्यकालमै संरचना हटाउने तयारी भए पनि कार्यान्वयन हुन सकेको थिएन। हालका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले सो कार्यलाई प्राथमिकतामा राखेर अभियान अघि बढाएका हुन्।
यसअघि गुठियारहरूलाई गुठी संरक्षणका लागि ५० लाख रुपैयाँको अक्षयकोष हस्तान्तरण गरिएको थियो भने भजन गृहलाई वडा कार्यालयको भुईँतलामा स्थानान्तरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले पटक–पटक आग्रह गर्दा पनि टहरा खाली नभएपछि अन्ततः डोजर प्रयोग गरिएको बताइएको छ।
नेपाल सरकारले पछिल्लो समय सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत टोखा नगरपालिकाले पनि सार्वजनिक सम्पत्ति संरक्षण, सडक विस्तार तथा व्यवस्थित शहरी विकासका लागि अतिक्रमित संरचना हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।


