काठमाडौं ।नेपालका एमएमए खेलाडी रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु यूएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन्।
चीनको मकाउ स्थित ग्यालेक्सी एरेनामा सम्पन्न ब्यान्टमवेट क्वाटरफाइनल प्रतिस्पर्धामा उनले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोन लाई दोस्रो राउण्डमै पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।
‘बझाङको बाघ’ उपनामले परिचित रविन्द्रले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै प्रतिद्वन्द्वीमाथि लगातार दबाब बनाए। यस शानदार जितसँगै उनले आफ्नो व्यावसायिक एमएमए करियरको १०औं जित पनि दर्ता गरेका छन्।
यसअघि भारतको मेट्रिक्स फाइट नाइट मा च्याम्पियन बनेका रविन्द्रले सुरुमा म्याटी इआनसँग खेल्ने तालिका थियो। तर इआन घाइते भएपछि अन्तिम समयमा किम्बर्टसँग उनको प्रतिस्पर्धा तय गरिएको थियो।
ऐतिहासिक जितपछि रविन्द्रले विश्वभर रहेका नेपाली समर्थकप्रति आभार व्यक्त गर्दै आगामी खेलमा पनि उत्कृष्ट प्रदर्शन जारी राख्ने बताएका छन्।
उनको जितसँगै प्रतियोगिता स्थलमा ‘जय नेपाल’को नारा गुञ्जिएको थियो भने रविन्द्रले पनि उत्साहित हुँदै ‘जय नेपाल’ र ‘जय हनुमान’ भन्दै खुसी साटेका थिए।

