– अमर बहादुर डंगोल
विगत २० बर्षदेखि २३रूट अन्तर्गत टाेखा एन एनसी चल्ने माइक्रोबसको भाडा र यातायात नियम यस्को प्रवृत्ति सम्बन्धमा त्यसमा सवार टाेखाका स्थानीय जेष्ठ नागरिक ,मजदुर , विद्यार्थी , यात्रुमहानुभावहरुलाई सोध्ने हो भने सन्तुष्ट हुने आधार भेटिदैन। यातायात र मन परि भाडा असुल्ने , चालक र सहचालकको व्यबहार विरुद्ध जन आक्रोश र असहमति रहे पनि त्यो समस्या मुखतरित हुन सकेको छैन । एक मानेमा दुई दशक देखि टाेखाली जनतालाई सेवा दिइरहेको यो सार्वजनिक यातायातले टाेखाको समग्र विकासमा पुर्याएको सहयोग प्रशंसा योग्य नै छ। तर उस्ले जेष्ठनागरिक, मजदुर , विद्यार्थी , यात्रुमहानुभावहरुको समस्या हरुलाई प्राथमिकतामा राखेको कहिल्यै देखिएन। यस मानेमा भने सधैं दुःख लाग्छ । नियम अनुसार पैसा तिरेर पनि भने जस्तो सेवा सुबिधा उपभोग गर्न पाइएन भने त्यो के को प्रशसनिय काम भन्नू र। शनिबार यी स्तम्भकार काम विशेषले तल सामाखुसी पुगेको थिए। बेलुका सवा ०६ पनि बजेको थिएन म तलबाट पैदलमा घर फर्कँदै थिएँ।रातो गाडी पार्किङ गर्ने ठाउँमा जम्मा एउटा गाडी थियो१०-१२ जना मान्छेहरु चालकसँग कुराकानी गरिराथे।
म पनि नयाँ मान्छे जस्तो गरेर भाइ गाडी तल जाँदैन भनी सोधेँ।प्रत्युत्तरमा “जान्छ तर सामाखुसीसम्म मात्रै” रे!ती १२ जना मध्ये ७ जना सामाखुसीसम्म र ५ जना सुन्धारासम्म जानुपर्ने रे!मैले बाटोमा सुन्धारासम्म जाने मान्छे पाइहाल्छ भन्दाखेरी “अरुबेला जान्थेँ आज शनिबार मान्छे नै हुन्न त्यही भएर सामाखुसीसम्म मात्रै जाने” रे!अनि तलबाट माथि चण्डेश्वरी जान लागेको माइक्रोबसलाई त्यो चालकले कहिले फर्किने भनी सोध्दा फर्किने हो तर सामाखुसीसम्म मात्रै जाने भन्ने जानकारी दियो।यो टोखामा २३ नम्बरको लापरबाही भएन र?तलसम्मको रुटको गाडी सामाखुसीसम्म मात्रै जान्छु भन्न पाइँन्छ?यिनीहरूले सामाखुसीसम्म मात्रै गए नि २५ रुपैयाँ पाइहाल्छ अनि ८-१० रुपैयाँको लागि किन तलसम्म जाने भनी सोच्दा रैछन्।सामाखुसी पुग्नेबित्तिकै यात्रुहरू धेरै ल्याउने लोभले नि तलसम्म नगएको हुनुपर्छ भन्ने मेरो ठम्याइ हो।फर्किने बेलामा सामाखुसीमा धेरैबेर रोकि राख्छ। उभिनेहरुलाई नि यता फर्की उता फर्की भनी एकै ठाउँमा दुईजनालाई राख्छन्।मान्छे चढाउने बेलामा पाइलैपिच्छे रोक्छन् भने ओराल्ने बेलामा मात्रै तोकिएको ठाउँमा रोक्छन्।

यो गाडी ढिला हुन्छ भनेर यसकै अगाडि कयौं यात्रुहरु माइक्रोबस वा झोरमा चल्ने गाडीको प्रतीक्षामा हुन्छन्। त्यसमा गाडी स्टेसनमा आवश्यकताभन्दा बढी रोक्ने,भाडा टोखादेखि-सामाखुसीसम्म २२ रुपैयाँ भए नि २५ रुपैयाँ लिइराछ।विद्यार्थीलाई १२ रुपैयाँ लिनुपर्ने तर सबैले जहिले नि १५ रुपैयाँ लिइराछ। तल सुन्धारासम्म ३३ रुपैयाँ हो ३५ लिन्छ भने विद्यार्थीलाई १८ रुपैयाँ हुनुपर्ने २० रुपैयाँ लिइराछन्।रिङ्गरोडमा न्युनतम भाडा २० रुपैयाँ छ भने यहाँ मात्रै २२ रुपैयाँ छ। फर्किने बेलामा सामाखुसीमा अर्को गाडी नआएसम्म नजाने भनेर यात्रु प्याक भए नि रोकी राख्ने अनि सहचालकले यात्रुले खचाखच भरिएको गाडीको कहिले भित्रसम्म आएर यात्रुलाई अझ पछाडिसम्म जानु भनी मिलाउन आउँछन् भने कहिले झ्यालबाट यसरी बस्नु त्यहाँ बस्नु भनी झ्यालमा चढेर चिच्याउँछन्। टोखाबाट १० मिनेटको फरकमा बस हिँडे पनि एकदमै बिस्तारै जाने र ठाउँमा रोकी जानाले हिँडेर ४० मिनेटमा पुग्ने सामाखुसीमा पुग्न लगभग ३० मिनेट लगाइदिन्छ। यतिसम्म चालकहरुले हर्कत गर्छन कि यहाँबाट गाडी हिँड्ने बित्तिकै आफुभन्दा अगाडि र पछाडिको गाडीको चालक वा सहचालकलाई कहाँ पुग्यो भन्दै फोन गर्दै जान्छ अनि त्यही रफतारमा सो गाडी गुड्छ। जस्ले गर्दा भवितव्यं दुर्घटना ननिम्टेला भन्न सकिन्न।
अनि जब झोर वा माइक्रोबस आउने बित्तिकै सो गाडीले आफ्नो रफ्तार बढाउँछ अनि तछाडमछाड हुन्छ जसले गर्दा साँढेको जुधाई बाच्छाको मिचाइ भन्ने जस्तो हुन्छ।अनेकौं व्यवस्था फेरिए तर टोखाको अवस्थामा कुनै परिवर्तन आएन।यो हाम्रो टोखाको गाडीको ठूलो समस्याको कारणले पर्यटकहरु एकपटक आएकाहरु दोश्रो पटक नआउने कुरा निश्चित छ। आज हाम्रो टाेखामा मात्रै होइन संसारभरि नै यातायातको समस्या , ट्राफिक जाम, यातायात नियन्त्रण गर्न सडकको र बढ्दो निजी गाडीको नियन्त्रण प्राथमिकतामा परेको देखिन्छ । आज संसारमा नै ट्राफिक व्यवस्थापनका लागि सडकको निर्माणका साथसाथै सार्वजनिक सवारी साधनको राम्रो विकास र यसको क्षमता वृद्धि नै उपयुक्त माध्यम मानिएको छ । विकसित राष्ट्रमा सवारी साधनको राम्रो व्यवस्था हुँदा त्यहाँको ट्राफिक समस्या हल भएको देखिन्छ । तर नेपाल स्थानीय सरकार र नयाँ जनप्रतिनिधि नेतृत्वको सरकारले समग्र यातायात क्षेत्रमा किन सकारात्मक परिवर्तन ल्याउन नसकेको होला ?
हरेक निर्वाचित प्रतिनिधिको पहिलो प्राथमिकता यातायातको विकास नै हुन्छ । तर, यो क्षेत्रको विकास जति हुनुपर्ने हो, त्यो भएको छैन ।

सवारीे संख्याको वृद्धि वाषिर्क २०५ प्रतिशत भन्दा धेरै छ । त्यो अनुपातमा न सडक सञ्जालको विकास हुन्छ, न व्यवस्थापनमा सुधार हुन्छ । कुनै राष्ट्रको विकास सडक र यातायातको विकासले मापन गरेको हुन्छ । विकास भन्नेवित्तिकै सडक र यातायातको चित्र जनमानसमा आउँछ । सडक र यातायात अर्थतन्त्रलाई मजबुत पार्ने महत्वपूर्ण कडी हो । यातायातले सामाजिक लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापार व्यसायलाई प्रोत्साहन प्रदान गर्छ । यातायातको अर्थतन्त्रमा निकै ठूलो प्रभाव रहन्छ नेपालमा करिब ८५ हजार किमी सडक सञ्जाल रहेको छ, जसमध्ये १६-१७ प्रतिशत मात्र कालोपत्रे छ । सार्बजनिक सबारी साधनको हकमा मात्र बससेवा छ । गत बर्ष मात्रै लगभग २४०० व्यक्तिले नेपालमा र सयौं नेपालीहरुले विदेशका सडकहरुमा ज्यान गुमाएका छन् । दुर्घटनाको दर वर्षेनीे बढ्ने क्रममा छ । सडकमा नेपालीहरुले सास्ती खेपिरहेका छन् । यातायात व्यवस्थापनका थुप्रै चुनौती छन् ।
यस बारेमा जनप्रतिनिधि,सम्पूर्ण खल:,पुच,गुथि र क्लबहरुले पनि यसलाई सरोकारको विषय बनाई तत्काल समाधानका लागि आवश्यक कदम चाल्नु आजको आवश्यकता हो।
त्यसैले ऐतिहासिक एवं सांस्कृतिक टोखामा म भन्दा अग्रज र दिग्गजहरुका साथै जनप्रतिनिधिहरुलाई सबैभन्दा पहिला यो सार्वजनिक यातायातको समस्याको हलका लागि पहल गरौं अनि अरु कुरा गरौं भन्न चाहन्छु।
टाेखालाइभ डट कममा फागुन १८,२०७९ मा प्रकाशित लेख लेखकका निजि विचार हुन् । – संपादक

