• TOKHA LIVE

    • १५ फाल्गुन २०७९, सोमबार १९:१५

    “सालुगु गाचा”को मूल संगीत स्रष्टा गुरु इन्द्र महर्जन

    नरेन्द्र महर्जन

    February 27, 2023  “सालुगु गाचा सालेमते” आज भोलि यो गीत नबजेको नेवारको भोज हुदैन । यो गीत नबजाईकन जन्ती जादैनन् तर यो गीतको सक्कली बोल हो – “सिला मय्जु गन वनेगु” । यो गीत झन्डै ७० वर्ष पहिला निर्माण भएको गीत हो । जुन बेला काठमाडौंमा मनोरञ्जनको साधनका रुपमा टेलिभिजन भित्री सकेको थिएन । त्यतिबेला मनोरञ्जनको प्रमुख साधन भनेको नै दबूप्याखं (डबली नाटक) हुने गर्दथ्यो, जुन विभिन्न टोलहरुमा गएर डबलीहरुमा प्रदर्शन गरिन्थ्यो । हाल लोकप्रिय भइरहेको ‘सालुगु गाचा सालेमते’ भन्ने गीतको वास्तविकता के हो भन्ने विषयमा आजको मितिसम्म पनि खोजनीति गर्न आवश्यक ठानेन । तर जब यो ‘सालुगु गाचा सालेमते’ भन्ने गीत यति प्रख्यात भयो कि यस गीतलाई तेरो मेरो भन्ने गरियो कसैले सयौँ वर्ष पुरानो लोक गीत भनियो तर यो गीतको सर्जकहरुलाई कहिल्यै खोजीनिति गरिएन । हो यो गीत उ बेला निकै चर्चित डबली नाच ‘शिलामय्जु’को हो । यो गीतलाई यति सुमधुर बनाउनमा ४ जना व्यक्तित्वहरु हुनुहुन्छ ः

    १. इन्द्र महर्जन

    २. हुतराज शर्मा,

    ३. मोहन कृष्ण डंगोल र

    ४. मिन लाल बज्राचार्य हुन् ।

    एउटा जिउँदो साक्षी प्रमाणको रुपमा रहेको विविध बाजाका गुरु, देवी नाचका मुल गुरु, किलाघःत्वाःका कजि, किलाघः पायाःका कुमारी गण तथा गुरुमापा आजुलाई भोजन गराउने गुठीका मूल गुठीयार तथा ज्यापु संस्कृतिका धरोहर श्री इन्द्र महर्जन हुन् तर उहाँले पनि मिति २०७९÷०९÷३० गते स्वर्गवास हुनु भयो । उहाँहरु ४ जना मिलेर बनाएको शिलामय्जु अहिले रिमेक गरिएको “सालुगु गाचा सालेमते” अहिले जति प्रख्यात थियो त्यति नै प्रख्यात ‘शिला मय्जु गन वनेगु’ भन्ने गीत त्यतिबेला बालबच्चादेखि लिएर बुढाबुढी, तन्नेरी, युवा युवती बाटोमा गुनगुनाउदै जाने गर्दथे । पहिला पहिला वर्षायाममा धान रोपार्इं गरिसके पछि श्रावण, भाद्र विशेषत गाइजात्रादेखि यो डबली नाचहरु देखाउने चलन हुन्थ्यो । नेपालमा २०४२ सालमा नेपाल टेलिभिजन स्थापना भई घर घरमा टेलिभिजन हेर्न मिल्ने भयो । टेलिभिजनको स्थापना भई घर घरमा टेलिभिजन हेर्न मिल्ने भयो । त्यहाँ देखि दबली नाच लोप प्रायः भएर गयो । जसले गर्दा स्थानिय भाषा, स्थानिय कलाकारको विकास हुनबाट रोक्न गयो । गुरु इन्द्र महर्जनले ऊ बेला आफू स्वयम् कलाकार भएर पनि नाच्ने कहिले वाद्यवादक भई दबली नाचलाई भरपुर प्रख्यात बनाएका थिए । गुरु इन्द्र महर्जनको समुहले कुनै समय नाचघरमा समेत आफनो दबली नाचहरु देखाउने गर्दथ्यो ।

    एक डबली नाटक मञ्चनको क्रममा दायाँ दशनारायण र बायाँ जुजुभाईका साथमा स्व. इन्द्र महर्जन ।

     

    सम्भवत नेपालमा दबली नाचमा सर्वप्रथम महिलालाई महिलाको पात्रको रुपमा प्रस्तुत गर्ने कार्य पनि गुरु इन्द्र महर्जनको समुहले गरेका थिए । ऊ बेला घरबाट बाहिर आएर कलाकारको रुपमा नाच प्रर्दशन गर्न महिला चेलीबेतिहरुलाई सार्है गार्हो तथा असम्भव जस्तै थियो । ऊ बेलाको समाजमा नेपालका ख्याति प्राप्त अभिनेत्री स्व. सुभद्रा अधिकारीलाई दबली नाचमा महिला पात्रको रुपमा प्रथम पटक प्रस्तुत गरेको थियो । गुरु इन्द्र महर्जनलाई रेडियो नेपालमा वाद्यवादकको रुपमा आउन अवसर दिनु भएको थियो तर उहाँ एक कृषक भएको नाताले खेतीपाती हेर्नु पर्ने तथा जात्रा पर्वहरुमा पनि प्रत्यक्ष रुपमा नेतृत्व लिइ काम गर्नुपर्ने भएकोले सो अवसरलाई त्याग्नु भएको थियो ।

     “उहाँ सँधै कामलाई प्राथमिकता दिनु हुन्थ्यो । त्यसबापत कहिल्यै पनि पुरस्कार, पदक, प्रसंशापत्र जस्ता कुरामा रतिभर लोभ दिनु भएन । उहाँले आफ्नो नाममा राजदरवारबाट आएको पदक अर्कै व्यक्तिलाई दिँदा समेत कहिँ कतै उजुरी गरेनन् ।”

    गुरु इन्द्र महर्जन त्यतिबेला NCCN स्थापना गर्दा सरकारले कौडीको भाउमा जग्गा अधिग्रहण गरेको थियो । त्यो बेला गुरु इन्द्र महर्जनको पनि २ रोपनी जग्गा अधिकरणमा परेको थियो । हाल उक्त जग्गा नेपाल सशस्त्र प्रहरीको कार्यालय रहेको छ । त्यो ठाउँ हो स्वयम्भु पछाडी नागर्जुन नगर पालिकाभित्र पर्दछ । उक्त जग्गा अधिकरण गर्दा पीडित किसानहरुको नेतृत्व लिइ आन्दोलन गर्दा उहाँ जेलमा समेत बस्नु परेको थियो । त्यो बेला जेलमा बस्दा साथीहरु सबैले डरत्रासले कागजात गरि छोर्नु भयो तर उहाँले अन्तसम्म पनि जेल मै रहेर संघर्ष गर्नुभयो पछि सरकारी निकायसँग एक्लै लडनु भनेको भित्तासँग टाउको ठोक्काउनु बराबर हो भनि अनुरोध गरेपछि मात्र उहाँले अन्तमा विद्रोह त्याग्नु भएको थियो । सांस्कृतिक धरोहरका गुरु इन्द्र महर्जन वाद्यबादक, ३२ रागका ज्ञाता कलाकार तथा किसान नेता मात्र नभई उहाँ परम्परागत भोजहरु तयार गर्न पनि त्यतिकै सिपालु व्यक्ति हुनुहुन्थ्यो । उ बेला अहिले जस्तो पार्टी प्यालेसहरु थिएन सवै भोजहरु गल्ली, चोक, बहालहरुमा स्थानिय व्यक्तिबाट नै बनाएर भोज ख्वाउने तथा तयार गर्ने गर्दथ्यो ।

    त्यो बेला गुरु इन्द्र महर्जन सँधै भोजको व्यवस्था गर्न अगाडि अग्रसर भएर नेतृत्व लिई काम गर्नु हुन्थ्यो । गुरु इन्द्र महर्जन स्थानिय मुद्दा मामिला झैझगडा मिलाउने तथा कसैको घर जग्गाको अंश बन्दा गर्न परेमा उहाँ आफै अग्रसर भइ बिवाद रहित ढंगबाट काम सम्पन्न गर्नु हुन्थ्यो । गुरु इन्द्र महर्जन १९९० भाद्र १६ गते बिहिबार बुबा नारायण महर्जन रआमा चिनी माया महर्जनको ठूलो छोराको रुपमा किलागल टोलमा जन्मिनु भएको हो । उहाँले ७ वर्षको उमेरमा बाजाहरु सिक्नु भएको थियो । उहाँको पूरा जीवन सांस्कृतिक क्षेत्रको उत्थान संरक्षण तथा प्रर्वद्धनमा आफनो अमुल्य जीवन समर्पण गरि दिनु भयो । साथै उहाँ सँधै कामलाई प्राथमिकता दिनु हुन्थ्यो । त्यसबापत कहिल्यै पनि पुरस्कार, पदक, प्रसंशापत्र जस्ता कुरामा रतिभर लोभ दिनु भएन।उहाँले आफ्नो नाममा राजदरवारबाट आएको पदक अर्कै व्यक्तिलाई दिँदा समेत कहिँ कतै उजुरी गरेनन्।उहाँ सँधै पुरस्कार पाउन, पदक पाउन प्रशंसा पत्र पाउनु भन्दा ठूलो कुरा समाजले दिने इज्जत ठुलो हो भन्ने विश्वास गर्नुहुन्थ्यो।उहाँ समाजमा चिर परिचित हुनु ठुलो हो भन्ने विचारका हुनुहुन्थ्यो।-मेरो एगल डट कमबाट

    Facebook Comments

    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै