टाेखालाइभ / असोज ३०,२०७८
टोखा–छहरे-कबिलास र बेत्रावती-रसुवागढी सुरुङमार्गको डीपीआर तयार गरिँदै छ । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट रसुवाको नेपाल–चीन नाकासम्म (टोखा–छहरे करिब ५ किलोमिटर र बेत्रावती–रसुवागढी (घट्टेखोला) करिब २४ किलोमिटर) सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको थियो ।
त्यसअनुसार, चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । महामारीपछि चिनियाँ प्राविधिक नेपाल नआएकाले यो आयोजनाको थप अध्ययनबारे अन्योल छ । जापानको सहयोगमा कोटेश्वर–जडीबुटी सुरुङमार्गको अध्ययन पनि भइरहेको छ ।
केन्द्रीय राजधानी काठमाडौं सहरको ट्राफिक समस्या कम गर्न सरकारले नयाँबानेश्वर र गौशालामा पनि अन्डरपास बनाउने योजना बनाएको छ । अहिले सरकारले जताततै सुरुङमार्गको अध्ययन गरिरहे पनि अध्ययन सकिएकामध्ये एउटा मात्र परियोजनाको काम भइरहेको छ ।
काठमाडौं भित्रिने नाका नागढुंगामा बनिरहेको २.६८ किलोमिटर लामो सुरुङमार्गको लागि जापान सरकारले १६ अर्ब सहुलियतपूर्ण ऋण दिएको छ ।
नेपाली सेनाले निर्माण जिम्मा लिएको काठमाडौं–निजगढ द्रूतमार्गको महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बनाउन डिजाइनको काम भइरहेको छ ।
मकवानपुरमा कुलेखानी–भीमफेदी सडक खण्डमा २५ अर्ब लगानीमा देउरालीडाँडा छल्न बागमती प्रदेश सरकारले ३ किलोमिटर लामो सुरुङमार्ग बनाउन खोज्दैछ । पूर्वाधारविद् सूर्यराज आचार्य भने राजमार्गमा सुरुङमार्ग बनाउनुअघि देशभरको यात्रु चाप र भविष्यमा बढ्नसक्ने ट्राफिकसहित औचित्य हेर्न सुझाव दिन्छन् ।
‘हचुवाका भरमा काम हुनुहँुदैन,’ उनी भन्छन्, ‘अहिले गरिएका लगानी भविष्यमा खेर नजाने सुनिश्चित हुने गरी आयोजना बन्नुपर्छ ।’- नुवाकोट एक्सप्रेसबाट

