काठमाडौं कार्तिक २९। ‘सम्पूर्ण अतिवाद तोडौँ, कर्मवादमार्फत नेपाल राष्ट्रको समृद्धिका लागि ७५३ चक्रपथ निर्माण गरौँ’ भन्ने मूल नारासहित आयोजित ‘कर्मवाद’ पुस्तक विमोचन समारोहमा टोखाका दुई विशिष्ट व्यक्तित्व सम्मानित भएका छन्।

प्राचीन तथा ऐतिहासिक नगरी टोखाको मौलिक कला, संस्कृति, परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै टोखाका पहिलो वृत्तचित्र निर्देशक सानुकाजी थापा र टोखाकी पहिलो नर्स हिरादेवी डंगोललाई सम्मानपत्र प्रदान गरिएको हो।

टोखाको पहिलो वृत्तचित्र निर्देशकका रूपमा परिचित थापाले चलचित्र तथा वृत्तचित्रमार्फत टोखाको मौलिक कला, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ। उहाँको सामाजिक तथा सांस्कृतिक योगदानको प्रशंसा गर्दै आयोजकले आगामी दिनमा समेत यस्ता सकारात्मक र प्रेरणादायी कार्यलाई निरन्तरता दिन शुभकामना व्यक्त गरेको थियो।

त्यसैगरी, टोखाकी पहिलो नर्स हिरादेवी डंगोललाई पनि समाजप्रतिको योगदानको कदरस्वरूप सम्मान गरिएको हो। स्वास्थ्य सेवाको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानलाई कार्यक्रमले स्मरण गरेको थियो।

सम्मान ग्रहणपछि सानुकाजी थापाले प्राप्त सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई जन्मभूमि टोखाको कला, संस्कृति, परम्परा र ऐतिहासिक पहिचान संरक्षणका लागि गर्दै आएको निरन्तर प्रयासको कदर भएको बताउनुभयो। उहाँले यस सम्मानले आगामी दिनमा आफ्नो माटो र संस्कृतिको संरक्षणमा थप समर्पित भएर लाग्न प्रेरणा मिलेको उल्लेख गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि सभाका अध्यक्ष नारायण दाहालले दुवै व्यक्तित्वलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित विभिन्न व्यक्तित्वहरूले ‘कर्मवाद’ पुस्तकको विषयवस्तु, यसको सामाजिक तथा राष्ट्रिय सान्दर्भिकता र देशको समृद्धिका लागि कर्मको महत्त्वबारे आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो। वक्ताहरूले समाज परिवर्तन भाषण र नाराले मात्र सम्भव नहुने उल्लेख गर्दै इमानदार कर्म, सकारात्मक सोच र सामूहिक प्रयासबाट मात्रै समृद्ध राष्ट्र निर्माण गर्न सकिने धारणा राख्नुभएको थियो।

कार्यक्रममा लेखक कृष्ण अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो। ‘कर्मवाद’ पुस्तकका लेखक तथा सांस्कृतिक संरक्षण अभियन्ता मनिराज डंगोलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा प्रदान गरिएको सम्मानले टोखाको मौलिक पहिचान, इतिहास, संस्कृति तथा सामाजिक सेवामा योगदान पुर्‍याउने व्यक्तित्वहरूको योगदानलाई उजागर गर्नुका साथै भावी पुस्तालाई समाज र जन्मभूमिप्रति जिम्मेवार बन्न प्रेरणा दिने विश्वास गरिएको छ।