काठमाडौं कार्तिक २८ । खानेपानी मानव जीवनको आधारभूत आवश्यकता हो। यही आवश्यकतालाई आत्मसात् गर्दै शंखरापुर नगरपालिका–६ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले खानेपानीको मुहान संरक्षण र आयोजना सञ्चालनका लागि आफ्नो नाममा रहेको एक रोपनी जग्गा डाँडाथोक खानेपानी उपभोक्ता समितिलाई दान बकस गर्ने करार गर्नुभएको छ।

शंखरापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्रेष्ठ र डाँडाथोक खानेपानी उपभोक्ता समितिका तर्फबाट अख्तियारप्राप्त समरबहादुर तामाङबीच जग्गादानसम्बन्धी करार तथा सम्झौतामा हस्ताक्षर भएको हो। मुलुकी देवानी संहिता, २०७४ को अधीनमा रही गरिएको उक्त करारसम्बन्धी जानकारी पत्रकारहरूमाझ समेत गराइएको छ।

श्रेष्ठले दान बकस गर्ने करार गर्नुभएको जग्गा साविक नालेभारे वडा नं. ६/ख, हाल शंखरापुर नगरपालिका वडा नं. १ मा रहेको कित्ता नम्बर ३५६ को एक रोपनी क्षेत्रफलको जग्गा हो। उक्त जग्गा पोखरी खोला खानेपानीको मुहानसँग सम्बन्धित रहेको छ। खानेपानीको स्रोत तथा मुहानको संरक्षण गर्दै आयोजनालाई दीर्घकालीन रूपमा व्यवस्थित र सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले जग्गा सामुदायिक प्रयोजनका लागि उपलब्ध गराउने निर्णय गरिएको हो।

सम्झौताअनुसार शंखरापुर नगरपालिकामा खानेपानी उपभोक्ता समिति विधिवत् दर्ता गर्न श्रेष्ठले आवश्यक मञ्जुरी प्रदान गर्ने र समिति दर्ता भइसकेपछि प्रचलित कानुनअनुसार लाग्ने राजस्व तथा दस्तुर बुझाई जग्गा समितिको नाममा हस्तान्तरण गरिनेछ। जग्गा हस्तान्तरणसम्बन्धी आवश्यक कागजात तथा कानुनी प्रक्रिया दुवै पक्षले सम्झौताबमोजिम पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, खानेपानीको गुणस्तर कायम राख्ने, मुहानको संरक्षण गर्ने र स्थानीय समुदायलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने जिम्मेवारी उपभोक्ता समितिको रहनेछ। समुदायको हितविपरीत खानेपानीको दुरुपयोग हुन नदिन आवश्यक नियन्त्रण तथा व्यवस्थापन गर्ने अधिकारसमेत समितिमा रहने सम्झौतामा उल्लेख छ।

सामाजिक सेवा र सामुदायिक विकासमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका श्रेष्ठ जनप्रतिनिधि बन्नुअघि स्थानीय टोल सुधार समितिको अध्यक्षका रूपमा सामाजिक सुधारका विभिन्न काममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले शंखरापुर नगरपालिका वडा नं. ६ को वडा अध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालिसक्नुभएको छ। आफ्नो कार्यकालमा भाषा, संस्कृति, सम्पदा संरक्षण तथा स्थानीय विकास निर्माणका क्षेत्रमा समेत उहाँले सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।

विशेषगरी जनप्रतिनिधिका रूपमा प्राप्त हुने सेवा–सुविधा, भत्ता तथा पारिश्रमिक व्यक्तिगत रूपमा उपभोग नगरी सामाजिक तथा मानवीय सेवाका काममा सहयोग गर्दै आउनुभएका श्रेष्ठको यो जग्गादानसम्बन्धी पहललाई पनि सामुदायिक हितप्रतिको जिम्मेवारी र सामाजिक उत्तरदायित्वसँग जोडेर हेरिएको छ।

खानेपानीको मुहान संरक्षण केवल एउटा आयोजना वा उपभोक्ता समितिको विषय मात्र नभई समग्र समुदायको स्वास्थ्य, जीवन र भविष्यसँग जोडिएको महत्वपूर्ण सवाल हो। पानीको स्रोत सुरक्षित रहे मात्र भावी पुस्ताले समेत स्वच्छ र सुरक्षित पानी उपभोग गर्न पाउनेछन्। यही दीर्घकालीन सोचका साथ निजी सम्पत्तिलाई सामुदायिक हितमा उपयोग गर्ने श्रेष्ठको निर्णयले स्थानीय खानेपानी व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आफूसँग भएको सम्पत्ति व्यक्तिगत प्रयोजनमा मात्र सीमित नराखी समाजको साझा आवश्यकता पूरा गर्न समर्पित गर्नु सामाजिक सेवाको एउटा उदाहरणीय अभ्यास हो। एक रोपनी जग्गा दान गर्ने करारले पोखरी खोला खानेपानीको मुहान संरक्षण, आयोजनाको दिगो सञ्चालन र स्थानीयवासीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने अभियानमा थप आधार तयार गर्ने विश्वास गरिएको छ।
समुदायको आवश्यकता र भावी पुस्ताको हितलाई केन्द्रमा राखेर गरिएको यस्तो पहलले स्थानीय तहमा विकास निर्माणसँगै सामाजिक उत्तरदायित्व र सामुदायिक सहकार्यको महत्वसमेत उजागर गरेको छ।