काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो ।
यसअघि दुईपटक फाइनलमा पुगेर उपविजेतामै सीमित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि चुमेको हो ।
लुम्बिनीले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमले १५६ रनको लक्ष्य १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो ।
स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेले आक्रामक ब्याटिङ गर्दै अविजित १२५ रन बनाए । उनले ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गरे । अर्का ओपनर विनोद भण्डारीले अविजित ३० रनको योगदान दिए । यी दुईबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भयो ।
लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९, कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ र अली शेखले २४ रन बनाए । सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
फाइनल खेलका उत्कृष्ट खेलाडी जर्ज मुन्से घोषित भए । लगातार दुई संस्करणको फाइनलमा पराजित हुँदै आएको सुदूरपश्चिमले यसपटक उपाधि जित्दै एनपीएलमा नयाँ इतिहास रचेको छ ।


