काठमाडौं मंसिर ५। राजनीतिज्ञ, समाजसेवी तथा बहुप्रतिभाशाली साहित्यकार धर्मरत्न यमीका उपन्यासमा चित्रित नारीपात्रबारे अनुसन्धान गरी तयार पारिएको पुस्तक ‘धर्मरत्न यमिया उपन्यासय् नारीपात्र’ लोकार्पण गरिएको छ ।
धर्महिरा स्मृति प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक कार्यक्रमबीच लोकार्पण गरेका हुन् ।
कार्यक्रममा पुस्तकका लेखक रामेश्वर ह्याउँनिभाःले उक्त पुस्तक आफ्नो स्नातकोत्तर तहको शोधपत्रका रूपमा तयार पारेको जानकारी दिए । उनले धर्मरत्न यमीका ‘लिथु’, ‘भृकुटी’ र ‘आङल्हामु’ उपन्यासका नारीपात्रको अध्ययन तथा विश्लेषणका साथै यमीको साहित्यिक कृतित्वलाई समेत पुस्तकमा समेटिएको बताए ।

पुस्तकको समीक्षा गर्दै अनुप सिं सुवालले शोधप्रबन्ध र पुस्तकबीचको भिन्नता औँल्याउँदै पुस्तकमा रहेका भाषिक, व्याकरणिक तथा प्राविधिक कमजोरी सुधार गरी दोस्रो संस्करण प्रकाशन गर्नुपर्ने धारणा राखे ।
नेपालभाषा केन्द्रीय विभागका प्रमुख उपप्राध्यापक डा. बज्राचार्यले पुस्तकमा धर्मरत्न यमीको व्यक्तित्व र कृतित्वसँगै उनका साहित्यिक रचनामाथि अनुसन्धान गरिएको बताए । मानिसको पहिचान शरीरबाट नभई कर्मबाट हुने उल्लेख गर्दै उनले धर्मरत्न यमीलाई राजनीतिज्ञ, समाजसेवी र साहित्यकारका रूपमा स्मरण गरे । उनले ‘भृकुटी’ उपन्यासको ऐतिहासिक पृष्ठभूमिबारे पनि चर्चा गर्दै साहित्य अध्ययन गर्दा लेखकको व्यक्तित्व बुझ्नु आवश्यक रहेको बताए ।


