काठमाडौं । भारतीय फिल्म ‘रामायण’ले नेपालमा २५ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शनमा आएको फिल्मले नेपाली दर्शकबाट समेत उत्साहजनक साथ पाएको हो ।
बक्सअफिस स्रोतका अनुसार फिल्मले शुक्रबारसम्म नेपालबाट २५ करोड ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । यस अवधिमा फिल्मका ६ लाख ४० हजारभन्दा बढी टिकट बिक्री भएका छन् ।
नेपालमा फिल्मले प्राप्त गरेको शो संख्या र दर्शकको अकुपेन्सीलाई हेर्दा यसको कुल कमाइ ३० करोड रुपैयाँको हाराहारीमा पुग्ने अनुमान गरिएको छ । विश्वभर पनि फिल्मले उल्लेखनीय कमाइ गरिरहेको निर्माण पक्षले जनाएको छ ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपूरले भगवान् राम, साई पल्लवीले सीता, यशले रावण, रवि दुबेले लक्ष्मण र सनी देओलले हनुमानको भूमिका निर्वाह गरेका छन् ।
निर्माता नमित मल्होत्राले भारतीय पौराणिक महाकाव्य रामायणलाई आधुनिक प्रविधि र भव्य प्रस्तुतिमार्फत विश्वव्यापी दर्शकमाझ पुर्याउने उद्देश्यले फिल्म निर्माण गरेका हुन् ।
रामायणको विस्तृत कथालाई एउटै फिल्ममा समेट्न कठिन हुने भएकाले निर्माण पक्षले यसलाई दुई भागमा प्रस्तुत गर्ने योजना बनाएको छ । पहिलो भागको आधिकारिक शीर्षक ‘रामायण : राइज अफ अ लेजेन्ड’ राखिएको छ ।
पहिलो भागमा भगवान् रामको जीवन, वनवास, सीता हरण तथा राम–रावणबीचको द्वन्द्वको पृष्ठभूमिलाई समेटिएको छ । कथाका महत्त्वपूर्ण घटना, पात्रबीचका सम्बन्ध र युद्धका प्रसङ्गलाई विस्तृत रूपमा प्रस्तुत गर्ने उद्देश्यले फिल्मलाई दुई भागमा निर्माण गरिएको हो ।
निर्माण पक्षले दोस्रो भाग सन् २०२८ को दीपावलीमा प्रदर्शन गर्ने प्रारम्भिक योजना सार्वजनिक गरेको छ ।-NNB


