काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका संस्थापक तथा पूर्वअध्यक्ष डा. मित्र काफ्लेले विदेशमा रहेका वंशजका नेपालीलाई पुरानै नागरिकताको निरन्तरता दिए नेपालमा पाँचदेखि १० गुणासम्म बढी लगानी भित्रिने दाबी गरेका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले विदेशमा रहेका नेपालीलाई मतदान, राजनीतिक सहभागिता, व्यवसाय र लगानीको अवसर दिनुपर्ने बताए । प्रविधिको विकाससँगै विदेशमा रहेका नेपालीलाई अनलाइन मतदानको व्यवस्था गर्न सकिने उनको भनाइ छ ।

डा. काफ्लेले एनआरएनए कार्डभन्दा वंशजको नागरिकताको निरन्तरता लगानी आकर्षित गर्न प्रभावकारी हुने उल्लेख गर्दै विदेशमा रहेका नेपाली अवकाशपछि नेपाल फर्केर बस्न, पेन्सन खर्च गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न इच्छुक रहेको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि वंशजको नागरिकता निरन्तरताको प्रतिबद्धता जनाएको तर सरकार गठन भएको १०० दिनभित्र पूरा गर्ने भनिएको प्रतिबद्धता छ महिना बितिसक्दा पनि कार्यान्वयन नभएको गुनासो गरे ।

रास्वपा सभापति रवि लामिछानेसँग यस विषयमा छलफल भएको र आगामी हिउँदे अधिवेशनमा नागरिकता निरन्तरताको विषय अघि बढाउने आश्वासन पाएको पनि उनले जानकारी दिए ।

विदेशमा रहेका नेपालीका मुख्य माग पुरानो वंशजको नागरिकताको निरन्तरता, स्वदेश फर्केर काम गर्ने अवसर र लगानीमैत्री नीति रहेको डा. काफ्लेले बताए ।