मंसिर २। काठमाडौँको धापासीस्थित ग्राण्डी अन्तर्र्राष्ट्रिय अस्पतालमा ‘अन्तर्राष्ट्रिय प्याथोलोजी सप्ताह–२०२६’ मनाइएको छ ।

अस्पतालमा आज (बुधबार) एक कार्यक्रमको आयोजना गरी प्याथोलोजी विज्ञानको महत्व, रोग पहिचान तथा उपचारमा यसको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताह मनाइएको हो ।

‘पर्सनलाइज्ड मेडिसिनको युगमा प्याथोलोजी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले सीमित स्रोत र उपकरणका बाबजुद पनि अस्पतालले बिरामीलाई उत्कृष्ट र समयमै सही निदान सेवा प्रदान गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।

उहाँले ल्यावको गलत रिपोर्टका कारण कहिलेकाँही विरामीको ज्यान नै खतरामा पर्ने भएकाले यसप्रति सबै चनाखो हुनुपर्ने बताउनुभयो । डा विजुक्छेले उत्कृष्ट र सराहनीय कार्य गरी चिकित्सक तथा बिरामीलाई सहजता प्रदान गर्ने सम्पूर्ण प्याथोलोजी परिवारप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझै त्रुटिरहित र गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पतालकी रजिष्ट्रार प्याथेलोजिस्ट डा अलिना अवालेले आधुनिक स्वास्थ्य सेवामा प्याथोलोजीको बढ्दो महत्व, रोगको सही पहिचान, प्रयोगशाला परीक्षण तथा बिरामीको स्वास्थ्य अवस्थाअनुसार प्रभावकारी उपचार पद्धति विकासमा प्याथोलोजीको भूमिकाबारे बताउनुभएको थियो । उहाँले प्याथोलोजी ल्यावको बारेमा अहिले अस्पतालले प्रदान गरेको सेवाको बारेमा जानकारी गराउनुभएको थियो ।

अस्पतालकी ल्याव म्यानेजर डा शैला राणाले प्याथोलोजी विधा चिकित्सा विज्ञानको महत्त्वपूर्ण विधा भएको बताउनुभयो ।  यसले रगत, पिसाब, तन्तु तथा शरीरका अन्य नमुनाको परीक्षणमार्फत रोग पहिचान गर्न चिकित्सकलाई सहयोग पु¥याउने उहाँको भनाई थियो ।

यसले विशेषगरी क्यान्सर, संक्रमण तथा विभिन्न जटिल रोगको निदान र उपचारको प्रभावकारिता मूल्याङ्कनमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

व्यक्तिको स्वास्थ्य अवस्था, रोगको प्रकृति र आवश्यकताअनुसार उपचार गर्ने व्यक्तिगत चिकित्सा पद्धतिको विकाससँगै प्याथोलोजीको भूमिका अझ महत्वपूर्ण बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

उक्त सप्ताहमार्फत स्वास्थ्य सेवामा प्याथोलोजीको योगदान र रोगको समयमै सही पहिचानको आवश्यकताबारे थप सचेतना फैलाउन सहयोग पुग्ने बताइएको छ ।