काठमाडौँ । काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र परम्परालाई निरन्तरता दिने उद्देश्यले जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माण कार्य सुरु गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बसन्तपुर डबलीको दक्षिणतर्फ कुमारी घरसँगै रहेको जमिनमा विधिपूर्वक पूजाआजा गरी निवासस्थान निर्माणको शिलान्यास गरेकी हुन् ।

श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि ६ करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ । उक्त निर्माणले काठमाडौँको मौलिक नेवाः संस्कृति, धार्मिक परम्परा तथा ऐतिहासिक सम्पदासँग जोडिएका जीवित देवताहरूको परम्परागत व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानका रूपमा रहेको जीवित देवताको परम्परामा श्रीगणेश र श्रीभैरवको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहँदै आएको छ । इन्द्रजात्रालगायत विभिन्न जात्रा, पर्व तथा धार्मिक अनुष्ठानमा उनीहरूको उपस्थिति र सहभागिता नेवाः समुदायको मौलिक परम्परासँग जोडिएको छ ।

निवासस्थान निर्माण सम्पन्न भएपछि जीवित देवतासँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन र व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको छ । साथै, यसले भावी पुस्तामा परम्परागत संस्कृति र सम्पदाको संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्नसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


