काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को कार्यान्वयन औपचारिक रूपमा सुरु गरेको छ। ऐन कार्यान्वयनको पहिलो दिन आज करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासु परीक्षण गरी स्वस्थ मासुमा छाप लगाउने कार्य गरिएको विभागले जनाएको छ।

उपत्यकाका विभिन्न वधशाला तथा मासु बिक्री केन्द्रमा पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा मासुको परीक्षण तथा छाप लगाउने कार्य सुरु गरिएको हो। यसक्रममा काठमाडौंको बालाजुस्थित भ्याली कोल्डस्टोर, टोखास्थित सिन्धु चिकेन र थ्रिस्टार फुड प्रालि, मध्यपुर ठिमीस्थित न्यु पञ्चकन्या सप्लायर्स तथा टेकुका राँगाको मासु बिक्री केन्द्रमा अनुगमन तथा परीक्षण गरिएको छ।

स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु मात्र उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत पशु सेवा विभागले विभिन्न स्थानमा मासु निरीक्षकका रूपमा पशु चिकित्सकहरू खटाएको छ।

विभागका अनुसार बालाजुमा डा. कमलेश्वर भाट, टोखामा डा. गौरीमान श्रेष्ठ र डा. जस्मिन अधिकारी, भक्तपुरमा डा. पुजन सिंह कुँवर तथा टेकुमा डा. उदय लाल खत्रीले मासु निरीक्षकको जिम्मेवारी सम्हालेका छन्।

परीक्षणका क्रममा पशुको वध गर्नुअघि गरिने ‘एन्टिमोर्टम’ (वधपूर्व) र वधपछि गरिने ‘पोस्टमार्टम’ (वधपश्चात्) जाँचलाई प्राथमिकता दिइएको छ। जाँचका क्रममा मरेका पक्षी तथा अस्वस्थ मासु भेटिएमा तत्काल हटाउने र स्वस्थ मासुमा मात्र आधिकारिक छाप लगाउने व्यवस्था गरिएको विभागले जनाएको छ।

त्यस्तै, मासुमा छाप लगाउन प्रयोग गरिने मसी पूर्ण रूपमा खाद्य गुणस्तरयुक्त (फुड ग्रेड) भएकाले यसले मानव स्वास्थ्यमा कुनै नकारात्मक असर नपार्ने विभागले स्पष्ट पारेको छ।

ऐनको प्रभावकारी कार्यान्वयनसँगै उपभोक्ताले स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने तथा मासु उत्पादन, प्रशोधन र बिक्री वितरणमा स्वच्छता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।