काठमाडौं । सूर्यदेवप्रति श्रद्धा र भक्तिभाव प्रकट गर्दै मनाइने चारदिने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।
काठमाडौंको कमलपोखरीमा छठ पर्वको अन्तिम दिन बिहानैदेखि व्रतालु तथा श्रद्धालु भक्तजनहरूको उल्लेख्य घुइँचो लागेको थियो। भक्तजनहरूले पोखरीको पवित्र जलमा उभिएर उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै विधिपूर्वक पूजा तथा आराधना गरेका थिए।
चार दिनसम्म विभिन्न धार्मिक विधि, परम्परा र आस्थाका साथ मनाइने छठ पर्वमा व्रतालुहरूले पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा रहेको छ।
सूर्यदेवको उपासना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामनासहित मनाइने छठ पर्व बिहानको अर्घ्यसँगै यस वर्षका लागि सम्पन्न भएको हो।


