काठमाडौं । काठमाडौंको टोखास्थित एन्जल्स प्याराडाइज स्कुलको आयोजनामा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता ‘BOTNETIX 2.0’ सम्पन्न भएको छ। कार्तिक २० गते शुक्रबार आयोजित प्रतियोगितामा विभिन्न २० विद्यालयका २०० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगिताले विद्यार्थीमा विज्ञान, प्रविधि, नवप्रवर्तन तथा सिर्जनशील सोचको विकास गर्ने उद्देश्य राखेको थियो।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले रोबोटमार्फत दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ, टोखा नगरपालिका वडा नं. ३ का अध्यक्ष रमेश डंगोललगायत विभिन्न अतिथिको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले विज्ञान तथा प्रविधिको विकासबाट नै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताए। विद्यार्थीहरूले सानै उमेरदेखि प्रविधिको क्षेत्रमा रुचि राख्दै मेहनत, लगनशीलता र सिर्जनशीलताका साथ अघि बढे भविष्यमा देशका दक्ष वैज्ञानिक तथा प्रविधिविज्ञ बन्न सक्ने उनको भनाइ थियो। उनले प्रतियोगितामा सहभागी विद्यार्थीलाई आफ्नो ज्ञान, सीप र क्षमतालाई निरन्तर विकास गर्दै नयाँ आविष्कार तथा अनुसन्धानतर्फ अग्रसर हुन शुभकामना दिए।
टोखा नगरपालिका वडा नं. ३ का अध्यक्ष रमेश डंगोलले विद्यार्थीको प्रतिभा पहिचान र प्रविधिमैत्री शिक्षाको विकासका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए। उनले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक सीप, वैज्ञानिक सोच र नयाँ प्रविधिको प्रयोगमा समेत दक्ष बनाउनुपर्नेमा जोड दिए। यस्ता कार्यक्रमले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र सिर्जनशीलताको विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
एन्जल्स प्याराडाइज स्कुलका प्रिन्सिपल रामकृष्ण डंगोलले विद्यार्थीमा रहेको प्रविधिसम्बन्धी ज्ञान, सीप र क्षमता पहिचान तथा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। विद्यालयले परम्परागत पठनपाठनसँगै व्यवहारिक ज्ञान, प्रयोगात्मक अभ्यास र प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले यस्ता प्रतियोगिताले विद्यार्थीलाई सिकेका कुरालाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने बताए।
त्यसैगरी Ameca Academy of Innovation का प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय शेरचनको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। एन्जल्स प्याराडाइज स्कुल र Ameca Academy of Innovation को सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो।
Ameca Academy of Innovation का सीईओ विजय शेरचनले विद्यार्थीलाई सानै उमेरदेखि रोबोटिक्स, कोडिङ, इलेक्ट्रोनिक्स तथा नवप्रवर्तनका क्षेत्रमा व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले विद्यार्थीले आफैं रोबोट तथा प्रविधिमा आधारित परियोजना निर्माण गरेर प्रदर्शन गर्नु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै यस्ता अभ्यासले भविष्यका दक्ष प्रविधिविज्ञ तथा आविष्कारक उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा रोबो सकर, रोबो रेस, लाइन फलोअर रोबोट, सोल्डरिङ, सर्किट निर्माण र प्रोजेक्ट डेमोन्स्ट्रेसनलगायत आठ विधामा प्रतिस्पर्धा भएको थियो। सर्किट निर्माण तथा प्रोजेक्ट डेमोन्स्ट्रेसन विधालाई सिनियर र जुनियर समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगिताका क्रममा विद्यार्थीहरूले आफैं निर्माण गरेका विभिन्न प्रकारका रोबोट, विद्युतीय सर्किट तथा प्रविधिमा आधारित परियोजनाहरू प्रदर्शन गरेका थिए। विशेषगरी प्रोजेक्ट डेमोन्स्ट्रेसन विधाअन्तर्गत सिनियर र जुनियर समूहका विद्यार्थीले गरी २५ वटा परियोजना प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले आफ्नै सोच, ज्ञान र सीपको प्रयोग गरी तयार पारेका परियोजनाले उनीहरूको सिर्जनशीलता, प्राविधिक दक्षता र समस्या समाधान गर्ने क्षमतालाई उजागर गरेको थियो।
रोबोटलाई विभिन्न कार्यमा प्रयोग गर्ने तरिका, निर्धारित मार्गमा सञ्चालन गर्ने प्रविधि, रोबोटबीच प्रतिस्पर्धा गराउने अभ्यास तथा विद्युतीय सर्किट निर्माणजस्ता गतिविधिले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो। प्रतियोगितामा विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमार्फत हासिल गरेको सीपसमेत प्रस्तुत गरेका थिए। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ६६ जना विद्यार्थी विजेता बनेका थिए।
प्रतियोगितामा एन्जल्स प्याराडाइज स्कुल, ल्यान्डमार्क एकेडेमी, निर्वाणा एकेडेमी, बेस्ट एकेडेमी, युनाइटेड स्कलर्स एकेडेमी, भीएस स्कुल, राइजिङ स्टार बोर्डिङ स्कुल, राइजिङ स्टार सेकेन्डरी स्कुल, कश्यप एकेडेमी, ज्योति एकेडेमी, पञ्चरत्न बालबाटिका माध्यमिक विद्यालय, क्यापिटल सिटी एकेडेमी, पवन प्रकृति अंग्रेजी माध्यमिक विद्यालय, पुष्पसदन माध्यमिक बोर्डिङ स्कुल, गोरखकाली अंग्रेजी बोर्डिङ स्कुल, रोजबड स्कुल, सुदेशा स्कुल, होली भिजन स्कुल, जुगल नव गुरुकुल र सिग्मा माध्यमिक विद्यालय सहभागी भएका थिए।
विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा ल्याएर उनीहरूबीच ज्ञान, सीप, अनुभव र सिर्जनशीलताको आदानप्रदान गराउने अवसरका रूपमा प्रतियोगिता आयोजना गरिएको हो। यस्ता कार्यक्रमले विद्यार्थीमा विज्ञान तथा प्रविधिप्रतिको रुचि बढाउनुका साथै भविष्यमा नवप्रवर्तन, अनुसन्धान र आविष्कारका क्षेत्रमा अघि बढ्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।


