-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला ,काभ्रे
आचार्य चण्डेश्वर नेपालका लागि कौतुल्य समतुल्य अर्थशास्त्री हुन् । उनलाई नेपालका एक विशिष्ट प्रतिभा, विद्वान र संविधान निर्माणका आधार सूत्रकारको रुपमा मानिएका छन्। उनको बुबाको नाम वीरेश्वर थियो भन्ने बाजेको नाम देवादित्य थियो । चौधौँ शताब्दीतिर सिमरौगढ गर्नुमा जन्मिएको मानिएको छ । नेपाली माटोमा नै रहेर आचार्य चण्डेश्वरले राजनीतिरत्नाकर ग्रन्थ रचना गर्नु भएको थियो। एउटा चाख लाग्दो कुरा यो छकी नेपालको मल्लकालीन राज्य प्रणाली आचार्य चण्डेश्वरका सिद्धान्तहरूमा आधारित रहेर संचालन गरेका थिए भनेर इतिहासकारहरुले उल्लेख गरेका छन्।आचार्य चण्डेश्वर राजा हरिसिंहदेवको दरबारका मन्त्री थिए । हरिसिंहदेव कर्णाटवंशी थिए र उनको राजधानी सिमरौनगढमा थियो । भनिन्छ राजा हरिसिंहदेवले २८ वर्षसम्म राज्य सञ्चालन गरेका थिए ।मध्यकालीन समयमा सिमरौनगढ राज्य एउटा सभ्य र उन्नत राज्य थियो । यो राज्यको उन्नति हुनुको मुख्य कारण आचार्य चण्डेश्वर र उहाँले रचना गर्नु भएको राजनीतिरत्नाकर ग्रन्थलाई श्रय जान्छ।
स्वायम आचार्य चण्डेश्वरले आफुलाई आफ्नो परिचय कविता मार्फत यसरी दिएका छन्।
मन्वादिस्मृतिराजनीतिलधेरादाय संक्षेपतो
नानानीतिनिबन्धसम्मतं चित्वा चिराय श्रमात् ।
श्रचिण्डेश्वरमन्त्रिणा विरचितो रत्नाकरो भूभुजा
भाव्योअसौ भुविभूतये भष्वता मान्यो वदान्योदयात् ।
(मनु आदिका स्मृतिग्रन्थमा प्रतिपादित राजनीतिरुप समुद्रबाट सार खिचेर,अनेक नीतिनिबन्ध अनुकूल विभिन्न मतहरूलाई चिरकालसम्म परिश्रमपूर्वक छानेर श्रीचण्डेश्वर मन्त्रीद्वारा रचिएको यो राजनीति रत्नाकर राजाहरुद्वारा आदर गरिन्छ तथा उदार पुरुषहरूको उन्नति गर्ने हुनाले सम्मानित भएर पृथ्वीमा ऐशवर्य वृद्धि गर्छ ।)
वास्तबमा आचार्य चण्डेश्वरले रचनागर्नु भएको अर्थशास्त्र ठुलो नभएतापनि त्यतिखेरको परिवेशमा निकै महत्वपूर्ण र कोशेढुंगा साबित भएको थियो। यिनै ग्रन्थको सहायताले पछिसम्म मल्ल राजाहरुले शासन गरेकोले मल्लकाल सम्बृद्ध र उन्नत भएको देखिन्छ। यो ग्रन्थ कौटिल्यको अर्थशास्त्र ,शुक्रनिती , मनुस्मृति र नाराद्स्मृतिमा रहेका बिषय बस्तुसंग मिल्दो जल्दो रहेतापनि नेपालको माटोमा रचना गरेको मौलिक कृति हो। यस भित्र सोह्र अध्यायहरु रहेका छन्। राज्य व्यवस्था , अमात्य , पुरोहितादी ,न्यायाधिश ,सभासद , दुर्ग व्यवस्था ,राजकीय निर्णय ,राजकीय कोष , सेना , सेनापति , राजदूत , राजकृत्य , दण्ड , राज्यदान , अविभाज्य धन , राज्यभिषक अध्यायहरु रहेका छन्। यस ग्रन्थमा रचनाकारले सोह्र विद्वानहरु (अमरसिंह ,कात्यायन , कामन्दक , कुल्लुक भट्ट , कौटिल्य , नारद , मनु , याज्ञवल्क्य , लक्ष्मीधर , वशिष्ठ , बिष्णु , बृहस्पति , ब्यास , शुक्र , श्रीकर र हारित ) र तीनवटा धार्मिक ग्रन्थहरु भागवत , रामायण ,र महाभारतको उल्लेख गरेकाछन्।
छिमेकी राष्ट्र भारतका प्रख्यात योग गुरु के वी स्वामी आइयंगरले आचार्य चण्डेश्वरलाइ आदर पुर्वक उहाँको बिभिन्न पुस्तकहरुमा तथा प्रवचनहरुमा बारम्बार ऊल्लेख गरेका छन्। नेपालको विशिष्ट गौरब शाली बिध्वान व्यक्तित्व , अर्थशास्त्री , राजनीतिशास्त्री , संबिधान निर्माणका आधार सुत्रधार आचार्य चण्डेश्वरलाई कहिल्यै पनि भुल्नु हुदैन। उहाँका कृतिलाई बिशेष प्राथामिकतामा राखेर आफ्नो तर्फबाट तथा राष्ट्रको तर्फबाट गहन अध्ययन अनुसन्धान गरि सत्य , तथ्य आम मानिसहरुमा शिक्षित तुल्याउनु आजको आवश्यकता र महत्व हो ।राजनीतिरत्नाकर ग्रन्थलाई अनुबाद गर्नुका साथै बिश्वबिद्यालयका पाठ्य पुस्तकमा समाबेश गर्नु पर्ने देखिन्छ। समयमा नै पहिचान गरि राष्ट्रले सम्मान गर्नु पर्ने टड्कारो देखिन्छ ।
टाेखालाइभ डट कम/ असार २६, काठमाडौं
www.tokhalive.com

