• Sanu Raj Dangol

    • १७ जेष्ठ २०७८, सोमबार १७:११

    कोभिड १९ को आफ्नै परिवारको अनुभव:-

    – पवनलाल श्रेष्ठ –

    लावण्य/साँखु । केही दिन अघि मेरो कान्छो भाई मगनलाल श्रेष्ठलाई कोरोना देखियो भन्ने फोन आयो पोखराबाट भाई बुहारी कृसुको ।

    भाई बुहारी डराउँदै रुँदै फोन गर्दै थिइन् । त्यत्तिखेर म समरा गार्डेनमा नगरको कोरोना सम्बन्धी कार्यक्रममै थिएँ । बाहिर आएर फोन उठाएको थिएँ । फोन उठाएको ठाउँमा पनि मित्र ओम कार्की भाई हुनुहुन्थ्यो । फोनमा कुरा गर्नासाथ उहाँले पनि आफ्नो अनुभव सुनाउनु भयो र नडराईकन बस्ने र खानेकुरा के के खाने नखाने भन्न थाल्नुभो । यसले मलाई केही राहत मिल्यौ । मैले भने डराउनु आवश्यक छैन । जहाँ रहु सुरक्षित रहने हो भने । तर मन मानेन । तत्काल कार्यक्रम छाडेर घर आएँ र घरमा पुगेपछि पुनः भाई बुहारीलाई कल गरेँ । मैले भिडियो कल पनि गरेर ढाडस दिएँ । भाईको स्थिति अलि गाह्रो भएको जस्तो देखियो । मेरो मुमासँग पनि कुरा गराएँ तर कुनै फरक पाईन ।

    यो रोग लाग्दैमा मर्ने हैन । तर यति भन्दा भन्दै पनि बिरामी भाई र रेखदेख गर्ने भाई बुहारीको मन आत्तिएको पाएँ ।

    भोलिपल्ट शुक्रवार बज्रयोगिनी जात्राको क्रममा बिचापूजा गर्ने दिन । सो दिन म बज्रयोगिनी मन्दिरमा गंगा दिदी र सपना दिदीसँग गएको थिएँ ।

    पूजा सकेर रामशरण दाईको पसलमा बसेर समयबजी खाँदै थिएँ । पुनः भाई बुहारीको फोन आयो दाई आउनुपर्ने भो हस्पिटल भर्ना गर्ने अहिले केही समयपछि लैजाने भनिन् ।

    तत्कालै पोखरा जानको लागि तयारी गरी म र मेरो माईलो भाई गगन श्रेष्ठ पनि सोह्ी दिन बिहान ११ बजे साँखुबाट पोखरा गएँ ।

    उता भाईलाई विभिन्न अस्पतालमा भर्ना गर्नको लागि बेड मिलाउने जोहो गरियो । पछि करीब १२ बजेतिर गण्डकी अस्पताल भर्ना गरिएको खबर आयो । हामी त्यत्तिखेर थानकोट पुगिसकेका थियौँ ।

    बीचबीचमा एक्कैछिन आराम गर्दै पोखरा जाँदै थियौँ । बीचमा पानी पर्न थाल्यो । कहिँ चिया खाजा खान पाईन्छ कि भन्ने कोशिस ग¥यौँ । दूई तीन ठाउँमा सोध्दा पनि चिया दिन इच्छुक भएनन् । बरु हामी आफैले चाउचाउ र रियो जुस लगेका थियौँ । त्यही खाँदै र बाटोमा पानी बोटल दईवटा किनेर लग्यौँ ।

    पानी अलि बाक्लै पर्न थालेको थियो । दमौली पुग्न करीब ७ किलोमिटर बाँकी थियो । एक ठाउँमा अलि सुनसान भएको र स साना दुईवटा पसल देखेँ । संयोगले एउटा सानो होटल पनि रहेछ । साहुनीलाई सोधेँ खाजा के पाईन्छ । उनले तरकारी र अण्डा अनि समोसा भएको सुनाईन् । म जहाँ पायो त्यहाँ समोसा खाँदिन । किनकी करीब १५ वर्ष अगाडि विराटनगरमा बासी समोसा परेर आउँ लागेर सास्ती भएपछि ताजा बाहेक समोसा खाँदिन । उनीसँग अण्डा तरकारी र चिया मागेर खाईवरी सकेपछि पानी पनि रह्यो र हामी पुनः पोखरातिर हिँड्यौँ ।

    पोखरा करिब ५ बजे पुगेँ । त्यहाँ पुगेपछि सबैभन्दा पहिले मैले भाईलाई वार्डमै गएर भेटेँ । त्यहाँ कोभिड वार्डमा १ जना विरामीको लागि १ जना कुरुवा सँगै बस्न पाउने व्यवस्था रहेछ । त्यहाँ सबैभन्दा पहिले भाईको साथी मित्र सर भेटेँ । उहाँलाई सोधेँ भित्र कोभिड वार्डमा जान हुन्छ कि हुन्न ! उहाँले भन्नुभो यहाँ त जता गए नि हुन्छ तर आफ्नै रिस्कमा ।

    आफ्नो सुरक्षाको व्यवस्था भने आफैले मिलाउनु पर्दो रहेछ भन्ने जानकारी पाइयो । आफू पनि कोभिड को बिरामी भेट्न जाने भएकोले फेस शिल्ड र मास्क समेत लगाएर गएको थिएँ । ज्याकेटको सट्टा बर्षाडी लगाएर गएको थिएँ । कोभिड वार्डमा जाँदा सुरुमा त कस्तो कस्तो लाग्यो । पछि सामान्य भयो ।

    भाईलाई अस्पतालमा करीब ४ घण््टा त्यत्तिकै आराम गर्न दिईएको थियो प्रण पोजिसनमा । हामी त्यहाँ पुगेपछि मात्रै सिस्टरले अक्सिजन दिएको थियो । त्यसअघि अक्सिजन चेक गर्दा ८९ थियो । जबकी घरबाट ल्याउँदा ८२ मात्रै थियो । राति करीब ९ बजेतिर अक्सिजन निकालेरै सुते भाई ।

    मैले पनि साँझको खाना त्यहीँ खाएँ र त्यहीँ भएका अरु कुरुवासँग कुरा गर्न थालेँ । यहाँ त झनै डरलाग्दो छ कि के हो ? उनीहरुले भने तपाइँ आजै आउनुभएकोले त्यस्तो भएको हो । एक दुई दिन बसेपछि ठिक हुन्छ । तर मलाई एक्कै दिनमा त्यहाँको स्थिति देखेर डर हराईसकेको थियो । राति पनि बुटवलको एकजना बिरामीलाई साह्रै गाह्रो भईरहेको थियो । उनको अक्सिजन लेभल ६६ मात्रै थियो । तर उनको भाग्यले हो वा अर्को बिरामीको दूर्भाग्यले आईसियुमा एक जना बिरामीको देहाबसान भयो र बुटवलको त्यो बिरामी करीब ४० वर्र्षे केटालाई आईसियुमा लगेर हाई फ्लो अक्सिजन दिन थालियो ।

    बिरामीका कुरुवाहरु त्यो रात सुत्नै सकेनन् । उनीहरुको हल्लाका कारण कतिपय अन्य कुरुवाहरु पनि सुत्न सकेनन् म पनि करीब १÷१ घण्टा सुत्दै उठ्दै गर्न थालेँ । बिरामीको कुरुवाहरुमध्ये एकजना राजस्व विभागको अधिकृत रहेछन् उनले आफुले चिने जानेका सबैसँग कुरा गरे डाक्टरहरुसँग पनि कुरा गरे र काठमाडौँ अथवा अन्य हस्पिटलमा सार्न खोजे तर उनले चिनेका एक जना डाक्टरले कुनै पनि हालतमा बिरामीलाई नसार्नु हाई फ्लो अक्सिजन दिएका बिरामीलाई जत्ति नै गाह्रो भएपनि सार्न नहुने र भगवानको भरोसा गर्ने भनेपछि उनीहरु अडिए । भोलिपल्ट बिहानै मैले बिरामीको भाईसँग सोधेँ कस्तो छ बिरामीलाई उनले भने राति त ५६ सम्म झरिसकेको अक्सिजन लेभल अहिले ६५ छ र हाई फ्लो अक्सिजन दिएकोले होला अहिले बिरामीलाई सजिलो भएको छ ।

    भोलिपल्ट बिहान मुख धुँदा अलि कति खोक्नु पर्दा गाह्रो भएकोले भाईलाई करीब आधा घण्टा अक्सिजन दिएँ । त्यो दिन मलाई अलिकति पनि डर भएन डर हट्यो । दिउँसो करीब दुई बजेतिर डिस्चार्ज गराएर भाईको घर पुगेँ । अर्थात् त्यहाँ भाईले दिउँसो १२ बजे गएर भोलिपल्ट दिउँसो २ बजेपछि डिस्चार्ज भएर आयौँ ।

    घरमा पुग्दा पुनः अक्सिजन लेभल कम भएको पाएँ । एम्बुलेन्समा जाँदाको घर्याक घुरुकले पनि तुरुन्तै अक्सिजन लेभल घट्दो रहेछ । एक छिन आराम गर्न दियौँ प्र्रण पोजिसनमा बसाल्यौँ । करीब १५ मिनेटपछि अक्सिजनको लेभल बढ्यो ८९ पुग्यो । अक्सिजन नजिकै भएकोले हामी ढुक्क थियौँ । त्यसपछि भाईलाई कोठामा राखेर हामी तल ओर्लियौँ ।

    हामी खानपीन गर्यौँ भाईलाई पनि खुवायौँ । भतिजीलाई पनि खुवायौँ । खानपीन सकिएपछि पुनः अक्सिजन लेभल चेक गर्दा ९२ पायौँ ।

    भोलिपल्ट बिहान मुख धुन जाँदा खकार आउन अलि गाह्रो भएको र खोक्नु पर्दा अलि गाह्रो महसुस भएकोले करीब ५ देखि १० मिनेटको लागि अक्सिजन दियौँ । त्यसपछि भाईलाई आराम भयो । हामी उक्त दिन त्यहीँ बस्यौँ भाई बुहारीको आग्रहमा ।्

    त्यहाँ भाई त कोभिड पोजिटिभ थिए नै भतिजी भूमिका लाई पनि सोही लक्षण देखिएकोले उनी पनि भाईसँगै बसेकी थिईन् भने भतिजी शैली र श्लोकलाई पनि केही लक्षण देखिएको थियो । उनीहरुलाई पनि खोकीको औषधी, जिन्क चक्की, भिटामिन सी लगायतका औषधीहरु चलाइएको रहेछ । श्लोकलाई त खासै त्यस्तो केही थिएन तर शैलीले भने स्वाद थाहा पाईराखेको थिएन । तर खाना भने खाईरहेकै थियो । मैले सबैकोलागि दाख र काजु किनेर लगेको थिएँ । उनीहरुलाई खुवाएँ । भनिजी भूमिकालाई अलि गाह्रो भईरहेको थियो । उनी टोलाईरहेकी थिइन् । उनीलाई चिसो लागेको जस्तो लागेर उनको ओछ्यान बाक्लो बनाईदिएँ र उनीलाई पनि आराम गर्न दिएँ ।

    दिउँसो १२ बजेतिर बाहिर गएर अस्पतालको क्लिनिकमा पुगेर रेस्पिरो मिटर किन्यौँ र भाईलाई दियौँ । साँझ हामी शहीद पार्क पुग्यौँ एक छिन बस्यौँ । फोटो लियौँ त्यसपछि फर्कियौँ ।

    बेलुकी खानपानपछि सुत्यौँ । भोलिपल्ट सोमबार बिहान ५ बजे उठ्यौँ । हामी पोखराबाट फर्किने तयारी थाल्यौँ । करीब साढे ६ बजे हामी त्यहाँबाट हिँड्यौँ ।

    जाँदा जत्ति सजिलो थियो फर्किँदा भने ठाउँ ठाउँमा सोधपुछ भयो । मुख्य नाका नागढुंगामा भाईको डिस्चार्ज भएको कार्डको फोटो देखाएपछि मात्रै सुरक्षाकर्मीले छाड्यो ।

    हामी घर आईपुगेपछि पुनः ५ दिन होम क्वारेन्टाईनमा बस्यौँ । त्यसपछि नियमित काममा लागेका छौँ ।

    यहाँबाट पोखरा पुग्दा कोभिडको जुन त्रास बोकेर गएका थियौँ । त्यहाँ १ दिन मात्रै हस्पिटलमा बस्दा पनि मलाई कोभिडको त्रास घट्यो ।

    त्यहाँको उपचारको तरीका र विरामी कुरुवाले गर्ने व्यवहार हेर्दा सुरुमा डर लागेपनि पछि भने अभ्यस्त भयो । र त्यो तरिका ठीक लाग्यो ।

    हामी घरमै पनि परिवारसँग छुट्टिने गरिराखेको मान्छे सिधै बिरामीसँग टचमा आउनुपर्दा केही डर मनमा हुँदो रहेछ । तर अस्पताल बसाईको क्रममा त्यो डर हट्यो ।

    अब बिरामीको सेवा गर्नु प¥यो भने गर्न सकिने रहेछ भन्ने आत्मबल मिल्यो । यही नै यस पटक मलाई कोभिड १९ ले सिकायो । हुनतः म कुरै कुरामा साथिहरुलाई भन्थेँ । मलाई नै भएपनि अथवा परिवारमा कसैलाई भएपनि म परिवारसँगै बसेर उपचारमा संलग्न हुन्छु । तर पनि त्यत्तिबेला यत्ति धेरै आत्मबल मिलेको थिएन अहिले मिल्यो ।

    मुख्य कुरा आत्मबल रहेछ । बिरामीलाई पनि आत्मबल मिल्नु जरुरी रहेछ । औषधी मूलो त त्यसपछिको कुरो पो रहेछ ।

    अस्ति जेष्ठ ८ गते भाईको कोभिड १९ नेगेटिभ रिपोर्ट आयो भने भूमिकाको ३०.६ मात्रै आयो जुन अलि कम थियो । त्यस्तो पोजिसनलाई संक्रमित नभनिएतापनि केयर गर्नुपर्ने रहेछ । तर उनको रोग अरुलाई भने नसर्ने रहेछ । यत्ति कुरा थाहा पाएपछि मन हलुका भएको छ । अहिले भाई बुहारीको सबै परिवारका ५ चै जना सञ्चो भएका छन् । भाईको सासुपनि राम्रै छन् भन्ने खबर पाएँ । साह्रै खुशी लाग्यो ।

    उनीहरुलाई चाहिँ हाम्रो चिन्ता लागेको रहेछ । दाजुहरुलाई कस्तो छ भनेर सोध्दै थिएँ । हामी ठीक छौँ । परिवार पनि ठीक छन् । र हामी ५ दिन जत्ति होम क्वारेन्टाईनमा बस्यौँ भनेपछि उनीहरु पनि खुशी भए । अहिले भाईको परिवारका ५ जनालाई नै राम्रो छ । जय बज्रयोगिनी । जय शंखरापुर ।

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै