भाषा मानिसको भावनाको अभिव्यक्ति र संवादको माध्यम हो । मानिसको शारीरिक र भौतिक विकास सँगसँगै भाषाको पनि विकास हुँदै गयो । यसमा श्रमको ठूलो भूमिका थियो । पशुबाट मानिसको विकाससम्ममा लाखौँ वर्ष लाग्यो । त्यस अवधिका सबभन्दा ठूलो उपलब्धिमध्ये एउटा भाषा पनि हो । मेहनत र अनुभवले मानव समाजलाई पशुपन्छीभन्दा माथि उठायो । त्यसैकारण मानिसलाई प्राणीहरूकै मुकुट भनिएको हो ।
हरेक जात–जातिको ठूलो परिश्रम, अभिव्यक्तिको उत्सुकता र अनुभवले विकास गरेका संसारका सबै भाषाहरू मानव सभ्यताकै सम्पत्ति हुन् । भाषाले नै साहित्य, कला, संस्कृति र संसारका आश्चर्यजनक भौतिक उपलब्धिहरूमा अत्यन्त ठूलो भूमिका खेल्यो । भाषाकै कारण गीत–सङ्गीत र अभिव्यक्तिले मानिसलाई रुवाउँछ, हसाउँछ र करुणा जगाउँछ । भाषाबाटै द्वेष, रिस–राग र शत्रुता जगाउँछ, भाषाले नै मित्रता र शान्ति प्राप्तिमा भूमिका खेल्छ । संसारका वेद, पुराण, महाकाव्य, दर्शन, विज्ञान र प्रविधि पनि भाषाकै कारण लेखिन सम्भव भयो । भाषाकै कारण मानिस ब्रह्माण्डमा पुग्यो ।
यस्तो सर्वपक्षीय प्रगति र उपलब्धिको स्मारक र स्रोतहरूलाई जोगाउनु सबै सचेत र संवेदनशील देश र समाजकै भविष्यप्रतिको जागरुकता हो । मानिसले बा¥हखरी र एकदेखि सयसम्मको सङ्ख्या बिर्सेमा मानव समुदायले बाटो बिराएजस्तै हुन्छ । यसकारण, हरेक भाषाको उत्पत्ति र विकासलाई प्राणीको उत्पत्ति र विकास मानिनुपर्छ । आज विज्ञान र प्रविधिबाट मानव समाजले नयाँ–नयाँ आविष्कार र चमत्कारहरूको निम्ति ज्ञान हासिल गरेजस्तै भाषाबाटै मानव जातिका विभिन्न पक्षका जानकारीहरूबाट समाजले नयाँ सेवा प्राप्त गर्नेछ । पशुपन्छीहरूको हाडखोरहरूबाट डार्विनले जीव विकासको मेसो पाएजस्तै भाषाहरूकै अध्ययनले मानव समाजका विभिन्न जात–जाति र भाषा–भाषीहरूले सभ्यतामा थप योगदान पत्ता लगाउनेछन् ।
भाषालाई जोगाउनुको अर्थ मानव सभ्यताको हिजोको ज्ञान र भोलिको प्रगतिको बाटो पहिल्याउनु हो । हरेक देश र समाज विभिन्न जात–जाति र भाषा–भाषीहरूमा विभाजित छन् । धर्म र वर्गमा पनि राज्यहरू विभाजित छन् । शासक वर्ग सत्ताको मातले अन्धो भएर अन्य जात–जाति र भाषा–भाषीहरूलाई दबाएर अन्य आक्रान्त जातिहरूलाई समाप्त पार्न पहिले तिनीहरूको भाषालाई निमिट्यान्न पार्न खोज्छ । तर, त्यस अत्याचारले आफ्नै बगैँचामा फुलेका सबै फूलहरूलाई मासेर आफूलाई मनपर्ने फूलको बोट–बिरुवालाई मात्रै स्याहार्नुजस्तै हो भन्ने व्यापक र गम्भीर नहुने शासक वर्ग र व्यवस्था इतिहासमा अन्ततः पराजित भएका छन् ।
आ–आफ्नो अस्तित्वको निम्ति विभिन्न देशमा राज्यको अत्याचारको विरोधमा विभिन्न जात–जाति र भाषा–भाषीहरूले सङ्घर्ष गर्दै छन् भने केही देशमा भाषाको निम्ति सङ्घर्ष गर्दै छन् । नत्र, तिनीहरूको अलग सांस्कृतिक पहिचान र त्यसले भविष्यमा मानव जातिलाई दिने प्रत्यक्ष र अप्रत्यक्ष योगदानबाट वञ्चित हुनेछ ।
समय र परिस्थितिअनुसार आ–आफ्नो वर्गीय र राजनैतिक उद्देश्यको निम्ति आन्दोलन भएजस्तै भाषा र साहित्यको जगेर्ना र विकासलाई पनि राजनीतिक आन्दोलनसँग जोडिन्छ, किनभने हरेक व्यक्ति जुनसुकै भाषा–भाषी भए पनि मानिस एक राजनैतिक प्राणी हो, ऊ राजनीतिबाट भाग्न सक्दैन ।
के नेपालमा ‘नेपाली भाषा’ बोल्ने जनताले मात्रै संसदीय र स्थानीय निर्वाचनमा मतदानमा भाग लिन्छन् ? के अन्य जात–जाति र भाषा–भाषीले मतदानमा भाग लिँदैनन् ? अँध्यारोको निम्ति प्रकाशको आवश्यकता भएजस्तै भाषा र साहित्यको निम्ति पनि राजनैतिक आन्दोलनसँग एकाकार हुनु आवश्यक छ । बेलायती साम्राज्यवाद र उपनिवेशवादविरोधी बङ्गाली जनताले भाषाको साथसाथै राजनैतिक सङ्घर्ष नगरेका भए बङ्गाली भाषा र साहित्यको विकासको निम्ति थप समय लाग्ने थियो ।
भाषा र संस्कृति एउटै सिक्काका दुई पाटा हुन् । भाषा अभिव्यक्तिको माध्यम हो भने संस्कृति त्यसको मूर्त रूप हो । सांस्कृतिक गतिविधि नभई भाषामा सम्बन्धित ‘शब्द’ हुँदैन । रीतिरिवाज र नाचगान नभई त्यससँग सम्बन्धित ‘शब्द’ र साहित्य पनि लेखिन्न । नेवार समुदायमा गरिने ‘इहि याय्गु’ अर्थात् ‘बेल विवाह’ अन्य जातिमा छैन । समाजमा एक जाति र भाषा–भाषीको रीतिरिवाज र भाषा अर्को जाति र भाषा–भाषीमा रूपान्तरण पनि हुने गर्छ ।
नेवारी भाषाका वास्तुकलाका शब्दहरू नेपाली भाषामा प्रयोग भएका छन् भने नेवारहरूलाई रीतिरिवाजले नै चिनाउँछ । जुम्लाका नेवारहरूले नेवारी भाषा बिर्सिसके । जुम्ला खलङ्गा मूलबजारको पश्चिमका नेवारहरू इन्द्रजात्रा मान्छन् र पूर्वतिरका नेवारहरू ‘भोटो देखाउने’ जात्रा मान्छन् । यसरी तिनीहरू काठमाडौँ र ललितपुरबाट गएका हुन् भनी चिनिए । त्यस्तै बिस्केट वा वैशाखमा लिङ्गो ढाल्ने र घिन्ताङघिसी (गाईजात्रा) दैलेखका नेवारहरूले मान्दारहेछन्, तिनीहरूले आफूलाई भक्तपुरे सम्झन्छन् ।
त्यस्तै पूर्वका कति जिल्लाका नेवारहरू ‘श्रेष्ठ’ र ‘प्रधान’ आदि लेख्छन् तर नेवारी भाषा बोल्दैनन् । कसरी नेवार भनी चिन्ने प्रश्नको उत्तरमा उनीहरू भन्छन्, हामी ‘बाह्रा तयेगु’ वा ‘गुफा’ राख्छौँ । यसरी संस्कृतिको पनि जाति वा भाषा–भाषीको पहिचान हुन्छ । थप अनुसन्धानहरूले धेरै कुरा खुल्दै जानेछन् ।
फ्रान्सेलीहरू आफ्नो भाषामा थोरै सचेत हुनुको कारण सांस्कृतिक आक्रमण मान्छन् । फ्रान्सेली क्रान्तिभन्दा पहिले फ्रान्समा बेलायती भाषा, साहित्य र संस्कृतिको प्रभावसँगसँगै बेलायतले फ्रान्समाथि आक्रमण ग¥यो । जर्मनीको सांस्कृतिक प्रभावले विस्मार्कले ‘पेरिस कम्युन’ को बेला फ्रान्समाथि आक्रमण गरे ।
धर्म पनि बलियो सांस्कृतिक पक्ष भएको हुनाले क्याथोलिक र प्रोटेस्टेन्ट धर्म मान्ने, हिन्दु र मुसलमान, सुन्नी र सिया आदि धार्मिक, सांस्कृतिक कारण अनेक देशमा र एउटै देशमा पनि युद्ध र गृहयृद्ध भएको इतिहास छ ।
नेपाली साहित्य र प्रचारमाध्यममा अनुवादभन्दा विदेशी ‘शब्द’ र ‘भाषा’ लाई आँखा चिम्लेर प्रचार गर्नाले पछि जटिल समस्या देशले भोग्नुपर्ने प्रस्ट छ । यसका धेरै उदाहरणहरू छन् ।
राजा–महाराजाको बेलाको साहित्यमा राजा–महाराजाहरूकै गुणगान हुन्छ । रामायण र महाभारत पनि राजा–महाराजाहरूकै दुःख–सुख र पराक्रमका बखानहरू हुन्, तल्लो जात र गरिबहरू भनी हेला गरिएका कथा र उपकथाहरू छन् ।
वर्तमान समाजमा शोषक र शासकहरूको विरोधमा जनतालाई उत्साहित गर्नु आवश्यक छ । पुरानो र मक्किसकेको व्यवस्थाले कामदार जनतालाई हेलाहोचो हुन्छ । समाजविरोधी वर्ग र व्यक्ति अनि त्यस्ता बन्दोबस्तलाई छ्यास्नु र उदाङ्ग्याउनैपर्छ । राम्रा देश एवम् कामदार जनताका पक्षमा लड्ने वीरहरूको प्रशंसा गर्ने र कमजोरीहरूलाई सच्याउनुपर्छ । नयाँ व्यवस्था (समाजवाद र साम्यवाद) को प्रचार–प्रचार कलात्मक ढङ्गले गर्नु आवश्यक छ । निराशावादी होइन, भविष्यमा आशावादी भावना जगाउने साहित्यको रचना गर्नु आवश्यक छ।- source /onlinemajadur.com

