• TOKHA LIVE

    • २८ माघ २०७७, बुधबार १०:५०

    ईन्जिनियर राज दास श्रेष्ठको जीवनी : उहाँकै कलमबाट

    माघ २८ २०७७,
    – ई. राजदास श्रेष्ठ
    नमस्कार ! शंखरापुर नगरपालिका वडा नं. ७ बाट म राजदास श्रेष्ठ ।
    २००९ साल बैशाख २० गते मेरो आधिकारिक जन्म मिति भएपनि खास म जन्मेको थिएँ २००६ साल श्रावण महिनाको घण्टाकर्ण दिवसमा । जन्मस्थल मेरो शंखरापुर, सक्व (साँखु) धुँलाटोल ।
    ७–८ वर्ष हुँदा म साँखु स्थित भाग्योदय स्कुलमा पढ्न जान्थैँ । १–२ क्लासमा र १० वर्ष हुँदा ३ क्लासमा फेल भएपनि मैले स्कुल जान छोडेँ लाजले गर्दा ।
    त्यसबेला गोकर्ण तिरबाट पण्डित खुरनाथ साँखुमा प्राथमिक पाठशालामा पढाउनु हुन्थ्यो, संस्कृत विद्या ।
    म पनि त्यहि पाठशालामा पढ्न गएँ र ४–५ वर्ष संस्कृतको अध्ययन गरेँ ।
    लघुसिद्धान्त कौमुदीको साथसाथै हितोपदेश, अमरकोष र महाकवि कालिदासको रघुवंश महाकाव्य पूरा पढ्न सकाएँ १५ वर्षको उमेरमा ।
    मैले त्यसपछि वेद पढ्न ईच्छा प्रकट गर्दा “नेवारको बच्चा” ले वेद पढ्न हुँदैन भनेर पण्डित बाजेले भन्नुभएकोले मैले संस्कृत पढ्न छाडेर काठमाडौँ गएर पद्मोदय हाईस्कुलमा भर्ना हुन खोजेँ ।
    संस्कृत बाहेक अन्य विषयहरु जस्तै भूगोल, इतिहासि, गणित, सामाजिक शिक्षा केही नजानेको हुनाले भर्ना लिईएन ।
    तब मैले एकजना पद्मोदयकै संस्थापक अध्यापक मोहन प्रसाद मास्केको घरमा बसी २ क्लास देखि ७–८ क्लास सम्मका सबै पाठ्य पुस्तकहरु अध्ययन गरेँ एक वर्ष सम्म र अनि अर्को साल ७ क्लासमा भर्ना हुन गएँ । संस्कृत पढ्दा घोक्ने बानी भएकोले मैले पाठ्य पुस्तकहरु घोकेरै सकाएँ र स्कुल भर्ना भएपछि ७, ८, ९, १० क्लासमा पढ्न मलाई धेरै सजिलो भयो र जहिले नि मैले क्लास परिक्षामा प्रथम स्थान ल्याएर थुप्रै पुस्तक कापी कलम पुरस्कार प्राप्त गरेँ ।
    पद्मोदय स्कुलबाटै मैले २०२२ सालमा एसएलसी परीक्षामा उत्तिर्ण गरेँ र ७२ हजार परिक्षार्थीहरुमध्ये चौथो प्रथम स्थान हासिल गरेँ । र एसएलसीमा बोर्डमा आएका १० जना विद्यार्थीहरुलाई “महेन्द्र रत्न पुरस्कार” दिने चलन थियो र मैले पनि दुई वर्ष सम्म आईएसी पढ्न प्रति महिना उक्त छात्रवृत्ति बाट एक सय रुपैयाँ पुरस्कार पाएँ ।
    तीन वर्ष सम्म काठमाडौँ लैनचौर स्थित अमृत साईन्स कलेजमा अध्ययन गरेर सन् १९६९ अगष्ट महिनामा म उच्च शिक्षा अध्ययन गर्न तत्कालीन सोभियत संघ गएँ । श्री ५ को सरकारको छात्रवृत्ति पाएर ।
    ६ वर्ष (एक वर्ष रुसी भाषा सहित) अध्ययन गरी सोभियत संघमा मैले केमिकल इञ्जिनियरिङ्ग डिग्री हासिल गर्नुको साथै सोभियत नागरिक भालेन्टिना श्रेष्ठ सँग सन् १९७१ मा विवाह गरी मैले दुई छोराहरु अलेक्जेन्डर श्रेष्ठ र देनिस श्रेष्ठ पनि उपहार स्वरुप पाएँ सोभियत संघबाट ।
    सन् १९७६ मा नेपाल फर्केर खानी तथा भूगर्भ विभागमा एक अनुसन्धान अधिकृतको रुपमा काम गरेर देशका विभिन्न ठाउँको भ्रमण गरी चुन ढुंगाको विषयमा अध्ययन अनुसन्धान गरेँ ।
    हाल नेपालको पूर्वीभाग उदयपुरमा सञ्चालित उदयपुर सिमेन्ट कारखाना त्यो मेरो अनुसन्धानको एक नतिजा हो र धादिङ्ग जिल्लाको चुन उद्योग पनि मेरै मिहेनतको फल हो भन्नमा केहि अत्युक्ति नहोला ।
    खानी विभाग पछि मैले त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा “व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा निर्माण सामग्री उत्पादन क्षेत्रमा सिमेन्टजन्य पदार्थ र चून तथा रंगरोगनको सम्भाव्यताबाट अनुसन्धान कार्य गर्दै गर्दा तत्कालिन राजा वीरेन्द्रको सवारी भएको थियो । मेरो कार्य कक्षमा र झण्डै आधा घण्टा सरकारसँग कुरा हुँदा मैले नेपालमा चुन र सिमेन्ट उत्पादनको वृहत सम्भाव्यता भएको कुरा जाहेर गरेको थिएँ ।
    राजाले भ्रमणपछि मैले वैज्ञानिक अनुसन्धानको बारेमा धेरै चर्चा परिचर्चा हुनुको साथै शिक्षा मन्त्रालयबाट मलाई “शिक्षा पुरस्कार” पनि प्राप्त भयो र सन् १९८३ मा म संयुक्त राष्ट्र संघको भोलेन्टियर(स्वयंसेवक) भई दक्षिण अफ्रिकाको बोत्स्वानामा काम गर्न गएँ ।
    त्यहाँ मैले ईट्टा, चुना, रंगरोगन, स्लेट ढुंगा, खरि ढुंगा, सिमेन्ट विकल्प जस्तो निर्माण सामग्रीहरु उत्पादन गर्ने थुप्रै घरेलु उद्योगहरु स्थापना गरी दिए वापत दुई वर्ष पछि स्वयंसेवक बाट चीफ इञ्जिनियर (यू एन टेक्निकल एड्भाईजर) मा पदोन्नति भएँ र प्रति महिना ५ सय डलरबाट ५ हजार डलरको जागीर दिईयो पूरा यूएन डिप्लोम्याटिक सुविधा सहित ।
    तर दूर्भाग्यवश सन् १९८५ मा एक सवारी दूर्घटनामा परी मेरी श्रीमती भालेन्टिना श्रेष्ठको त्यहिँ मृत्यु भयो र ३–४ महिना म दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा उपचारमा रहेँ अर्ध चेतन अवस्थामा ।
    हस्पिटलको उपचार पछि म स्वदेश फर्केर एक वर्ष बित्न नपाउँदै मलाई फेरि अफ्रिका बोलाईयो राष्ट्र संघ अन्तर्गत काम गर्न । बोत्स्वाना लगायत मोजाम्बिकमा पनि केही समय म राष्ट्रसंघकै प्रतिनिधिको रुपमा काम गर्न गएँ । ४–५ वर्ष पछि अफ्रिकामा काम गरेर जम्मा भएको एक डेढ करोड रुपैयाँ मैले नेपाल फर्केर रंगिन चून र सिमेन्ट पेन्ट उद्योगमा लगानी गरेँ । काठमाडौँको कोटेश्वर, थानकोट, चितवन, धादिङ्ग जिल्लाको जोगीमारामा चुन उद्योग स्थापना गरी सन् १९९० देखि १९९५ सम्म उद्योग मेरो धेरै फस्टायो । तर आर्थिक गतिविधि सम्हाल्न नसकेर मलाई सोही उद्योगबाट धेरै नोक्सानी हुन पुग्यो र सन् २००० मा आएर मेरो उद्योग धरासायी भयो । त्यसपछि आफ्नो गुमेको धन सम्पत्ति जोर्न र ३–४ करोडको नोक्सानी व्यहोर्न पैसा कमाउन म अमेरिका भास्सिएँ ।
    सन् २००० देखि २००५ सम्म अमेरिकामा बस्दा मैले पैसा कमाउनुको सत्ता दुई महिना अमेरिकी जेलमा बसेर आउनु प¥यो ओभर स्टेइङ्गको आरोपमा र सन् २००५ देखि अहिलेसम्म म आफु जन्मेको स्थान आफ्नै गाउँ घर साँखुमा बस्दै आएको छु । सानो तिनो कृषि र पशुपालन व्यवसाय गरी ।
    सन् १९९० मा नेपाल फर्केपछि मेरो निर्मला श्रेष्ठसँग दोस्रो विवाह भएको थियो । उहाँ त्रिविवि किर्तिपुरमा पुस्तकालय विभागमा कार्यरत हुनुहुन्थ्यो र सह–प्राध्यापक भई पुस्तकालय विभागको डाईरेक्टर हुनुहुन्थ्यो ।
    तर दूर्भाग्यवस क्यान्सर रोगबाट पीडित भई उहाँको पनि ३ वर्ष अगाडि दुःखान्त निधन भयो । त्यसकारण म अहिले नितान्त एक्लो जीवन यापन गर्दैछु । आफ्नै खेतवारी र पशुपन्छी सम्हालेर ।
    दुई छोराहरु अलेक्जेन्डर श्रेष्ठ र देनिस श्रेष्ठ सोभियत रुसमा पढ्न गएका उहिँ रहेतापनि बरोबर आउँछन् नेपाल मलाई भेट्न । आफु जन्मेको ठाउँ उनीहरुलाई प्यारो लाग्नु स्वाभाविक हो र म जन्मेको सक्व देश मलाई माया लाग्नु पनि स्वाभाविक नै हो । यसैलाई भनिन्छ देश भक्ति ।

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै