टाेखा लाइभ / पुस १३ , काठमाडौं
टोखाको महत्व चाकुको कारणले मात्र उच्च रहेको भन्ने होइन। टाेखा आफैमा पनि विभिन्न सांस्कृतिक पर्वहरूले भरिएको काठमाडौंको उत्तरी ढाेका पनि हो।काठमाडौंको नजिक पर्ने टाेखा २ हजार वर्ष भन्दा पहिले देखिनै अस्तित्वमा भएको हो भन्ने कुरा यहाँ प्राप्त पुराना अभिलेख वास्तु- मूर्ति प्रस्तर आदी कलाका भौतिक अवस्थित आदिकालिक प्रतिबिम्बका रुपमा देखिने नाग प्याखँ,माक : प्याख : प्याखँ , या: प्याखँ लगायत नृत्य र यस क्षेत्रका सम्बन्धमा प्रकाश पार्ने विभिन्न ग्रन्थहरूबाट पर्याप्त प्रमाण पाइन्छ ।
नेवारीमा उखान छ। टाेखाया चाकु , मचाबुल हाकु,’ चाकु फेकेगु ‘ अर्थात चाकुको स्वाद दिने ।रोइरहेको बच्चालाई चाकु दिएर फकाइन्छ। जस्लाइ कालान्तरमा चाकुमरी समेत भनियो।नेवारले मनाउने हरेक चाडपर्व मध्ये यस्ता पनि छन् , जसको नामको खानेकुराबाट राखिएका छन् ।जस्तै योमरी पुन्ही, क्वांटी पुन्ही, हलिमली पुन्ही, घ्य , चाकु सल्हु, आदि । माघ १ गतेको तुसारे जाडोमा खाइने घ्य,चाकु सल्हु , घ्यु र चाकु दुई प्रकारको जोडिएर बनाएको नाम हो।

चाकु नाम लिने बित्तिकै त्योसँगै चाकु बनाउने प्रसिद्ध स्थल राजधानीको टाेखा जाेडिएर आउँछ । सामान्य ज्ञानमा खोकनाको तेल, पाल्पाली ढाका टाेपी, भक्तपुरको जुजु धौ भने जस्तै चाकु भन्ने बित्तिकै टाेखा चाकुको नामका कारण देशभरी प्रसिद्ध छ।

टाेखामा चाकु किन बन्छ त ? यसको पछाडि भने टाेखाकाे भौगोलिक स्थितिले पनि केहिहद सम्म साथ दिएको पाइन्छ ,किन भने चाकु बनाउन चाहिने प्रमुख कच्चा पदार्थ उखु हो।उखु पहिले टाेखामा खेती नै हुन्थ्यो । उखुलाई पेलेर रस निकालिन्छ। त्यो रसलाई पकाएर चाकु बनाउने हो।

तर उखु मुलतः गर्मी ठाँउमा खेती गरिने बाली भएपनी चिसो काठमाडौंको उपत्यकामा पनि उखु खेती हुने एक मात्र ठाँउ भनेको टाेखा नै हो।विगतमा प्रशस्त मात्रमा उखु खेती हुने ‘ तुख्य:’ अर्थात ‘तु’ भन्नाले उखु र’ ख्य:’भन्नाले बारी प्रशस्त रहेकै कारण ‘ तुख्य:’को अपभ्रंशबाटै टोखा नामांकरण भएको हो।विशेषगरी दशैँ–तिहारपछि जाडो सिजनबाट सुरु हुने यो व्यवसायमा महिलाको सहभागिता बढेको व्यवसायीहरू बताउँछन् । अन्य स्थानका परम्परागत नेवार बस्तीमा चाकु बनाए पनि टोखाको चाकु चर्चित छ । चाकु व्यवसायीले सादा चाकु, मसला चाकु, खुवा चाकु, स्पेसल चाकु, तिलको कालो र सेतो लड्डु बनाउँछन् ।

नेपाली परम्परागत संस्कृतिसँग अभिन्न रुपमा जोडिएको चाकु प्रकृतिसीत पनि अन्योन्याश्रित रूपमा जोडिएको छ। जाडो याममा शरीरलाई टाप र शक्ति प्राप्त गर्न आफू खाने र अरुलाई पनि खुवाउने संस्कार र संस्कृति रहँदै आएको चाकु सुत्केरी महिलालाई विशेष रुपमा खुवाउने गरिएकाले पनि शक्तिवर्द्धक खाद्यको रुपमा प्रयोग गर्ने गरिएको इतिहास प्रमाणित छ । किंवदन्ती अनुसार काठमाडौंका नेवारहरु तुसारे चिसोसंग लड्न चाकु खान्थे। त्यसैले वर्षको एकदिनमात्र भएपनि चाकु खानैपर्छ भनेर नेवारहरुले घ्यचाकु सल्हु पर्व बनाएका हुन् ।
हाल टाेखा टाेखा नगरपालिकाका वडा २ र ३ का स्थानीयका १३ घरपरिवारले परम्परागत चाकु उत्पादन व्यवसायमा संलग्न भएका छन् । टोखाका स्थानीयले पहिले चाकु बनाएर पातमै पोको पारेर बेच्ने गर्दथे।
स्थानीय काशीलाल श्रेष्ठका अनुसार त्यसबेला चाकु अहिलेजस्तो विदेशसम्म पठाउने चलन थिएन । टोखादेखि नजिक नुवाकोट, साँखु, भक्तपुर, असन बजार, ज्याथा, कमलाछीतिर बेचिन्थ्यो । नजिकका बजारमा जाँदा खर्पनमा र अलि टाढा जाँदा डोकोमा समेत बोकेर जान्थ्यौँ, प्लास्टिकको चलन त करिब ३५ वर्ष जत्ति मात्र भएको उहाँको भनाइ छ ।

टाेखामा पुर्खौली पेसाका रूपमा अँगाल्दै आएका हाम्रा दर्जनौं परिवारले यसको उत्पादन बिक्री वितरण प्रवर्द्धन साथै निर्यात पनि गर्दै आएका छौं। टाेखाका’ दे थकाली ‘ अर्थात सबैभन्दा जेष्ठ नागरिकले चाकु उत्पादन र बिक्रीवितरण गर्दै नेपाली जिब्रोमा चाकुको स्वाद भरेर शताब्दी जीवन पुरा गरेका १ सय ५ वर्षीय तुल्सीनारायण श्रेष्ठको संस्मरण अनुसार टाेखामा उत्पादन हुने’ डल्ले चाकु’ पात, खर्पन र डोकोमा राखेर शहरबजार देखि गाउँ गाउँ पुग्दथ्यो । यसलाई हामीले अहिलेको अवस्थामा विभिन्न आकार प्रकार र विशेषता सहित उत्पादन गरेर विश्वब बजारमा विश्वसनिय बनाएर फैलाउन एउटै ‘ब्रान्ड ‘ निर्धारण गरेर टोखाका चाकु उत्पादकहरू यहाँको मौलिक प्रसिद्ध परिकार चाकुको गुणस्तरमा एकरूपता ल्याउन र यस व्यवसायलाई फैलाउन टोखा परम्परागत चाकु संरक्षण समाज मार्फत सङ्गठित भएर समितिले चाकुलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन समितिले चाकु निर्यातका लागि अङ्ग्रेजीमा टोखा ट्रेडिसनल चाकु कन्जर्भेसन सोसाइटी र नेपालीमा (टाेखा परम्परागत चाकु संरक्षण समाज ) नाम ब्रान्ड निर्धारण गरेकोे समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताउनुभयो ।

हाल टाेखाको चाकु नेपाल मात्रै नभएर अब बिदेशी मिठो खुराक समेत भएको बताउदै हिजो बाबुबराजुले गर्दै आइरहेको यो परम्परा हामीले विभिन्न आरोह अवरोहका बिच टाेखा चिनाउन हामी सफल भएका छौं र हामीले गर्दै आइरहेको परम्परालाई नाफामुखी ब्यापारीको रूपमा मात्रै नहेरी यो एउटा समग्र टाेखा मात्र नभएर समग्र नेपालकै एउटा चाकु सम्पदा बोकेको जिवन्त इतिहास भएकोले यसलाइ अझै संरक्षण गर्दै लैजान अबका दिनमा टाेखा नगरपालिकाले स्थानीय सम्पदा बस्तु स्थिति संरक्षण प्रबर्द्धन गर्दै लैजाने उदेश्य अनुरुप टाेखाको एउटा धरोहर चाकुलाई जोगाउन टाेखा नगरपालिकाले टाेखा परम्परागत चाकु संरक्षण समाजसंग समन्वय गरि अगाडि बढ्नुको विकल्प नभएको टाेखा परम्परागत चाकु संरक्षण समाजका महासचिव रामराज श्रेष्ठले जोड दिनुभयो।
चाकु उत्पादक बुद्ध श्रेष्ठका अनुसार पछिल्लो समय मसलादार र स्पेसल चाकुको माग बढेको छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ । विशेष चाकुमा नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ । मसला मिसाइएका विशेष चाकुको मूल्य अन्यभन्दा महँगो हुने बताउदै व्यवसायी श्रेष्ठका अनुसार ठूलो तामाको भाँडामा सक्खर–पानीलाई १२० देखि १३० डिग्री सेल्सियस तापक्रममा उमाल्ने र बाक्लो भएपछि त्यसलाई केही बेर चिसो बनाउन अर्को भाँडोमा खन्याउने गरिन्छ । त्यसपछि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर चाकुको सुनौलो पहेँलो रङ तानेर निकालिन्छ। पकाएको सख्खर ज्यादै तातो हुने भएकाले चाकु बनाउन निपूर्ण कालीगढले मात्र खम्बामा तान्ने काम गर्न सक्छन् ।हाल सुनौलो कलर निकाल्न मेसिनको प्रयोगले चाकु कालिगडहरुलाइ पनि पहिलाको तुलनामा केहिहद सम्म सजिलो भएको टाेखा परम्परागत चाकु संरक्षण समाजका उपााध्यक्ष बुद्ध श्रेष्ठलेे बताए ।
अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया, डेनमार्क, क्यानडालगायत नेपाली पुगेका सबै मुलुकमा चाकु र त्यससँग सम्बन्धित परिकार निर्यात हुने श्रेष्ठले जानकारी दिनुभयो । चाकुका परिकार लामो समयसम्म राखेर खान सकिने, पोषिलो, बालबालिका, सुत्केरीदेखि ज्येष्ठ नागरिकले समेत खान मिल्ने भएकाले यसको माग अधिक बढ्ने गरेको श्रेष्ठको भनाइ छ।
चाकु वर्तमानमा एक अन्तर्राष्ट्रिय मौलिक गुलियो मिठाईको पर्यावाची नाम बनिसकेको छ ।यसका विभिन्न परिकार र प्रकारको प्रचार प्रसार र निर्यात संसारभरि छरिएर रहेका नेपाली परिवारले गरिरहेका छन् ।
हरेक धार्मिक पर्व पुजापाठहरुमा चाकु नभै नहुने भएकोले चाकु पवित्र यो परिकारको परम्परागत विशेषतामा जन्म तथा मृत्युसंस्कारमा चाकुलाई अनिवार्य तथा पवित्र वस्तुका रुपमा उपयोग गरिदै आएको छ । त्यसैगरी’ य:मरी ‘अर्थात ‘ य’ को अर्थ मनपर्ने र मरी को अर्थ रोटी भन्ने हुन्छ। यो परिकार बनाउँदा चाकुको प्रयोग अनिवार्य रहन्छ। हिजोआज आएर य: मरि बनाउँदा खुवा र चाकु, तिल र चाकु , चाकु त नरिवल आदि मिश्रित विधिबाट पनि परिकार बनाउने गरिएको छ ।
टाेखाको चौथो पुस्ताका चाकु उत्पादकहरुले तिहारलगत्तै जाडोयाम संगसंगै चाकु उत्पादनमा व्यस्त हुने गर्दछन् । मङ्सिर र पुसमा चाकु उत्पादक परिवारका लागि व्यस्ततापूर्वक दुई महिना लगातार चाकु उत्पादक परिवारका कोहिपनि घरभन्दा टाढा जाने गर्दैनन् । माघ १ गते मकरसंक्रांति ( घ्य: चाकु सल्हु) आउनु केही दिनअघि नै बजारमा चाकु पर्याप्त मात्रामा पुर्याइ सक्नुपर्ने अपरिहार्य र निर्विकल्प कर्तव्य ठान्दै चाकु उत्पादन व्यवसायीहरु कारखानामा यो समयमा दिनरात खटिरहन्छन्।

हाल टाेखाका चाकु उत्पादकहरुले संगठित र सुब्यबस्थित रुपमा उत्पादनस्थल, उत्पादन प्रविधि, गुणस्तर र उत्पादन परिमाणलाई पनि विकसित गरि नेपाल सरकार मातहरूको खाद्य तथा गुणस्तर विभाग साथै अन्य सम्बन्धित निकायहरुसंग निर्देशनअनुसार कच्चापदार्थ देखि उत्पादन स्थल निकायहरुसितको साथ समन्वय र निर्देशन अनुरुप कच्चापदार्थ देखि उत्पादनस्थल, उत्पादित वस्तु र मूल्य समेत निर्धारण गरेर बिक्रीवितरण सुव्यबस्थित गर्ने र मौलिक सांस्कृतिक खाद्यपदार्थ चाकुको विश्वशनीय उचो तुल्याएर विश्व जनमानसमा स्थापित बनाउँदै लाने कार्यमा हामी सदा समर्पित रहने छौं। यस कार्यमा नेपाल सरकार र मातहतका सम्पूर्ण निकायका साथै अन्तराष्ट्रिय जनमानसको सहयोगको हामी सधैं अपेक्षा गर्नेछौं ।” – टाेखा परम्परागत चाकु संरक्षण समाजले बताए।
फाेटाे :- टाेखा परम्परागत चाकु संरक्षण समाज

