काठमाडौं वैशाख २५ । टोखा नगरपालिकाले नगरभित्रका प्रमुख सडक, चोक तथा संवेदनशील क्षेत्रमा सीसी क्यामरा जडान कार्यलाई तीव्र रूपमा अघि बढाउने भएको छ ।
नगरप्रमुखको कार्यकक्षमा शुक्रबार सम्पन्न अनौपचारिक बैठकले नगरको सुरक्षा, ट्राफिक व्यवस्थापन तथा नागरिकको सहज आवतजावतलाई थप व्यवस्थित बनाउन विभिन्न स्थानमा सीसी क्यामरा जडान गर्ने कार्ययोजना तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
बैठकमा सामाखुसी चोकदेखि टोखा रोड, सिटी स्क्वायर, खरिबोट, मैजुहिटी धारा, ग्रीनल्यान्ड चोक, मिलन समाज, भाटभटेनी, शुभहोम, शेर्पा पेट्रोलपम्प, छ नम्बर गेट, साईबाबा चोक हुँदै झोरसम्मका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । साथै महाकाल–बौडेश्वरदेखि जगत बसपार्कसम्म निगरानी प्रणाली विस्तार गरिने जनाइएको छ ।
त्यसैगरी गोङबु चोक, गणेश मन्दिर, मनमैजु चोक, मनोहरा तीर्थघाट, जलपा चोक हुँदै पञ्चेटरसम्मका क्षेत्रमा पनि सीसी क्यामरा जडान गरिनेछ ।
बसुन्धरा चोक, साउथ वेस्टर्न क्षेत्र, दाहालगौडा, ईशान अस्पताल आसपास तथा नगरका अन्य सम्भावित संवेदनशील स्थानहरूमा समेत निगरानी प्रणाली विस्तार गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार आधुनिक प्रविधिमार्फत नगरको सुरक्षा प्रणालीलाई बलियो बनाउँदै नागरिकलाई सुरक्षित र व्यवस्थित वातावरण दिने उद्देश्यका साथ यो अभियान अघि बढाइएको हो ।

