Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
काठमाडौँ, बैशाख २६ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँको ऐतिहासिक पहिचान र रञ्जना लिपिको संरक्षण नै महानगरको वास्तविक सांस्कृतिक पुनस्र्थापना भएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं. २३ (झोँछे क्षेत्र) मा सुरु गरिएको ‘रञ्जना लिपिसहितको परिचय पाटी’ जडान कार्यको स्थलगत निरीक्षण गर्दै उहाँले मौलिकताको संरक्षणले नै सहरको सौन्दर्य र पर्यटनलाई मजबुत बनाउने उल्लेख गर्नुभयो ।
वडा नं. २३ ले वडाभित्रका व्यवसायको परिचय पाटीलाई रञ्जना लिपिमा अनिवार्य गरी सहरको मौलिक स्वरूप फर्काउने अभियान थालेको हो । सोही अभियानअन्तर्गत व्यवसाय दर्ता गरेका र नियमित कर तिर्ने ५० जना करदातालाई पहिलो चरणमा उपहार स्वरूप रञ्जना लिपिसहितको ‘लाइटिङ बोर्ड’ प्रदान गरिएको छ ।
निरीक्षणका क्रममा कार्यवाहक प्रमुख डङ्गोलले झोँछे जस्तो ऐतिहासिक र पर्यटकीय क्षेत्रमा लिपि र कलाको पुनस्र्थापना हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो केवल बोर्ड फेर्ने काम मात्र होइन, यो हाम्रो हराउँदै गएको लिपिको पुनःस्थापना र नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने अभियान हो । यसले काठमाडौँको सांस्कृतिक गरिमालाई विश्व माझ अझ उकास्नेछ ।”
करदातालाई प्रोत्साहन र मौलिकताको मिलन
वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनका अनुसार यो कार्यक्रम लिपिको संरक्षणसँगै करदातालाई प्रोत्साहन गर्ने एउटा नयाँ मोडेल हो । “हामीले नियमित कर तिर्ने व्यवसायीलाई सम्मान स्वरूप यो मौलिक बोर्ड उपहार दिएका हौँ,” महर्जनले भन्नुभयो, “यसले व्यवसायको परिचय पाटीमा एकरूपता ल्याएको छ भने झोँछे क्षेत्रको दृश्यात्मक सुन्दरतालाई पनि बढाएको छ ।”
यो अभियानको पहिलो चरणमा जुद्ध शालिकदेखि वसन्तपुर र नौतले दरबारदेखि झोँछे हुँदै ओमवहालसम्मका व्यवसायी समेटिएका छन् । गोलाकार डिजाइनमा तयार पारिएको बोर्डको बिच भागमा रञ्जना लिपिलाई प्राथमिकता दिइएको छ भने माथि र तल अंग्रेजी र देवनागरिक लिपिको प्रयोग गरिएको छ । यस डिजाइनमा क्यालीजात्रा फाउन्डेसनले प्राविधिक सहयोग र झोँछे सामुदायिक समाजले समन्वय गरिरहेको छ ।
पर्यटन र सम्पदामा टेवा
स्थानीय सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले वडाको यो कदमले झोँछेको पुरानो पहिचानलाई पुनः जीवित गराएको बताउनुभयो । उहाँले काठमाडौँको भित्री सहरलाई चिनाउन यस्ता साना तर प्रभावकारी कामले पर्यटन व्यवस्थापनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वडाभित्र करिब ७ सय व्यवसायी रहेकोमा आगामी दिनमा दर्ता र नियमित कर तिर्ने सबैलाई चरणबद्ध रूपमा यस्तै मौलिक परिचय पाटी उपलब्ध गराउने वडाको योजना छ । कार्यवाहक प्रमुख डङ्गोलको यस सक्रियताले काठमाडौँका अन्य वडाहरूमा पनि आफ्नो मौलिक पहिचान जोगाउने अभियानका लागि प्रेरणा मिलेको छ ।


