टोखा , काठमाडौं १४ बैशाख ।
टोखा नगरपालिकाले लामो समयसम्म इमानदारी,कर्तव्यनिष्ठ, निष्ठावान र समर्पणका साथ सेवा पुर्याउनुभएका आफ्ना दुई कर्मचारीलाई सम्मानसहित बिदाइ गरेको छ।
वरिष्ठ लेखा अधिकृत तारा प्रसाद निरौला र कार्यालय सहयोगी बुद्धिनारायण डंगोललाई विशेष कार्यक्रमबीच सम्मान–पत्र प्रदान गर्दै बिदाइ गरिएको हो। फरक–फरक जिम्मेवारीमा रहेर काम गरे पनि दुवै जनाले नगरको सेवा प्रवाह र संस्थागत विकासमा गहिरो छाप छोडेका छन्।
वि.सं. २०४४ सालदेखि प्रशासन सेवामा सक्रिय रहनुभएका निरौलाले करिब तीन दशकको यात्रामा आन्तरिक लेखापरीक्षण र आर्थिक प्रशासनलाई पारदर्शी र व्यवस्थित बनाउँदै उल्लेखनीय योगदान दिनुभयो। त्यस्तै, साविक टोखा चण्डेश्वरी गाविसबाट सेवा सुरु गर्नुभएका बुद्धिनारायण डंगोलले ३१ वर्षभन्दा बढी समय सरलता, अनुशासन र कर्तव्यनिष्ठाका साथ सेवा प्रवाहलाई सहज बनाउने काममा आफूलाई समर्पित गर्नुभयो।“हाल उहाँ टोखा नगरपालिका–२ का कार्यालय सहयोगी कर्मचारीसमेत हुनुहुन्छ।
नगरपालिकाले दुवै कर्मचारीको समर्पण र योगदानप्रति उच्च कदर गर्दै सम्मान व्यक्त गरेको हो। कार्यक्रममा उनीहरूको सेवाभाव, कर्मठता र विनम्रता सधैंका लागि प्रेरणाको स्रोत रहने उल्लेख गरियो।
कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले संस्थाको बलियो आधार इमानदार जनशक्ति भएको उल्लेख गर्दै निरौला र डंगोलले देखाएको निष्ठा, पारदर्शिता र सेवाभावलाई सबैका लागि उदाहरणीय रहेको बताउनुभयो। “उहाँहरूले छोड्नुभएको काम गर्ने शैली र मूल्यहरू हामी सबैका लागि मार्गदर्शन हुन्,” उहाँले भन्नुभयो।
उपप्रमुख मुरारी तामाङले दीर्घकालीन सेवामा अनुशासन र इमानदारी कायम राख्नु चुनौतीपूर्ण भए पनि दुवै कर्मचारीले त्यसलाई व्यवहारमा उतारेको बताउनुभयो। उहाँका अनुसार निरौलाको जिम्मेवारीपूर्ण नेतृत्व र डंगोलको सरल तर कर्मठ सेवाले नगरपालिकाको कामलाई प्रभावकारी बनाएको थियो। “आज उहाँहरूलाई सम्मानसहित बिदाइ गर्न पाउँदा गर्वसँगै भावुकता पनि महसुस भएको छ,” उहाँले भन्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले पनि दुवै कर्मचारीले आफ्नो काममार्फत संस्थामा स्थायी छाप छोडेको उल्लेख गर्नुभयो। उहाँले निरौलाले आर्थिक अनुशासन र पारदर्शितामा देखाएको दृढता तथा डंगोलले सानो जिम्मेवारीलाई पनि ठूलो ठानेर निभाएको इमानदारीलाई विशेष रूपमा प्रशंसा गर्नुभयो।
सेवा निवृत्तिपछि सुरु हुने नयाँ जीवन यात्राका लागि दुवैजनाको स्वास्थ्य, सुख र उज्ज्वल भविष्यको कामना गर्दै नगरपालिकाले हार्दिक शुभेच्छा व्यक्त गरेको छ।
टाेखाका योजना तथा अनुगमन शाखाका अधिकृत मधुसूदन मिश्रले संचालन गर्नुभएको बिदाइ कार्यक्रममा स्वास्थ्य शाखा , शिक्षा शाखा , कृषि ,प्रशासन प्रमुख लगायत टाेखा का ११ वटै वडाका अध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु,नगरपालिकाका कर्मचारी , नगर प्रहरीको उपस्थिति रहेको थियो ।

