काठमाडौं २०८३ वैशाख २६ । टोखा नगरपालिका वडा नं. ३ को आयोजनामा महिलाहरूलाई सीप र स्वरोजगारसँग जोड्ने उद्देश्यसहित दुई महिने ब्युटिसियन तथा पार्लर सम्बन्धी तालिम सुरु गरिएको छ । तालिमको प्राविधिक तथा व्यवस्थापकीय सहकार्य “आइ टेक प्राविधिक तथा व्यावसायिक तालिम प्रा.लि.” ले गरिरहेको छ भने सहकार्य संस्थाका रूपमा “आर एल ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, टोखा” रहेको छ ।
स्थानीय तहको पहलमा सञ्चालन गरिएको उक्त तालिमले विशेषगरी आर्थिक रूपमा आत्मनिर्भर बन्न चाहने महिला तथा युवतीहरूलाई व्यवहारिक सीप प्रदान गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा टाेखा वडा ३ का अध्यक्ष रमेश डंगोलले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालन गरिएको ब्युटिसियन तथा पार्लर सम्बन्धी सीपमूलक तालिमले महिलाहरूलाई रोजगारी र स्वरोजगारतर्फ अग्रसर गराउने विश्वास व्यक्त गरे ।उनले सीपसँगै आत्मविश्वास पनि विकास हुने भएकाले यस्ता तालिम समुदायका लागि प्रभावकारी बन्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा टाेखा वडा ३ कि महिला सदस्य शान्ता राईले महिलाहरूलाई घरको सीमाभित्र मात्र सीमित नराखी सीप, क्षमता र आत्मनिर्भरतासँग जोड्न यस्ता तालिम महत्वपूर्ण हुने बताइन् । उनले सिकेको सीपलाई व्यवहारमा उतारेर महिलाहरूले आफ्नै पहिचान र आम्दानीको स्रोत निर्माण गर्न सक्ने धारणा राखिन् । कार्यक्रममा टाेखा ३ कि महिला सदस्य देविमाया नेपाली, आइ टेक प्राविधिक तथा व्यावसायिक तालिम प्रा.लिकी प्रमुख प्रशिक्षक ललिता जोशी लगायत २० जना भन्दा बढी महिला प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

