काठमाडौं ,वैशाख २५। हर्क साम्पाङ ले सुदन किराँती पक्षसँग भएको राजनीतिक एकता छोटो समयका लागि मात्रै नभएको स्पष्ट पारेका छन् ।
शुक्रबार आयोजित राजनीतिक एकता तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै साम्पाङले सुदन किराँतीसहितको टोलीलाई स्वागत गर्दै अब आपसी विश्वास, समर्थन र सहकार्यका साथ अघि बढ्ने बताएका हुन् ।
हर्क साम्पाङले धेरै नागरिकले आफूहरू एक ठाउँमा उभिएर देशका लागि काम गरेको हेर्न चाहेको उल्लेख गर्दै यो एकता सकारात्मक सन्देश भएको बताए ।
साम्पाङले भने,
“सुदन किराँतीज्यू र उहाँको समूहसँग एकता भएको छ । हामी हर्षित छौं । मिल्नु राम्रो, छुट्नु नराम्रो हो । धेरै मानिसहरूले हामी मिलेर अगाडि बढोस् भन्ने चाहना राख्नुभएको थियो ।”
उनले यो एकता केही समयका लागि मात्रै हो भन्ने आशंका नगर्न पनि आग्रह गरे ।
साम्पाङले स्पष्ट पारे,
“कतिपयलाई दुई–तीन दिनका लागि हो कि, केही महिनापछि फेरि छुटिन्छ कि भन्ने लागेको होला । उहाँ माक्र्सवाद र माओवाद पढेर आउनुभएको, यता फेरि ‘हर्कवाद’ के हो भन्ने प्रश्न पनि होला । तर ठूलो कुरा विचारको लेबल होइन, देशका लागि सँगै सोच्ने र जिम्मेवारी बोक्ने हो । देशको भारी सँगै बोक्ने हो ।”
‘हर्कवाद’ अवधारणाबारे पनि साम्पाङले आफ्नो दृष्टिकोण प्रष्ट पारेका छन् ।
उनका अनुसार,
“प्रकृति, संस्कृति र प्रविधि बिना जीवन पूर्ण हुँदैन । त्यसैले प्रकृति जोगाउने, संस्कृति संरक्षण गर्ने र प्रविधिको विकाससँगै समाजलाई अघि बढाउने सोच नै हर्कवाद हो ।”