टाेखा काठमाडौं बैशाख २६/टोखा नगरपालिका–३, ससुख्य क्षेत्रमा आज बिहान करिब १० बजे अचानक आगलागी हुँदा केही समय त्रासको वातावरण बनेको छ। स्थानीय सुर्यमाया डंगोलको बल्चा (गोठघर) मा लागेको आगोले छिनभरमै वरपरको क्षेत्रलाई चिन्तित बनाएको थियो।
गोठभित्र परालसँगै गाईवस्तु समेत रहेको अवस्थामा आगो फैलिन थालेपछि स्थानीयवासीहरू तुरुन्तै घटनास्थलमा जुटे। उनीहरूको समयमै देखिएको सक्रियता र साहसका कारण गाईवस्तुलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको छ, जसले ठूलो क्षति हुनबाट जोगाएको छ।
आगलागी नियन्त्रणका क्रममा स्थानीय युवाहरूले नजिकैको इनारको पानी प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए। त्यसपछि करिब १०:२० बजे टोखा नगरपालिकाको दमकल घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको हो।
आगलागीबाट गोठघर र भित्र रहेका केही सामग्रीमा क्षति पुगेको छ। यद्यपि, मानवीय र पशु क्षति हुन नपाएकोमा स्थानीयले राहतको सास फेरेका छन्।
आगलागीको वास्तविक कारणबारे भने थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

