टाेखा लाइभ / पुष ८ , २०७७
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताएका छन् । उनले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिएका छन्। वर्तमान राजनीतिक घटनाक्रमका बारेमा कुरा गर्दै उनेल भने, ‘प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ।
संविधानले परिकल्पना गरेको मान्यता र संविधानभित्रै रहेर प्रधानमन्त्रीले कदम चालेको जिकिर गर्दै पूर्वसांसद बिजुक्छेले संविधानभित्रका केही कमजोरीलाई संशोधन गरेर जानुपर्ने आवश्यकता भने ओंल्याए ।
पार्टी फुटे अर्को बन्ला, देश फुटे के गर्ने ? यतिखेर ओलीले देश फुट्नबाट जोगाउनुभएको छ, तर यो सङ्कट अझै टरेको छैन, आगामी दिनमा अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ अब जनता सजग हुनु जरुरी छ ।’
प्रधानमन्त्री ओलीले ‘कु’ गरे भन्नु गलत भएको टिप्पणी गर्दै नेता बिजुक्छेले राज्य विद्रोह, सैनिक विद्रोह गराएर सत्ता कब्जा गर्ने खेललाई मात्रै ‘कु’ भन्न मिल्ने तर्क राखे । उनले भने, ‘प्रधानमन्त्रीले ‘कु’ गर्नुभएको होइन, बरु ‘कु’ असफल चाहिँ पार्नुभएको हो ।’गुमेको नेपाली भूमि नक्शामा समावेश गरी भूमि फर्काउने अडान ओलीले कायम राखेकाले पनि अहिलेको परिस्थिति आएको तर्क उनले दिए । उनले नयाँ जनादेशका लागि चुनावमा जानाको विकल्प नभएको जनाउँदै सरकारले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउनुपर्नेमा जोड दिए ।
दुई तिहाइ बहुमत नजीकको सरकारका राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आफ्नै नेताहरु नै लाग्नु बाह्य चलखेल भएको जिकिर गर्दै उहाँले यसमा प्रधानमन्त्री ओली निकै सचेत भएको र अझै सचेत हुनु जरुरी रहेको बताए। बयासी वर्षीय नेता बिजुक्छेले भने, ‘देशमाथि आएको यस्तो सङ्कटमा पनि यो कदम नचालेको भए इतिहासले ओलीलाई लाछी प्रधानमन्त्री भन्थ्यो, उहाँले देशलाई विभाजन हुनबाट जोगाउन यो कदम चाल्नुभएको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बताए।

