• TOKHA LIVE

    • २० आश्विन २०८२, सोमबार १९:४३

    माओवादी बैठकमा दाहालको ‘ब्रिफिङ’: चुनावमा जाने विषयमा आमसहमति

    काठमाडौँ, २० असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पूर्वी नेपालमा हालैका प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकहरूको उचित व्यवस्थापन र पुनर्निर्माणमा सरकार र सम्पूर्ण पक्षलाई एकजुट हुन आह्वान गरेको छ।

    पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले विपद्पछिको पुनर्निर्माण कार्यमा सक्रिय भूमिका खेलिरहेका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा पछिल्लो राजनीतिक परिस्थितिसम्बन्धी सामान्य कुराकानी पनि भएको र आगामी दुई दिनपछि बस्ने सचिवालय बैठकमा यसबारे विस्तृत छलफल गरिनेछ।

    बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता, समाजवादी मोर्चा र संयुक्त मोर्चा विस्तारलगायत विषयमा भइरहेको प्रगतिबारे विस्तृत ब्रिफिङ गर्नुभयो। उहाँले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलहरूसँग निरन्तर संवाद भइरहेको जानकारी गराउनुभयो।

    प्रवक्ता सापकोटाका अनुसार संयोजक दाहालले “चुनावमा सहभागिता विषयमा सबै दलभित्र सकारात्मक छलफल भइरहेको छ। अन्य दलहरूको पनि बैठकहरू हुँदैछन्, र चुनावमा जाने विषयमा आमसहमति जस्तै बन्ने दिशामा प्रक्रिया अघि बढेको छ,” भन्नुभयो। उहाँका अनुसार माओवादी केन्द्रले निर्वाचनलाई उच्च प्राथमिकतामा राखेको छ, किनभने “निर्वाचन सम्पन्न गरेर मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र हालसम्मका राजनीतिक उपलब्धिलाई जोगाउन सकिन्छ।”

    बैठकले महाधिवेशनको कार्यविधि निर्माण, आयोजक समितिको संरचना निर्धारण तथा विचार, संगठन र राजनीतिक कार्यदिशासम्बन्धी प्रारम्भिक रूपरेखा तय गर्ने विषयमा पनि सामान्य छलफल गरेको प्रवक्ता सापकोटाले बताउनुभयो।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै