- ज्ञानराम श्रेष्ठ
राष्ट्रिय विभूति शंखधर साख्वाःप्रतिष्ठान
अध्यक्ष
नेपाल सरकारले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता प्रदान गर्ने क्रममा अब सरकारी दस्तावेजहरूमा पनि यसको औपचारिक प्रयोग गर्ने आधिकारिक निर्णय गरिसकेको छ । यस अवस्थामा अब नेपाल सम्वत्को प्रयोग कुन स्तरमा पुग्यो भने यसले राष्ट्रिय मान्यता पाएको ठहर हुन्छ भनेर बुँदागत रुपमै स्पष्ट हुनुपर्ने खाँचो छ । नेवाः समुदाय, त्यसमा पनि काठमाडौं उपत्यकाका नेवाः समुदायको अगुवाई र सहभागितामा नेपाल सम्वत्को अभियान वा भिन्तुना आन्दोलन चलेको थियो । त्यसो भन्दैमा यो नेवाः समुदायको मात्र अभियान भने होइन । अहिले पनि यो नेवार समुदायको सम्वत् भन्ने भ्रम धेरैमा रहेको पाइन्छ । त्यही कारणले हरेक वर्ष प्रधानमन्त्रीलाई भेट्न जाँदा नेपाल सम्वत्को अभियान नेवाः समुदायले अगुवाई गरेकै आधारमा यो नेवाः हरूको मात्र सम्वत् भन्न मिल्छ भनेर प्रश्न सोध्दै आएको छु ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चारै जना नेवाः समुदायका हुन् । नेपाली कांग्रेस संस्थापना गर्ने व्यक्तिहरू पनि नेवाः समुदायका छन् । नेवाःहरूले स्थापना गरेको पार्टी बोकिरहन मिल्ने तर नेपाल संवत्लाई किन बोक्न नमिल्ने भनेर अहिलेका प्रधानमन्त्री र प्रधानमन्त्री भइसकेका वरिष्ठ नेताहरू सबैलाई सोधिसकेको छु । नेपाल सम्वत्को प्रयोग सरकारीस्तरमा व्यापक बनाउन प्रधानमन्त्रीलाई केले अप्ठ्यारो पारेको छ ? यस सम्बन्धी निर्णय गर्न केले रोके को छ? जवाफमा यस सम्बन्धी ठोस काम गर्छु भनेर हरेक प्रधानमन्त्रीले भन्ने गरेको छ। नेपाल सम्वत्को अभियानले केही उपलब्धि हासिल नगरेको होइन । तथापि ती उपलब्धीहरू किस्ताबन्दीका रुपमा पाइरहेका छौं। फेरि हामीले सरकारलाई भन्यौं– किस्ताबन्दी रुपमा पाइरहेको उपलब्धि पर्याप्त भएन । नेपाल सम्वत्को प्रयोग सम्बन्धी राष्ट्रिय सम्वत् नीति बनाउनु आवश्यक छ । सम्वत्को प्रयोगका सन्दर्भमा सरकारी दृष्टिकोण के हो ?
सरकारलाई बारम्बार सोध्दै आएका छौं । कमसेकम सम्वत् सम्बन्धी एउटा छुट्टै नीति आवश्यक छ । यस आन्दोलनका सर्वोच्च नेता पद्मरत्न तुलाधर हुँदादेखि हामीले यही कुरो भन्दै आएका छौं। तर पनि राज्यबाट टुक्रा टुक्रा रुपमा मागहरू पूरा हुँदै आइरहेको छ । कहिले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता प्रदान गरेको छ, कहिले सरकारले मान्यता दिएको भनेछ, त कहिले शंखधरलाई राष्ट्रिय विभूति घोषणा छ, कहिले बिदा भनेको छ र कहिले कार्यदल गठन गरेको छ । आजभन्दा २५ वर्ष अघिदेखि अहिलेसम्म हामीले नेपाल सम्वत्का सवालमा छ सात वटा सरकारी निर्णयहरू पाइसकेका छौं । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाल संवत् सम्बन्धी कार्यदल पनि गठन गरियो । कार्यदलले प्रतिवेदन पनि बुझायो तर त्यो प्रतिवेदन अध्ययन नहुँदै सरकार फेरबदल भयो ।
जनताले प्रतिवेदनमा के छ भनेर अहिलेसम्म थाहा पाएको छैन । सरकारले नेपाल सम्वत्लाई ग्रहण गरिदिनुस् । हाम्रो आग्रह यही रहेको छ । सरकारी कामकाजमा नेपाल सम्वत्को प्रयोग गर्ने भनेर नयाँ वर्षकै अघिल्लो दिन (विक्रम सम्वत् २०८१को कार्तिक २७ गते) मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । तर, त्यो निर्णय राजपत्रमा निस्किएन । मन्त्रिपरिषद्ले निर्णय गर्ने तर राजपत्रमा ननिस्किने पनि हुन्छ ? त्यसपछि कस्तो निर्णय भएको छ भनेर हामी सिहंदरबार गयौं । ठाडो आदेशको भरमा निर्णय गरिएको रहेछ । ठाडो आदेशको भरमा गरिएको निर्णय राजपत्रमा ननिस्किने रहेछ । मन्त्रालयबाट प्रक्रिया पुऱ्याएर, कानुन मन्त्रालयको सहमति लिएर मन्त्रिपरिषद्मा जानुपर्ने प्रक्रिया रहेछ । यो विषयमा कर्मचारी संयन्त्र र प्रधानमन्त्रीलाई पनि भेटेर भनिसकेका छौं । हामीले बजेट वा अरु भौतिक सामग्री मागेका होइनौं, मन्त्रिपरिषद्ले गरेको निर्णय राजपत्रमा प्रकाशित गरिदिनु भए पुग्छ भनेर प्रधानमन्त्री समक्ष भनेका थियौं । राजपत्रमा प्रकाशित भए भोलि काम गर्न सजिलो हुनेछ, कर्मचारी संयन्त्रलाई काम गर्न सहज हुनेछ । हामीले मागेको यति मात्रै हो । अर्थात सरकारले गरिसकेको निर्णयलाई औपचारिक प्रदान गरियोस् भन्ने मात्रै हाम्रो माग हो ।
त्यसै गरी अहिले नेपाल सम्वत्को सरकारी कार्यालयमा प्रयोग बारे अनुगमन गर्न सरकार समक्ष भन्दै आएका छौं । विभिन्न सरकारी कार्यालय, अड्डा र निकायले अहिले नेपाल सम्वत् प्रयोग गर्दै आएको छ । तर त्यसको प्रयोगमा कहीं समस्या छ कि ? त्यसलाई अझै सहज बनाउने कुनै उपाय छ कि ? अथवा कसैले प्रयोग नगरेको अवस्था पो छ कि ? त्यसको अनुगमन गर्न जरुरी छ । अहिलेसम्म पाएको उपलब्धिमा हामी खुशी छौं । तर, त्यो पर्याप्त छैन । यसका लागि सम्वत् सम्बन्धी नीति बनाएर कानुनी रुपमै अघि बढ्नुपर्ने खाँचो छ । मुख्यरुपमा भन्नुपर्दा सरकारले नेपाल सम्वत्को अपनत्व ग्रहण गर्नुपर्दछ । अहिले सरकारको शून्य लगानीमा नेपाल सम्वत् क्यालेण्डर हेर्ने एप्स बनाएका छौं।
सरकारले नेपाल सम्वत्को प्रयोगको लागि लगानी गरेपछि मात्र नेपाल सम्वत्को तिथिमिति, यसबारे सारा जनताले थाहा हुनेछ । यसले नेपाल सम्वत्बारे बुझाउन धेरै सहयोग गर्नेछ। त्यसपछि नेपाल सम्वत्को प्रयोग अझ बढ्ने छ । पञ्चायती सत्ता ढाल्न नेपाल सम्वत् को आन्दोलन निकै सहयोगी बनेको इतिहास हामी सामू छ । यो कुरो अहिलेका शासकहरूले बुझेर पनि बुझपचाउनु भएन । भोलि नेपाल सम्वत्को आन्दोलनको गति तीब्र भयो भने के हुन्छ भनेर शासकहरूले गम्भीर रुपमा सोच्नुपर्ने खाँचो छ । बंगलादेश लगायत विभिन्न देशको गतिविधि हेर्ने हो भने यसो हुँदैन भन्न सकिन्न। त्यसले गर्दा नेपाल सम्वत्लाई राष्ट्रकै सम्वत् भनेर लिनु आवश्यक छ । हामी सानै उमेरदेखि विक्रम सम्वत् पढ्दै प्रयोग गर्दै हुर्किएकोले हामीले नेपाल सम्वत् प्रयोगलाई ल्याउन नसकिएको हो । नेपाल सम्वत्बारे अहिले स्कुलबाटै शिक्षा दिने हो भने अहिले विक्रम सम्वत् प्रयोग गरे झै यसको पनि प्रयोग सहज हुनेछ । त्यसका लागि शिक्षा, चेतना दिनुपर्ने खाँचो छ । राम्रो चिज
सिकायौं भने त्यसको ग्राह्यता पनि सहज हुन्छ । जुन कुरा सिकाइन्छ, त्यही सिक्छौं । राणाकालदेखि नेपाल सम्वत् बारे सिकाइएन । त्यसैले हामीले सिकेनौं। वि.सं २०५६ सालमा शंखधर साख्वाः राष्ट्रिय विभूति घोषणा गरेको थियो । अहिले विद्यालयस्तरमा ठाउँको जीवनीबारे र इतिहासबारे पढाइने गरेको छ । ६ कक्षाको नेपालीमा शंखधरको जीवनी राखिएको छ। त्यसपछि कक्षा ५ र ९ कक्षामा नेपाल सम्वत्का प्रणेता शंखधर साख्वाः भनेर राखिएको छ।यसले शंखधर साख्वाःको प्रचार जनजनमा फैलाउन धेरै काम गयो । तर, स्थानका विषयमा समेटिएको पुगेन भनेर भन्दै आएका छौं । शंखधर साख्वाःको माध्यमबाट राष्ट्रियता, गरिबी निवारण, सामाजिक कल्याणकारी सेवा लगायतका विषयमा ज्ञान दिन सकिन्छ। ठिमी ल्यायम्ह पुचःको अगुवाईमा विभिन्न स्थानमा नेपाल सम्वत्का प्रणेता शंखधर साख्वाःको सालिक निर्माणलाई तीव्रता दिएका छौं । अहिले देशभर २८ ठाउँमा शंखधरको सालिक रहेको छ । शंखधर साख्वाःको सालिकप्रतिको सम्मानले हामीलाई लोककल्याणको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गर्दछ।


