काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुगेका छन्।
मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपतिले सिफारिस अनुसार बिघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ। आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिएनन् । त्यसपछि प्रचण्ड खुमलटार फर्किएका छन् ।
यद्यपी कानुनविदहरुले भने संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका छन्।
कानुनविद् टिकाराम भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र संविधानमाथिको थिचोमिचो र जालसाजी भएको टिप्प्णी गरेका छन्।
‘संविधानमा संसद विघटन गर्ने कुनै प्रावधान छैन,’ भट्टराईले भने, ‘यो संविधानमाथिको थिचोमिचो र जालसाजी हो। यो विवाद अदालतमा जान्छ। राष्ट्रपतिले असंवैधानिक कदममा हस्ताक्षर गर्नु हुँदैन। राष्ट्रपति संविधानको संरक्षक हो, संहारक होइन।’

