• TOKHA LIVE

    • २६ मंसिर २०७७, शुक्रबार १०:१९

    सरकार विरुद्धको प्रदर्शन व्यापक बनाउने कांग्रेसको निर्णय

    २०७७ मंसिर २६ गते शुक्रवार

    टोखा लाइभ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकार विरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई व्यापक बनाउने निर्णय गरेको छ।

    शुक्रवार विहान बुढानिलकण्ठ मन्दिर परिसरमा बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार विरुद्धको प्रदर्शनलाई व्यापक बनाउने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। ‘२९ गतेको प्रदर्शनलाई व्यापक बनाउने निर्णय गरेको छ,’ डा. महतले भने, ‘यो प्रारम्भिक चरणको छलफल हो। त्यसपछि आन्दोलनका अन्य कार्यक्रमका विषयमा छलफल हुन्छ।’

    बुढानिलकण्ठमा बसेको क्षेत्रीय सभापति पदाधिकारी बैठकले सरकारको गलतको कामको विरोध गर्दै हुने प्रदर्शनमा विभिन्न नेतालाई खटाउने विषयमा छलफल गरेको थियो। कुन नेतालाई कहाँ खटाउने भन्ने निर्णय नभएपनि आफ्नो क्षेत्र अनुसार नेताहरुलाई प्रदर्शनको नेतृत्व गर्दै खटाउने कांग्रेसले तयारी गरेको छ।

    मंसिर १९ गते बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध ७७ वटै जिल्लाहरूमा मंसिर २९ गते विरोध प्रदर्शनको निर्णय गरेको छ।

    तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक-पटक सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता र अकर्मण्यता तथा स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध विरोध प्रदर्शन गरिन लागेको कांग्रेसको भनाइ छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै