नविना श्रेष्ठ ।
काठमाडौं पौष ११। त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह ऐतिहासिक रूपमा दशरथ रंगशालामा सम्पन्न भएको छ। यस अवसरमा ८९ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् भने करिब १६ हजार विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भई दीक्षित भएका छन्।
समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयकी कुलपति तथा प्रधानमन्त्री सुशिला कार्कीले दीक्षित सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिन्। उनले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन सरकारले सकारात्मक पहल गरिरहेको बताइन्। प्रधानमन्त्री कार्कीले दलीय हस्तक्षेपका कारण नेपालको उच्च शिक्षा क्षेत्र प्रभावित हुँदै आएको उल्लेख गर्दै अब शिक्षा क्षेत्रलाई स्वच्छ, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन आवश्यक रहेको धारणा राखिन्।
यस्तै, शिक्षामन्त्री महावीर पुनले एक्काइसौँ शताब्दीको विश्वले अब डिग्रीभन्दा पनि क्षमतालाई प्राथमिकता दिने बताए। “अब विश्वले तपाईंको डिग्री के हो भनेर भन्दा पनि तपाईं के गर्न सक्नुहुन्छ भनेर सोध्नेछ,” उनले भने, “समयअनुसार आफ्नो क्षमता प्रमाणित गर्न सक्नु आजको आवश्यकता हो।”
दीक्षान्त समारोहको दृश्य केवल प्रमाणपत्र वितरणमा सीमित थिएन। त्यहाँ देखिएका क्याप (Cap) हरूले संघर्षका अनगिन्ती कथाहरू बोकेका थिए। गरिबी, पारिवारिक जिम्मेवारी र कठिन परिस्थितिका कारण धेरैको टाउकोमा त्यो क्याप सजिलै अडिएको थिएन। विदेश जाने चाहना हुँदाहुँदै पनि आफ्नै देशमा केही गर्छु भन्ने अठोटले थामिएको त्यो क्याप, आत्मविश्वास र आशाको प्रतीक बनेको थियो।
काखमा बच्चा च्यापेर क्याप ओढेकी आमाले केवल डिग्री मात्रै होइन, आफ्नो सन्तानको भविष्य पनि निर्माण गरिरहेकी थिइन्। चाउरिएको अनुहारमा जीवनप्रतिको सकारात्मक सोच झल्किन्थ्यो। कलिलो उमेरमा क्याप सजाएका अनुहारहरूले संघर्ष गर्दै अघि बढ्ने प्रेरणा दिइरहेका थिए। जागिर नहुँदा घरबाट पैसा पठाउँदै पढाइ पूरा गरेका ती डिग्रीहरूका आ–आफ्नै कथा थिए।
आज देशमा बेरोजगारी र गरिबीका समस्या भए पनि हजारौँ संघर्षका बीच आफ्नै देशको विश्वविद्यालयबाट क्याप लगाउने क्षण गर्वले भरिएको थियो। त्यो क्यापले नेपालीलाई हार नमानी संघर्ष गर्न सिकाएको छ, र भविष्यप्रति आशा जगाएको छ।

