• TOKHA LIVE

    • २५ बैशाख २०८३, शुक्रबार १८:३०

    पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

    काठमाडौँ, २५ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाएर जनधनको क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    जल तथा मौसम विज्ञान विभाग द्वारा आज आयोजित राष्ट्रिय मनसुन फोरम कार्यक्रममा बोल्दै उहाँले जल तथा मौसमसम्बन्धी सूचनाको प्रभावकारी प्रयोगबाट जीउधनको सुरक्षा गर्न सकिने तथा सामाजिक, आर्थिक र भौतिक पूर्वाधारमा हुने क्षति कम गर्न सहयोग पुग्ने बताउनुभयो ।

    मन्त्री श्रेष्ठले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी कार्ययोजना प्रभावकारी बनाउन मौसम पूर्वानुमानको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँका अनुसार कृषि क्षेत्रमा मौसम पूर्वानुमानले बाली व्यवस्थापन, सिँचाइ तथा उत्पादन योजनामा सहयोग पुर्‍याउनेछ भने जलाशय व्यवस्थापन, जलविद्युत् उत्पादन, यातायात, स्वास्थ्य तथा पूर्वाधार व्यवस्थापनमा पनि यसको उपयोगिता बढ्दो छ ।

    जलवायु परिवर्तनका कारण मौसम प्रणाली थप अनिश्चित र जटिल बन्दै गएको उल्लेख गर्दै उहाँले मौसम सेवाको गुणस्तर सुधारका लागि वैज्ञानिक केन्द्रहरूको विस्तार, अनुसन्धान प्रवर्द्धन तथा आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो ।

    मन्त्री श्रेष्ठले कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ तथा आधुनिक ‘अल्गोरिदम’ प्रयोगमार्फत मौसम पूर्वानुमानलाई अझ प्रभावकारी बनाउनेतर्फ मन्त्रालय गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

    उहाँले मौसम तथा विपद् पूर्वानुमान प्रणालीले सानो सतर्कताबाट पनि ठूलो जनधनको क्षति रोक्न सक्ने उल्लेख गर्दै यस क्षेत्रमा कार्यरत प्राविधिक तथा विभागीय टोलीको प्रशंसा गर्नुभयो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै