भाद्र ७ काठमाडौं ।
हरेक वर्ष नेपाल संवत् अनुसार गुँलागा आमै तथा विक्रम संवत् अनुसार भाद्र कृष्ण औंशीको दिनलाई बुबाको मुख हेर्ने दिनको रुपमा मनाइन्छ। यस दिनमा वर्षभरिलाई पुग्ने गरि कुश घरमा भित्राउने भएकोले पनि याे दिनलाई कुशे औंशी पनि भनिन्छ। भाद्र कृष्ण औंशीको दिनमा मनाइने औंशीलाई “पितृ सम्मान”को दिनको रुपमा लिइन्छ। बुबाको मुख हेर्ने प्रचलन कहिलेबाट सुरु भयो भन्ने बारे तथ्य नरहेता पनि नेवा: समुदायमा अति नै प्रचलित परम्परा हाल देशभर विभिन्न जातजातिले पनि मनाउने गरेको छ। आमाले जन्म दिएर माया ममतामा हुर्काए झैँ बुवाले सँधै कर्मको बाटो देखाएको हुन्छ ।
यस वर्ष झैं प्रत्येक वर्ष मच्छिन्द्र क्लब, मच्छिन्द्र क्यू राेभर रेन्जरहरुले सर्भिस गर्दै आएको छ। गणेश सेकेन्डरी स्कुल, अमृत हायर सेकेन्डरी बोर्डिङ स्कुलका ट्रपका भाइबहिनीहरूले सर्भिस गरेका थिए । मछिन्द्र क्लबले गुलाब पर्व एक महिना नै जनबहाल सेतो मच्छिन्द्र भित्र बाजा बजाएर कोड एरिया घुम्ने वक्तालुहरूलाई र आज मन्दिरमा वीर भर्न आएका वक्तालुहरुलाई सहज र सजिलोको लागि पानी जुसको व्यवस्था गरेको थियो
नेवा: समुदायमा `बाया ख्वा स्वयेगु´ भनी चिनिने यस दिनको छुट्टै महतब रहेको पाइन्छ।नेवा: परम्परा अनुसार आजको दिन बुबाको चिरञ्जीवी र सुखी जिवनको कामना गर्दै सुकुण्डा ( एक प्रकारको दियो ) बालेर अण्डा , माछा सगुन दिएर फलफुल , थुप्रै मिठाइका परिकारहरु खानको लागि दिने गरिन्छ। नेवा: समुदायको एक विशेष प्रचलन भनेको `कु यंकेगु´ हो। विवाह गरि दिएर पठाएको छोरीचेलीले विवाह पछिको पहिलो वर्ष माइतिमा आमाको मुख हेर्ने दिन, बुबाको मुख हेर्ने दिन र भाइटिका बेला गरि ३ पल्ट कु लान पर्ने प्रचलन रहेको छ।
नेपालभाषामा `कु यंकेगु´ भनेको कुसँ यंकेगु हो अर्थात् पूरा रीत पुर्याएर सबै सरसामान लैजानु हो। आज भोलि महंगाइका कारण यो प्रचलनमा अलिक कठिनाइ आएता पनि राम्रै सँग चलिरहेको देखिन्छ।याे दिन “कु यंकेगु” भनेर नव विवाहित छोरीले आफ्नो घरमा लानको लागि १२ प्रकारका मिठाई लानु पर्ने चलन रहेको छ ।१२ प्रकारका मिठाई, त्यो पनि हरेक मिठाई ८ ओटा! यसरी १२ प्रकारका मिठाई लानका लागि केटा पट्टिको परिवारले अघिल्लो दिन देखिनै मिठाई पसलमा अर्डर दिनुपर्ने हुन्छ। १२ प्रकारका मिठाई संग सँगै पान ,फलफुल आदि इत्यादी पनि लाने गरिन्छ। यसका साथै चिउरा २ पाथी, रक्सी १ अन्ति (रक्सी राख्ने भाँडो), छ्याङ्ग १० माना, पा व:(मासको बारा) २४ ओटा, एँठामरी/ पहाँमरी( सानो लाखमरी ) १२ ओटा आदि कु लाने भनेर लानु पर्ने चलन रहेकाे पाइन्छ ।
बुबा नभएकाहरु भने आज गोकर्ण तिर्थमा गएर बुबाको नाममा तर्पन गर्ने गर्दछन । त्यहाँ सम्म जान नसक्नेहरु काठमाडौँको जनबहाल सेतो मच्छिन्द्रनाथमा बिहानैदेखि घुइँचो लाग्ने र निसला सिरा दिने भिर लाग्छ। त्यहाँसम्म पनि जान नसक्ने मानिसहरूले आ-आफ्नो स्थानमा रहेको विभिन्न मन्दिरहरुमा आफ्नो पिताको नाममा बत्ती बाल्ने र “निसला” चढाउने गर्दछन । टपरीमा चिउरा , केरा , जेरि- स्वारी , दहि , जस्ता खानेकुरा राखेर आफ्नो पिताको आत्माको शान्ती होस भनेर दान दिने गरिन्छ । यसैलाइ नै “निसला बियेगु” भनेर भनिन्छ। नेवा: समुदायभित्र पनि भिन्न परम्पराहरु रहेकोले आफ्नो परम्परा अनुसार गुरुजु, राजोपाध्याय तथा बाजेहरुलाई निसला दान दिने गरिन्छ भने मन्दिरमा पनि पाठ गराइ निसला चढाउने गरिन्छ। यस दिन नुहाउन वा लुगा धुन हुन्न भन्ने मान्यता नेवा: समुदाय भित्र रहेको पाइन्छ । यस दिन नुहाए वा लुगा धोए , पिता हुनेहरुको बुबाको आयु कम हुन्छ भन्ने बिश्वास छ। नेवा: समुदायभित्रको सबै जाती समुदायले आ-आफ्नै रीत अनुसार सरसामान गर्दछ।


