• TOKHA LIVE

    • ८ श्रावण २०८२, बुधबार ०८:०१

    आज गथांमुग: चर्रे, भूतप्रेतलाई विदाई ,नेवार समुदायको विशेष चाड

    टोखा / काठमाडौं साउन ७, २०८२।
    काठमाडौं उपत्यका र देश-विदेशमा रहेका नेवार समुदायले आज परम्परागत गथांमुग: चाड  (घण्टाकर्ण चतुर्दशी) श्रद्धा र परम्पराको भावसहित मनाइरहेका छन्। भूतप्रेत, पिशाच र नकारात्मक शक्तिहरूलाई घरबाट टाढा राख्‍न आजको दिन विशेष पूजा, व्रत र परम्परागत कर्मकाण्ड गरिन्छ।

    गथांमुग:, नेवार समुदायको संस्कृति र जनविश्वासमा आधारित एक विशिष्ट दिन हो । जहाँ मानवताका शत्रु प्रतीक बनेको ‘घण्टासुर’ नामक राक्षसको कथा र उसलाई परास्त गरिएको क्षण सम्झिन्छन्।

    घण्टासुर /धर्मविरोधी, आतङ्ककारी राक्षस

    पुरातन जनविश्वास अनुसार, एक समय काठमाडौं उपत्यकामा ‘घण्टासुर’ नामको दानवले त्रास फैलाएको थियो। उसलाई धर्म, पूजा, र देवताको नाम पटक्कै मन पर्दैनथ्यो। सज्जन, सन्त र साधुलाई मार्ने उसको बानी थियो। ताकि कसैले धार्मिक कुरा उसलाई सुनाउन नपाओस् भनेर, उसले आफ्ना कानमा फलामका ठूला घण्टा बाँधेको थियो । यही कारण उसलाई ‘घण्टाकर्ण’ भनिएको हो।

    त्यो राक्षस खासगरी गरिब, निरीह र बाटो हिँड्नेहरूबाट कर असुल्थ्यो। उसले बाटोमा हिँड्ने महिलाहरूलाई दुख दिने, अपमान गर्नेसम्मका घृणित कार्य गर्थ्यो। त्यतिबेला, उपत्यकावासीहरूको जनजीवन भयाक्रान्त थियो।

    कथाअनुसार, एकदिन जब घण्टासुर भोकाएको बेला मान्छे खोज्दै जंगल पस्यो, एक भ्यागुतोसँग उसको भेट भयो। त्यो भ्यागुतोले उसलाई धोका दिँदै भासिएको जमिन (धाप)तर्फ बाटो देखायो। राक्षस त्यहीँ खस्यो र बाहिर निस्कन सकेन। बिहान गाउँलेहरू भेला भई ढुङ्गाले हानेर घण्टासुरको अन्त्य गरे। कतै कतै कथामा तान्त्रिकले भ्यागुतोको रूप लिएर घण्टासुरलाई मारेको भनाइ पनि पाइन्छ।

    त्यसैले, आजको दिन नेवार समुदायले घण्टासुरको प्रतीकस्वरूप निगालो, नर्कट वा गहुँको छ्वालीले तीनखुट्टे पुत्ला बनाउने चलन छ। त्यो पुत्ला बिहानै दोबाटोमा राखिन्छ। केटाकेटीहरूले बाटोमा डोरी तानेर वा ढोका अड्याएर “घण्टासुरको कर” माग्ने गर्छन्। बेलुकी त्यो पुत्ला घिसार्दै नजिकैको खोला, खाल्डो वा नदीमा लगेर जलाइन्छ , सङ्केतस्वरूप, नकारात्मक शक्तिको अन्त्य र सद्गुणको विजय।

     

    काठमाडौं ,भक्तपुर, ललितपुर , खोकना ,थेचो,थिमी, किर्तिपुर , टोखा,साखु,फुसिन्ख्य  ,बुढानिलकण्ठ लगायत नेवार समुदायका घर घरका ढोका अगाडि फलामको किला ठोक्ने, तामाको औंठी लगाउने र दही-चिउरा सम्यबजी चढाएर भूत प्रेतलाई बिदा गरिन्छ। कतिपय स्थानमा तान्त्रिक विधिद्वारा घर शुद्धीकरणसमेत गरिन्छ।गठेमंगल कुनै केवल पौराणिक कथा मात्र होइन, यो न्यायको पक्षमा, अमानवियता विरुद्ध र सामूहिक सुरक्षाको पक्षमा जनचेतनाको पर्व पनि हो। अन्धकारका विरुद्ध प्रकाशको युद्धमा सामूहिक एकताको स्मरण हो।

    आजको दिन, हामी सबैले हाम्रो भित्रको घण्टासुर—द्वेष, लोभ, अहंकार, हिंसालाई पनि जलाउन सकौं, यही हो गठेमंगलको साँच्चिकै सार।

    टाेखाको गथांमुग:

    लसि लाखे राक्षस्नीको आवेग र विव्हलतालाई तत्कालीन वैश्य (नेवार) जातिले लाखे नाचका रुपमा लोक सांस्कृतिक नृत्यमा रुपान्तरित गरी यसै दिनदेखि संस्कृति नगरी टोखामा पनि यस पर्वमा विशेष गरी घर/घरमा भूत पन्छाउने गरिन्छ ।थने लाछिमा बदेमानको नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतिक बनाई साँझपख बुढा पाका,केटाकेटीहरुले तानेर क्वने लाछी मु ध्वाखा: हुँदै बिष्णुमति खोलामा लगेर जलाइ बिसर्जन गराइन्छ।

    यस दिन बिहानै घर नजिकको महादेव मन्दिरबाट ल्याएको जलले अभिषेक गर्ने प्रचलन रहँदै आएको छ । टाेखाका मुल नाइके हेमराज श्रेष्ठका अनुसार गथांमुग: कै दिन टोखाको हरेक वासिन्दाको मूल ढोका र मुख्य निदालमा शिवपुरी जंगलबाट ल्याएको ध:सी कठी, मन्जाय, च्वाकँ, छ्य: तवघाय: फकं न्हाकं, फसी ह,खिचा धुस्वा, धुस्वा: को हरियो पात लगायत  छ्वालिमा राखेर घरको लागि र चौबाटाेमा बाल्ने गरिन्छ । यसलाई नौ ग्रह फाल्ने पनि भनिन्छ।  तीन खुट्टे फलामको बीचमा राखी किला ठोक्ने चलन छ । त्यसपछि घर/घरबाट छ्वालीको चिराग बालेर छ्वास वा चौबाटोमा लगेर सेलाइने प्रचलन छ ।सेलाउदा मन्त्वाचा र इचा( हसिया)ले घरको ४ कुना मातो झिकेर चोखो गोबरले लित्पोत गरि पन्छाईन्छ र चौबाटोमा सेलाएको दिपले बनेको गाजल समेत लगाइन्छ।जस्लाइ नेवारीमा “भुटया मिखा कां जुयमा।जिगु मिखा ठिएमा”भन्ने चलन समेत छ ।

    यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास छ । गथांमुग: को दिन फलाम वा तामाको औंठी लगाउने पनि चलन छ । त्यस समयमा बकासुर राक्षसले त्यो ठाउँका मानिसहरुलाई निकै सताएका हुँदा त्यस ठाउँको जनजीवन अति कष्टकर र त्रासदीपूर्ण थियो । वीर भीमसेनको पराक्रमबाट त्यहाँका वासिन्दाहरुको दुःख दूर भएको हुँदा त्यहाँका मानिसहरु खुशी भई भीमसेनलाई आफ्ना प्राणदाता र पूजनीय व्यक्तित्वका रुपमा जय जयकार मनाउन थालेको भन्ने भनाइ रहेको पाइन्छ । नेवार (वैश्य) जातिको बसोबास भएको हरेक ठाउँमा भीमसेनको मन्दिर निर्माण गरी उनको शक्तिको स्मरण गर्दै भिं द्यका रुपमा आराधना (उपासना) र आजापूजा आज पर्यन्त हुँदै आएको छ । राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा देशको गौरव र यश बढाउनमा महत्वपूर्ण भूमिका रहेका यी लोकसंस्कृति, लोकनृत्य र चाडपर्वहरुलाई वर्तमानमा संरक्षण र सम्बद्र्धनका लागि थप प्रयास गर्नुपर्ने आजको समयको माग हो ।यस किसिमका लोकसंस्कृति बचाउनतर्फ सरकार, प्रदेश र स्थानीय सरकारको पहलसंगै आजका युवावर्गले  यो ऐतिहासिक संस्कृति पर्वलाई निरन्तर जगेर्ना गर्नुपर्ने  देखिन्छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै