• TOKHA LIVE

    • २० असार २०८२, शुक्रबार २१:०३

    केरुङ: नेपाली व्यवसायी र श्रमिकका लागि अवसरको नयाँ गन्तव्य

    – आशिष लिम्बू।
    ✍️ रसुवा, २० असार

    काठमाडौंबाट सानो यात्रामा पुग्न सकिने तिब्बतको केरुङ बजार, पछिल्लो समय नेपाली व्यवसायी र श्रमिकको आकर्षणको केन्द्र बन्दै गएको छ। रसुवागढी नाका हुँदै पुगिने यो चिनियाँ सिमाना नेपालीहरूका लागि व्यापार, रोजगारी र नयाँ सम्भावनाको ढोका बनेको छ।

    रसुवाका स्थानीयलाई प्रदान गरिने ‘सीमा परिचयपत्र’ का आधारमा केरुङमा पसल, होटल, लज तथा अन्य व्यवसाय सञ्चालन गर्ने अवसर खुलेपछि बाहिरी जिल्लाका बासिन्दाले समेत रसुवामा बसाइँ सरेर उक्त परिचयपत्र लिने होड चलिरहेको देखिन्छ।

    रसुवागढी अध्यागमन कार्यालयले हालसम्म २४२ जना स्थानीयलाई यस आर्थिक वर्षमा परिचयपत्र प्रदान गरेको छ भने हालसम्म अनुमानित ३० हजार जति रसुवावासीले यो पास लिइसकेको जनाइएको छ।

    राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरूले भने चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार केरुङमा बसोबास र व्यवसाय गर्न मिल्ने भएकाले जसतसै बसाइँसराइ गर्नेको संख्या बढ्दै गएको छ, जसले भविष्यमा सामाजिक र प्रशासनिक समस्या निम्त्याउने खतरा देखिएको छ।

    यसै कारण नयाँ प्रावधानअनुसार बसाइँसराइ प्रमाणका रूपमा जग्गाधनी प्रमाणपत्र, घर निर्माणको प्रमाण, बिजुली महसुल र वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ, जसले अव्यवस्थित बसाइँसराइलाई केही हदसम्म रोक्ने अपेक्षा गरिएको छ।

    माइती नेपाल रसुवागढी शाखाकी सीमा इन्चार्ज बीरू तामाङका अनुसार रोजगारीको खोजीमा ५०० जना नेपाली महिला केरुङ गएका छन्, जसमध्ये २०–२५ जनाले आफ्नै लगानीमा पसल खोल्न सफल भएका छन् भने अरूले होटल, पसल तथा स्थानीय तिब्बती परिवारमा काम पाइरहेका छन्।

    केरुङ पुग्ने व्यवसायीहरूका अनुसार हालसम्म करिब २० वटा नेपाली होटल तथा लज खुलेका छन्। नेपालीले सञ्चालन गरेका यस्ता होटलमा सुपथ मूल्यमा दालभात खान र सुत्न पाइने भएकाले केरुङ पुगेका नेपालीले आफ्नोपन महसुस गर्ने गरेका छन।

    केरुङमा नेपालीहरू सिलाइबुनाइ, गहना निर्माण, खुद्रा व्यापार, र मजदुरी जस्ता पेसामा संलग्न छन्। अनुमानअनुसार, १५–२० जनाले सिलाइबुनाइ गर्दैछन् भने १५ जनाजतिले सुनका गहना बनाउने काम गरिरहेका छन्।

    यस वर्ष रसुवागढी नाका हुँदै कैलाश–मानसरोवर तीर्थयात्रा जानेहरूको संख्या पनि उल्लेखनीय छ। अध्यागमन कार्यालयका अनुसार २,३९८ पुरुष र १,६१४ महिला तीर्थका लागि सो नाका पार गरेका छन्।

    केरुङ अब नेपाली श्रमिक, व्यवसायी र आस्थावान यात्रु सबैका लागि एक साझा गन्तव्य बनेको छ । जहाँ पसिनाले अवसर फुलाउँछ र मिहिनेतले सपना सजिन्छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै