– सानुराज डंगोल
कला केवल रंग र आकृतिको खेल होइन, यो आत्माको भाषा हो। मूर्तिकलाजस्तो मौन माध्यमले पनि समय, समाज र संवेदनालाई अभिव्यक्त गर्न सक्छ भन्ने सशक्त प्रमाण बनेकी छन् – करुणा श्रेष्ठ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले हालै आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ मा करुणा श्रेष्ठलाई ‘प्रादेशिक विशेष पुरस्कार’ प्रदान गरियो। यो पुरस्कार उहाँले बागमती प्रदेशस्तरीय प्रदर्शनी–२०८१ मा समसामयिक मूर्तिकला विधामा उत्कृष्टता हासिल गरेबापत प्रदान गरिएको हो।
करुणा श्रेष्ठको मूर्तिकलाले समाजभित्रको मौन चिच्याहट, व्यक्ति भित्रको द्वन्द्व, र समयले बोकेको प्रश्नहरूको उत्तर दिन खोज्छ। उहाँको सिर्जनामा न त अनावश्यक सजावट हुन्छ, न त केवल सौन्दर्यको लागि सौन्दर्य। उहाँको कला सन्देश दिन्छ, सोध्छ, र सोच्न बाध्य पार्छ।

उहाँले यस पुरस्कारमार्फत न केवल व्यक्तिगत पहिचानलाई थप उचाइ दिएकी छन्, तर समसामयिक मूर्तिकलाप्रतिको गम्भीर अभ्यास र अनुसन्धनलाई पनि उजागर गरेकी छन्। यस्तो सम्मानले कला क्षेत्रमा लागिरहेका समर्पित कलाकारहरूको आत्मबल बढाउँछ।
पुरस्कार समारोहमा ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं प्रतिष्ठानका संरक्षक माननीय बद्री प्रसाद पाण्डेको उपस्थिति कला क्षेत्रका लागि उत्साहजनक रह्यो। यसले देखाउँछ कि अब कला मात्र शौख होइन, चिन्तन, परिवर्तन र पहिचानको माध्यम बन्न थालेको छ।
करुणा श्रेष्ठको यो यात्रा कुनै पुरस्कारमा रोकिँदैन। यो सुरुआत हो – नेपाली मूर्तिकलालाई विश्वको क्यानभासमा राख्ने यात्राको। उहाँका हातले आकार दिएका मूर्तिहरू, शब्दविहीन भएर पनि बोलेका छन्, बोलेर पनि चुपजस्तै लागेका छन्। यिनले हाम्रो आत्मालाई छुन्छन्।
औंठाछापदेखि आत्मशान्तिसम्म: करुणा श्रेष्ठको कलादृष्टि र सिर्जनात्मक यात्रा
कला जब केवल हेर्ने वस्तु होइन, महसुस गर्ने माध्यम बन्छ, त्यहाँ आत्मा र चेतनाको संवाद सुरु हुन्छ। मूर्तिकलाका माध्यमबाट आफ्नो विचार र अनुभूति प्रकट गर्ने समसामयिक कलाकार करुणा श्रेष्ठको सिर्जनामा यस्तै गहिरो आत्मीयता र सामाजिक चेतना पाइन्छ। उहाँका कलाकृतिहरू प्रतीकात्मक भाषामा बोल्छन् । मौन भएर पनि गहिरो सन्देश दिन्छन्।
कलमरुपि औंठाछापको विम्ब: मौनताको दस्तावेज
करुणा श्रेष्ठको एउटा प्रमुख कलाकृति “औंठाछाप” प्रतीकात्मकता र सामाजिक इतिहासको दोभानमा उभिएको छ। उहाँ भन्छिन्:
“कलमरुपि औंठाछाप परम्परादेखि प्रचलनमा आइरहेको घरायसी तथा सरकारी कामकाज, आपसी लेनदेन र कानुनी बन्धनको प्रतीक हो।”
यो अभिव्यक्तिमा “औंठाछाप” केवल एक शारीरिक छाप होइन, बरु आधिकारिकता, मौनता, शक्ति–विहीनताको दस्तावेज हो। जहाँ शब्द छैन, त्यहाँ छाप हुन्छ। करुणा श्रेष्ठले यस मौन छापलाई बोलाउने प्रयास गरेकी छन्।
“कागज रूपी फाइबर र धातुले बनाइएको औंठाछापले गोपनीयता र मौनताको भावना व्यक्त गर्दछ।”
यस्तो सशक्त विम्बले समाजका अव्यक्त इतिहास र वर्गीय विभाजनको संकेत गर्छ। उहाँको भनाइअनुसार कलम औंला सम्भ्रान्त वर्गको प्रतिनिधित्व हो, जसले निर्णय गर्छ; औंलाका रेखा भने शक्तिको सन्दर्भमा उत्पीडितहरूको भावनालाई पोख्ने माध्यम हुन्।

आत्मजागरूकता र कलाको गहिरो सम्बन्ध
करुणा श्रेष्ठको अभिव्यक्तिमा केवल सामाजिक विम्बहरू मात्र होइन, दार्शनिक आत्म-खोज पनि प्रकट हुन्छ। उहाँ भन्छिन्:
“जब म मेरो भित्री आत्माको कुरा सुन्छु, म पाउँछु के ज्ञान भित्रबाट आउँछ।”
यो भनाइले देखाउँछ कि करुणा श्रेष्ठको कला बाहिरी जगतको प्रतिक्रिया मात्र होइन, भित्री संवेदना र आत्म-चेतनाको प्रतिबिम्ब हो। उहाँले ज्ञानलाई पढ्ने वा सिक्ने कुरा होइन, अनुभव गर्ने अवस्था का रूपमा देख्नुहुन्छ। कलाको मूल उद्देश्य — आत्मशान्ति, आत्मज्ञान र अन्ततः जीवनसँगको अर्थपूर्ण सम्बन्ध स्थापना गर्नु भन्ने उहाँको दृष्टिकोण गहिरो छ।
प्रकृतिको अमूर्त कला : मानवीकरणको प्रतीक
उहाँका पछिल्ला तीन कलाकृतिहरूमा करुणा श्रेष्ठले प्रकृति र मानवीय जीवनबीचको अन्तरसम्बन्धलाई अमूर्त कलाको रूपमा प्रस्तुत गर्नुभएको छ। पातको आकृति, अमूर्त रचना, र बृक्षको सन्दर्भ लिँदै उहाँ भन्छिन्:
“प्रकृतिको निचोडको रूपमा पात आकारलाई समायोजन गरी मानवीकरण गर्न खोजेको छु।”
पात — बृक्षको सानो अङ्ग — यहाँ समग्र जीवनको सार बनेको छ। यसले सन्तुलन, गतिशीलता, र प्रकृति–मानवको अन्योन्य सम्बन्धलाई व्यक्त गर्छ। अमूर्त शैलीले ठोस आकृतिभन्दा पनि भावना र गहिराइमा लैजान्छ। यो शैलीमा उहाँले प्रयोग गरेको सैद्धान्तिक प्रक्रियाले उहाँको कलालाई केवल दृष्टिगत होइन, बौद्धिक रूपमा पनि समृद्ध बनाएको छ।

करुणा श्रेष्ठको कला – विचार, विम्ब र विवेकको संगम
करुणा श्रेष्ठको सिर्जनात्मक अभिव्यक्ति मौनताको चिच्याहट, आत्मा–बोधको यात्रा, र प्रकृतिको सौन्दर्यबोध तीनै तहमा फैलिएको छ। उहाँका मूर्तिकलाले केवल दृष्टिमा देखिने वस्तु निर्माण गर्दैनन्, चेतनामा हलचल ल्याउने संवादहरू सिर्जना गर्छन्।
“औंठाछाप” देखेर हामी सत्ताको इतिहास सम्झन्छौं, “कलमको औंला” देखेर विभाजन र प्रतिनिधित्वको प्रश्न उठ्छ, “पातको अमूर्तता” हेर्दा प्रकृतिको सन्तुलन र जीवनको नाजुक सम्वाद झल्किन्छ।
करुणा श्रेष्ठको कला आजको नेपालमा मूर्तिकलाको विम्बात्मक मूल्यलाई नयाँ गहिराइमा पुर्याउने प्रयास हो। उहाँको यो सिर्जनात्मक यात्रा केवल व्यक्तिगत होइन, सामूहिक चेतना र राष्ट्रिय कलासंवेदनाको प्रतिबिम्ब हो।


