टाेखालाइभ डट कम/ चैत्र ७, २०७९
ऐतिहासिक साँस्कृतिक नगरी टोखाको थनेलाछीमा रहेको यँसि गायमा यँसि उठाएसँगै आजबाट विधिवत रुपमा टोखामा पहाँ चःह्रे नखः सुरू भएको छ । महादेवको प्रतीक मानिने यँसि उठाउनु पूर्व यँसि गुथि खलःहरुले यँसिको विशेष पुजाआजा गरे पश्चात् आफ्नै मौलिक परम्परागत विधिबाट अथक मेहनत र प्रयास पश्चात् यँसी उठाइन्छ । यसरी उठाएको यँसिले जात्रा शुरु भएको संकेत दिन्छ ।करिब ५५ हात लामो चोसि योंसी डोरीको सहायताले सैयौँ जात्रालुले तानेर उभ्याइयो।स्थानीय बासिन्दाका अनुसार योंसी (लिंगो )जात्राले नयाँ वर्षको स्वागत गर्ने प्रचलन रहेको बताउँछन् । यसमा लामो हलिपताका पनि फर्फराउने गरिन्छ। यी हलिंपताका असाधारण किसिमको लामा लामा हुन्छन। जसमा ३३ कोटी देवी देवताको चित्र देखि दिक्पाल र क्षेत्रपाल आदिको प्रतिकात्मक वस्तुहरू अंकित भएका हुन्छन । लिंगोको शीर्ष भागमा फुल राखी परालको डोरीले बेरिएको हुन्छ । यो एउटा धार्मिक ध्वजा हुन्।टोखामा प्रत्येक वर्ष चैत कृष्ण चतुर्दशीका दिन विहान यँसि उठाई छ । भने, सोही दिन राती अजिमा देवी (संकटा), सपन विनायक र लुकुमहा द्यः (लुकिरहेका महादेव)लाई पुजा गरिन्छ ।जसलाई स्थानीयभाषामा लुकुमहाद्यः तथा लख द्यःजात्रा भनिन्छ । यस दिनलाई पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ ।
त्यस्तै गरी यसै दिन राति वंतुली (अजिमा द्यः) र सपन विनायकको प्रतिमालाई खतमा राखी जात्रा गर्ने परम्परा छ । अजिमा द्यः (पार्वती) आमा, यँसि (लिङ्गो, शिव) पीता र सपनविनायक (गणेश) छोराको प्रतीकका रुपमा लिइन्छ । साँझपख टोल, चोक, ननी, बहालमा निगालो बालेर बाजागाजा सहित अजिमा द्यः र सपन विनायकको प्रतिमालाई खतमा राखि टोखा नगर परिक्रमा गराइन्छ ।
यसै दिन मध्यराती आचार्यजुले यँसिको अगाडि विशेष चाः पुजा तान्त्रिक पूजा गर्ने गरिन्छ । यो पूजालाई यँसि खलःबाहेक अरुले हेर्न नहुने मान्यता रहेको पाइन्छ । टोखाको धार्मिक तथा सामाजिक मान्यतालाई अघिसारेर हेर्दा अजिमा द्यः(पार्वती) आमा र सपनविनायक छोरा दुबै मिलेर लुकिरहेको महादेवलाई खोजि हिडेको प्रतीकको रूपमा लिने गरेको किवदन्ती पाइन्छ ।
टोखामा वैशाख १ गते बिस्काजात्रा यो संगै विधिगत रूपमा शुरूवात भएको मानिन्छ। जात्राको मुख्य आकर्षण पनि यहि हो। जुन प्रत्येकवर्षको थनेलाछिमा ठड्यादै आएको छ। प्रत्येकवर्षको नयाँ वर्ष बैशाख ५ गते “चोसि योंसी कोथलेगु “ पर्वलाई टोखावासीहरू बिस्का जात्राको नाउमा हर्षोल्लास पूर्वक मनाइन्छ। लिंगो जात्रा हेर्नाले सुख, समृद्घि र सहकाल आउनुका साथै शत्रु नास हुन्छन् भन्ने धार्मिक मान्यता रहेको छ । उपत्यकामा मनाइने विभिन्न जात्रामध्ये टोखाको बिस्का: जात्राको छुट्टै महत्व रहेको छ ।
टाेखाको चोसी- यंसीको कथा
काठमाडौं प्राचीनकालमा टोखाका राजा भिल्मोका सेवक तथा देशका रक्षक एक तान्त्रिक गुभाजु -पुजारीले आफ्नी श्रीमतीको तीव्र इच्छाका कारण तान्त्रिक बलबाट नागको रूप धारणा गरेछन् । पुनः मान्छेको रूप धारण गर्न श्रीमतीले अक्षेता छर्कनुपर्नेमा आत्तिएर आफ्नै मुखमा हालिछन् । त्यसपछि श्रीमती पनि नागिनी भइछन् । दुवैले मान्छे बन्न धेरै प्रयास गरे तापनि सफल भएनन् । पछि दुवैको मृत्यु भयो । तत्कालीन राजाले यो कुरा थाहा पाएर नाग-नागिनीको आत्माको शान्तिका लागि (बिस्का: नख: )बिस्केट जात्रा सुरु गरेको स्थानीय बासिन्दा टोखाका मुल नायके हेमराज श्रेष्ठ बताउँछन् ।टोखावासीले नाग र नागिनीको आत्माको शान्तिको कामना गर्दै हरेक वर्ष विस्का : जात्रा मनाउने गरेका छन् । मु: नाय हेमराजका अनुसार, ‘बिस्या’बाट अपभ्रंश भएर ‘बिस्का’ र बिस्काबाट पनि अपभंरश भएर कालान्तरमा ‘बिस्केट’ नामकरण भएको जनविश्वास छ । यसको अर्थ ‘बि’ भनेको सर्प र ‘स्याका’ भनेको मारेको अर्थात् सर्प मारेको सम्झनास्वरूप बिस्का: जात्रा मनाउन थालिएको हो ।










