विश्वका पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा सुरु
पाटन (ललितपुर), १२ जेठः गीता चौधरी ले विश्वका पशुपालक महिलाहरूको अन्तरराष्ट्रिय सम्मेलनले सामूहिक प्रतिबद्धतालाई अझ बलियो बनाउने अवसर प्रदान गर्ने बताएकी छन्।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन को प्राविधिक सहयोगमा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र खुमलटारमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले महिला पशुपालकहरूको अधिकार, सम्मान र पहिचान स्थापित गर्ने दिशामा सम्मेलन महत्त्वपूर्ण माध्यम बन्ने धारणा राखिन्।
उनले सम्मेलनमा हुने छलफलहरूले दुर्गम तथा संवेदनशील भूभागमा पशुपालनमार्फत जीवनयापन गरिरहेका महिला, पुरुष र बालबालिकाको वास्तविकतालाई केन्द्रमा राख्नुपर्ने बताइन्। पशुपालन केवल जीविकोपार्जनको साधन मात्र नभई खाद्य प्रणाली, जैविक विविधता संरक्षण, पारिस्थितिक सन्तुलन, सांस्कृतिक सम्पदा र स्थानीय अर्थतन्त्रसँग गहिरो सम्बन्धित रहेको उनको भनाइ थियो।
मन्त्री चौधरीले नीति निर्माण तहमा महिला पशुपालकहरूको आवाज पर्याप्त रूपमा प्रतिनिधित्व हुन नसकेको उल्लेख गर्दै चरन क्षेत्र, उत्पादनशीलता र पशुपालनसँग जोडिएका समस्यालाई साझा दायित्वका रूपमा लिनुपर्नेमा जोड दिइन्। उनले महिला पशुपालकहरूको समस्या सुनिनुपर्ने, आगामी पुस्ताको भविष्य सुरक्षित गर्नुपर्ने र अनुभव आदानप्रदानका लागि सम्मेलन महत्त्वपूर्ण मञ्च बनेको बताइन्।
उनले सरकारले प्राथमिकताका साथ महिला पशुपालकहरूले उठाएका सवाललाई सम्बोधन गर्दै नेपालको दुग्ध क्षेत्रको विकासमा समेत ध्यान दिइरहेको जानकारी गराइन्। हिमाली क्षेत्रदेखि मध्यपहाडसम्म पशुपालन जीवनशैली स्थानीय अर्थतन्त्र र संस्कृतिको अभिन्न हिस्सा बनेको उल्लेख गर्दै उनले याक, भेडा, च्याङ्ग्रा लगायत पशुपालनमार्फत समुदायले पुस्तौँदेखि परम्परा जोगाइराखेको बताइन्।
मन्त्री चौधरीले राष्ट्रिय योजना तथा विकास नीतिमा पशुपालक महिलाका समस्या समेटिने जानकारी दिँदै वर्तमान सरकारले युवा तथा महिलाको सहभागितासहित दिगो विकासतर्फ काम गरिरहेको उल्लेख गरिन्।
सन् २०२६ लाई अन्तरराष्ट्रिय चरन क्षेत्र तथा पशुपालक वर्ष २०२६ का रूपमा मनाउने अभियानकी सहअध्यक्ष डाक्टर मारिया फर्नान्डेज–गिमेनेज ले सम्मेलनले विश्वव्यापी नेटवर्क स्थापना गर्दै पशुपालक महिलाको आवाज बुलन्द बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन्।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन का आवासीय प्रतिनिधि डाक्टर केन शिमीजु ले सम्मेलनलाई ऐतिहासिक अवसरको संज्ञा दिँदै यसले महिला पशुपालकहरूको नेतृत्व विकास र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए।
कार्यक्रममा राष्ट्रिय योजना आयोग का उपाध्यक्ष डा गुणाकर भट्ट ले महिला पशुपालकहरूको अनुभव र सङ्घर्षलाई स्थानीयदेखि अन्तरराष्ट्रिय तहसम्म नीति निर्माण प्रक्रियामा समावेश गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरे।
आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ। सन् २०१० मा भारतको ‘मेरा’ क्षेत्रमा सम्पन्न विश्व सम्मेलनमा तयार गरिएको दस्तावेजको समीक्षा गर्नु यस सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। सम्मेलनले लैङ्गिक समानता, पशुपालक अधिकार तथा वातावरण संरक्षणलाई विशेष प्राथमिकतामा राखेको छ।