एसईई उत्तीर्ण स्काउट विद्यार्थीलाई टोखा नगर स्काउटद्वारा सम्मान
नबिना श्रेष्ठ जेठ १२, २०८३
नेपाल स्काउट अन्तर्गत बागमती प्रदेश स्काउटको टोखा नगर स्थानीय स्काउट कार्यालयद्वारा आयोजित एसईई उत्तीर्ण स्काउट सम्मान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न विद्यालयबाट २०८२ सालको एसईई परीक्षा उत्तीर्ण गरेका स्काउट विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमका सभाध्यक्ष स्थानीय स्काउटका प्रमुख आयुक्त नवीन श्रेष्ठ रहेका थिए भने प्रमुख अतिथिका रूपमा वडा नम्बर २ का वडा सदस्य अमर डंगोल सहभागी भएका थिए। विशेष अतिथिका रूपमा वडा सदस्य सबिना श्रेष्ठ, बागमती प्रदेश स्काउट कार्यसमितिका सदस्य नविना श्रेष्ठ तथा स्थानीय तहका स्काउट कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।
वडा नम्बर २ कार्यालय भवनमा आयोजित कार्यक्रममा एसईई परीक्षा उत्तीर्ण गरेका २५ जना स्काउट भाइबहिनीलाई सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन र स्काउट गतिविधिप्रतिको योगदानको प्रशंसा गरिएको थियो।
यसै अवसरमा खेलकुद क्षेत्रमा योगदान पुर्याएका दुई खेलाडी सुमित्रा डंगोल र उषा महर्जनलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। आयोजकका अनुसार उनीहरूको खेल क्षेत्रमा गरेको सक्रियता र उपलब्धिको कदर गर्दै सम्मान गरिएको हो।