काठमाडौं २०८३ जेठ १३ । वैदेशिक रोजगारीका सिलसिलामा स्पेन पुगेका गोकर्णेश्वर नगरपालिका ४ निवासी राजेश श्रेष्ठको असामयिक निधनपछि परिवार शोकमा डुबेको छ भने शव स्वदेश फर्काउने प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ। परदेशमा सपना खोज्दै गएका एक नेपाली युवाको जीवन विदेशमै अन्त्य भएपछि अहिले उनको शव नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।
गोकर्णेश्वर नगरपालिकाले वैदेशिक रोजगार बोर्ड सचिवालयलाई पत्राचार गर्दै मृतक श्रेष्ठको शव नेपाल ल्याउन आवश्यक सहयोग गरिदिन सिफारिस गरेको थियो। नगरपालिकाले उपलब्ध गराएको विवरणअनुसार श्रेष्ठ वैदेशिक रोजगारीका क्रममा बुल्गेरियाको कम्पनीमार्फत स्पेन पुगेका थिए। स्पेनमै उनको मृत्यु भएपछि परिवार तथा आफन्तजन स्तब्ध बनेका छन्।
नगरपालिकाले परिवारको आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै शव नेपाल ल्याउन आवश्यक पहल गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेको थियो। मृतकका आमा, दिदी, दाइ तथा आफन्तजन अहिले गहिरो पीडामा रहेका छन्। विदेश केवल सपना पूरा गर्ने थलो बनोस्, कसैको अन्तिम गन्तव्य नबनोस् भन्ने भावनासहित स्थानीय समुदायले समेत दुःख व्यक्त गरेका छन्।
यसबीच स्पेनको फोर्तेभेन्तुरा क्षेत्रमा रहेका नेपाली समुदाय तथा गैरआवासीय नेपाली (NRN) Non-Resident Nepali Association (NRNA स्पेन) शव नेपाल पठाउने प्रक्रियामा सक्रिय रूपमा जुटेका थिए। आर्थिक व्यवस्थापनका लागि रोजगारदाता पक्षसँग समन्वय गर्ने, सरकारी तथा बीमा प्रक्रियाबाट सहयोग जुटाउने र समुदायस्तरबाट डोनेसन सङ्कलन गर्ने गरी तीनवटा पहल अघि बढाइएको थियो।
प्रारम्भिक चरणमा रोजगारदाता पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको भए पनि केही दिन अन्योल देखिएको बताइएको छ। त्यसपछि NRNA स्पेनका पदाधिकारी, फोर्तेभेन्तुरामा रहेका नेपाली समुदाय तथा भारतीय समुदायसहितको संयुक्त बैठक बसेको थियो। उक्त बैठकपछि रोजगारदाता पक्षले शव नेपाल पठाउने सम्पूर्ण खर्च आफूहरूले नै व्यहोर्ने सहमति जनाएको थियो।
NRNA स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार रोजगारदाता पक्षले आवश्यक नगद रकमसमेत उपलब्ध गराइसकेको छ र उक्त रकम शव नेपाल पठाउने प्रक्रियाका लागि सम्बन्धित फ्युनरारियोमा जम्मा भइसकेको छ।
यससँगै समुदायस्तरबाट सञ्चालन गरिएको सहयोग सङ्कलन अभियान हालका लागि स्थगित गरिएको छ। हालसम्म सङ्कलन भएको रकमको व्यवस्थापनबारे NRNA स्पेनको आगामी बैठकले निर्णय गर्ने जनाएको छ। साथै सरकारी निकाय तथा बीमा कम्पनीबाट प्राप्त हुनसक्ने रकमका विषयमा परिवारसँग समन्वय गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।
राजेश श्रेष्ठको निधनले केवल एउटा परिवार मात्र नभई समग्र नेपाली समुदायलाई भावुक बनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, अधिकार र संरक्षणका विषयमा फेरि एकपटक गम्भीर बहस सुरु भएको छ।

