• Sanu Raj Dangol

    • ४ पुष २०७९, सोमबार २१:२८

    टाेखामा ३३ वर्षपछि भक्तपुरको प्रसिद्ध नवदुर्गा देवगण (ङालाकेगु) नाच प्रदर्शन गरिने

    टाेखालाइभ डट कम/ पुस ४,२०७९

    काठमाडौं /टाेखामा ३३ वर्षपछि भक्तपुरको प्रसिद्ध  ऐतिहासिक एव‌ं साँस्कृतिक महत्त्वको नवदुर्गा देवगण (ङालाकेगु) को नाच प्रदर्शन गरिने भएको छ ।

    आइतवार टोखा नगरपालिका २ वडा कार्यालय भवन परिषरमा नवदुर्गा देवगण तथा टोखाका विभिन्न खल: पुचका प्रतिनिधिहरुको टोलि बीच बिच भएको बृहत अन्तिम छलफलसँगै नवदुर्गा देवगण नाच यही पौष ८ गतेदेखि १० गतेसम्म ऐतिहासिक साँस्कृतिक नगरी टोखाको थनेलाछीमा प्रदर्शन हुने तय भएको छ।

    पौराणिक किम्बदन्ती तथा शिलालेखमा उल्लेख भएअनुसार लिच्छवी राजा आनन्ददेवले भक्तपुर शहरलाई नवदुर्गा भवानीमार्फत राजधानी शहरको रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैबीप्रकोप आदि अनिष्टकारी तत्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि प्रदान गर्ने बनामाला जातिको नेतृत्वमा तान्त्रिक देवदेवीहरूका साथ नवदुर्गा गणको “ङालाकेगु नाच” प्रचलनमा ल्याएका थिए । १६ औँ शताब्दीदेखि प्रचलनमा आएको यो नाच माघे संक्रान्तिको रात तान्त्रिक विधिद्वारा अष्टमात्रिका देवीदेवताहरूलाई आव्हान गरी श्वेत भैरवले सूर्यमढीको वाकुपति नारायणको मन्दिरमा विधिवत् पूजा अर्चना गरेपछि यो जात्रा प्रारम्भ हुन्छ र भोलिपल्टदेखि सूर्यमढी टोलबाट पहिलो सार्वजनिक रूपमा प्रदर्शन गरिन्छ र क्रमशः भक्तपुरका २१ ठाउँहरूका साथसाथै भक्तपुर बाहिर देउपाटन, ठिमी, नगदेश, बोडे, तुप्चा, मुलाकेचा, ग्रेखा, जयबागेश्वरी, साँखु, बनेपा, धुलिखेल,दोलखा पनौती, साँगा, श्रीखण्डपुर, खम्पु, ढुर्खक, बुढानीलकण्ठ,टाेखा , गोकर्णमा पनि प्रदर्शन गर्ने गरिन्छ।

    यो नाच टोखामा २०४६ सालसम्म टाेखामा निरन्तर नचाइएको थियो पछि विभिन्न कारणवस ०४७ साल पश्चाल बन्द रह्यो । झण्डै ३३ वर्षपछि टोखाकै विभिन्न खल: पुचहरुको निरन्तर प्रयासमा यो वर्ष पौष ८ गतेदेखि १० गतेसम्म नवदुर्गा देवगण नाच पुनः प्रदर्शन गरिन लागेको समाज सेवि तथा सांस्कृतिक अभियन्ता देवराज डंगोलले जानकारी गराउनु भयो ।

    विभिन्न कालखण्डमा विविध कारणले यो नाच रोकिने र फेरी सञ्चालन हुने गरेको पाइन्छ ! राजा भुवन मल्लको पालामा नेपाल सम्वत् ६३३ मा देशमा अनिकाल पर्दा सहकाल ल्याउन यो नाचलाई प्रारम्भ गरेको बंशावलीमा उल्लेख छ ! विभिन्न कारणहरूले गर्दा यो नाच केही समयदेखि केही ठाउँहरूमा बन्द भए पनि गणका नकिं र सदस्यहरू मुक्तिमाया र गणेश देवगण भई नाच्ने गरिएका पनि छन् !

    टोखामा निरन्तर रूपमा २०४६ सालसम्म निरन्तर चलिरहेको जात्रामा मुँ वाहाँ लिकेगु जात्रामा युवाहरूले विभिन्न अवरोध सृजना खडा गरेको कारण देखाउदै पछि २०४७ साल देखि जात्रा रोकिएको भक्तपुरका नवदुर्गा देवगण नाचका टोलि बताउँछन् ।

    सो बृहत छलफल पछि दुई पछीय सफल भए पश्चात नाच प्रदर्शन गर्न गराउन ८ दिन अघि निम्तोका रूपमा “दिं छु वनेगु” भनेर देवगणहरूलाई निमन्त्रणा गर्दै टोखाका प्रतिनिधिहरु, नेवा गूथि टाेखाका प्रतिनिधि , टाेखा सांस्कृतिक संरक्षित क्षेत्र विकास समितिका पदाधिकारीहरु ऐतिहासिक टाेखा २ र ३ नगर वासीहरुमा आगमनको लागि घरदैलोपुगि टोखा नगर परिक्रमा समेत गरेका थिए ।

    विगतका घटनाहरुलाई ध्यानमा राखि परम्परागत रुपमा चल्दै आईरहेको जात्रालाई निरन्तरता दिन टोखा नगरका जनप्रतिनिधिहरु, बुद्धिजीवीहरु, राजनितिक दलका प्रतिनिधिहरु साथै स्थानीय नगर बासीहरुको भेला गरी पूनः श्री नवदुर्गा देवगण जात्रा सभ्य र भव्य रूपमा सञ्चालन गर्न र विभिन्न आवश्यक बास र खानाको व्यवस्था, शान्ति सुरक्षाको व्यवस्था साथै आर्थिक सहयोग समेत व्यवस्था हुनु पर्ने विषयमा छलफल गरी हरेक वर्षमा जात्रालाई निरन्तरता दिन दिर्गकालिन रुपमा जात्रा सञ्चालनको दुवै पक्षमा सहमति हुने समझौता पत्र तयारी हुने सहमति समेत गरिएको छ ।

    जात्राको तालिका अनुसार देवगणहरु पहिलो दिन पौष ८ गते भक्तपुर नगरपालिकाबाट विहान १०:३० बजे प्रस्थान गर्ने र ४ बजे टोखा नगरमा पुगेर जात्रा सुभारम्भ गर्ने छन् ।

    दोस्रो दिन पौष ९ गते बिहान ८ बजे चार जना देवगण साङगला प्रस्थान गरी दिउँसो १ बजे साङगलामा जात्रा सम्पन्न साथै पूनः ३ बजे टोखाको थनेलाछिमा देवगण जात्रा सुरु हुने र गछि नाचः व प्याखं, मु वाहाँ जात्रा आदि रात्री नाच सम्पन्न गर्ने छन् ।

    तेस्रो दिन पौष १० गते विहान १० बजे वाराही नाच, १२ बजे सिम्हा दुम्हा डालाकेगु जात्रा, २ बजे महाकाली नाच, ४ बजे श्वेत भैरव ङालाकेगु जात्रा सुभारम्भ, ६ बजे जात्रा सम्पन्न गरी चपलीग्राम प्रस्थान गर्ने छन् ।

    धार्मिक कथनअनुसार महिषासुरसँगको संग्राममा नवदुर्गाले विभिन्न ९ प्रकारका रूपहरू धारण गरेका छन् ! नवदुर्गा देवगणमा सिफोद्यः, भैरब, महाकाली, बाराही, ब्रम्हायणी, महेश्वरी, कुमारी, बैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरब, सिम्ह (सिम्बः), दुम्ह (दुम्बः), खिँबाजा, तः बाजा, कामँ बाजा, महापात्र, नकिँ सम्मिलित हुन्छन् । यस नवदुर्गा ‘ङालाकेगु नाच’मा विशेषतः दुम्बः र स्वेत भैरबको विशेष भूमिका रहेको पाइन्छ ।

    नवदुर्गा नाचको लागि ब्रम्हकुण्डलस्थित खोलाको किनारमा पाइने कालो माटोबाट मुकुण्डो बनाउने परम्परा रहेको छ ! कालो माटो धुलो बनाएर कालो मास एवं मैदाको माड कपाससहित विभिन्न शुद्ध सामाग्रीहरू मुछेर मुकुण्डो तयार गरिन्छ । नवदुर्गा नाचमा महादेव, गणेश, त्रिपुरासुन्दरी, सिम्बः, बम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्बः र श्वेत भैरब गरी १३ देवगणको मुकुण्डो बनाएर नाच नाच्ने गरिन्छ ।

    जात्रा अवधिभर विभिन्न हाउभाउ प्रस्तुत गर्दै थरिथरीका रसरंगहरूसहित विविध नाचहरू प्रदर्शन गर्ने गरिन्छ । विशेषतः मुख्य नाचहरू यसप्रकार छन् :

    प्रारम्भिक नाच :
    प्रारम्भिक नाच भैरबनाथ देवताबाट सुरु हुन्छ र क्रमशः दुई घण्टाको समयमा सम्पूर्ण देवगणहरूको नाच प्रदर्शन गरिन्छ । गीतको बोल र बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलिबेटीको दुःख, शाकाहारी, मांसाहारी जस्ता विषयवस्तुहरूमा नाच प्रदर्शन गरिन्छ । भैरब नाच देवताको मूल नाइकेको रूपमा देखिन्छ । भैररूको बाहुलीबाट पूजा गर्ने, बलि दिने देवगणहरूलाई प्रसाद बाँडेर दिने देखाइन्छ । बलिको रूपमा गुठी संस्थानबाट उपलब्ध गराइएका समयबजिका साथ पूजा गरी मू बाहाँ (मूल बहान) लखेट्ने परम्परा रहेको छ । बाहिर चौरमा मू बाहाँलाई छोडेर ‘लियो लियो पायो पायो’ भन्दै मू बाहाँ लखेट्ने गरिन्छ । त्यसपछि मूल देवता (सिफोद्यः) अगाडि पूजा गर्दै मू बाहाँ बली दिने गरिन्छ । मध्यरातमा क्रमशः भैरब, काली, गणेशको नाच हुन्छ ।

    धान रोपाइँ नाच :
    ब्रम्हाायणी, महेश्वरी, कुमारी र भद्रकाली (बिष्णुदेवी) देवी देवताहरूको धान रोपाइँ नाच देखाइन्छ ।
    ब्रम्हायणीलाई नवदुर्गाको श्रृष्टिकर्ताको रूपमा लिइन्छ । पूजाआजामा सर्वप्रथम जन्मदाता ब्रम्हायणी माताको नाचबाट सुरु हुन्छ । दशैँको जात्रा पनि ब्रम्हायणी पीठबाट सुरु हुन्छ । किम्बदन्तीअनुसार प्राचीनकालमा सुडालको ठूलो जङ्गलको ब्रम्हायणी टोलबाट यस नवदुर्गा श्रृष्टि भएको भनाई छ ।
    कुमारीले नवदुर्गा गणभित्र चेलीबेटीको भूमिका निर्वाह गरेको देखिन्छ । परिवारजनमा चेलीले गरिरहेको व्यावहार यस नाचमा प्रदर्शित हुन्छ । परिवारमा खाना बाँडेर दिने, सरसफाई गर्ने, श्रृंगारहरू गर्ने जस्ता सम्पूर्ण कार्य कुमारी देवीलाई जिम्मेवारी सुम्पेको देखिन्छ । अरूलाई बाँडेर खुशी हुने कुमारीलाई भैरबले कुनै बेला खाली भएको पात्र दिँदा चित्त दुखाई विलाप गरी कुमारी तुलेगु (कुमारी विलाप) समेत यस नाचमा प्रदर्शन हुन्छ । साथै कुमारीलाई विद्याकी देवी वा सरस्वतीको रूपमा पनि लिइन्छ ।
    भद्रकाली (बिष्णुदेवी) कृषि कार्यमा प्रतिकको रूपमा देखाइन्छ । कुनै पनि प्राणी बाँच्नको निम्ति खानपानको आवश्यक पर्छ भन्ने भावार्थ यो नाचमा प्रस्तुत गरिन्छ ।
    नवदुर्गा गणमा महेश्वरी देवीलाई मात्र शाकाहारी देवीको रूपमा प्रस्तुत गरिएका छन् । सेतो रंग शान्तिको प्रतिक स्वरूप यिनलाई गङ्गाजस्तो पवित्र भएर छुट्टै पहिचान भएकी देवीको रूपमा मानिएको छन् ।

    बाराही नाच :
    बाराही देवता घरको महिला भूमिका विशेषबारे नाच प्रदर्शन गरिन्छ ! सानैदेखिको बेल विवाह, गुफा राख्ने, सूर्यदर्शन (बार्‍हा पिकायेगु), बुहारीमा हुनुपर्ने व्यावहारिक ज्ञान आदि गतिविधिहरू प्रदर्शन गरिन्छ । बुहारीले सासुलाई गर्नुपर्ने आदर, सम्मान र शिष्टता आदि बाराही नाचमा प्रदर्शन गरिन्छ । साथै घरपरिवार नारीबाट नेतृत्व निभाउनुपर्ने व्यावहार पनि यसै नाचमा प्रदर्शन गरिन्छ ।

    माछा मार्ने जात्रा :
    सिम्ह दुम्हको माछा मार्ने नाच देखाइन्छ ! सिम्ह दुम्हको प्रतिकको रूपमा भीमसेन र द्रौपतिको रूपमा बाराही र कुमारी जोडीको रूपमा रहेका हुन्छन् । यस नाचमा दुम्ह पात्रले बालबालिकाहरूका गतिविधिहरू देखाइन्छ । दुम्हले भीमसेनको रूपमा भूमिका निभाउँछ । सिम्ह देवीले बालबालिकाहरूका क्रियाकलाप प्रदर्शन गर्ने गर्छ ! जात्रा हुँदा बाटोमा पैसा मागिरहने सिम्ह द्रौपदी देवीको भूमिका निभाउने गरिन्छ ! श्रीमान् श्रीमतीबीच हुने दाम्पत्य जीवनमा हुनुपर्ने सदाचार सिम्ह–दुम्ह ‘ङा’ लाकेगु जात्राबाट प्रदर्शन गरिन्छ ।

    महाकाली नाच :
    महिषासुर दानव, नारीको क्रोध र सन्दर्भमा युद्धको भूमिका, तरवार नाच, पातालको नाच र तीन नेत्रको क्रोध नाच देखाइन्छ । महाकालीलाई यस देवगणमा सबैभन्दा क्रोधी देवीको रूपमा प्रस्तुत गरिन्छ । यस नाचमा नारीहरूको क्रोधबाट महिषासुरलाई स्वर्ग र पातालबाट खोजेर आफ्नो हतियारबाट वध गरेको नाच प्रदर्शन गरिन्छ । कुनै पनि जात्रामा आफूले कुनै बली नपाउँदा रिसाई फर्कने देवीको रूपमा देखाइन्छ । भैरबको अनुपस्थितिमा महाकाली देवीबाट पनि कार्य सञ्चालन हुन्छ भन्ने देखाइन्छ ।

    श्वेत भैरबको खास्टो लुट्ने नाच :
    मानव जीवनमा सरसफाई, महिलाहरूको श्रृङ्गार गर्ने विषयमा आधारित नाच देखाइन्छ ! महाकालीले महिषासुरको बध गरी सकेपछि रगताम्य महाकाली देवी आफ्नो वस्त्र सफा गरी रहेको बेला स्वेत भैरब भने सुन्दर नारीको नग्न शरीर हेर्दै जिस्किरहेको थिए ! आफूलाई लुकी छिपी हेरेर जिस्काएपछि महाकाली स्वेत भैरबसँग क्रोधित हुन्छ र स्वेत भैरबको खास्टो लुटेर लिन्छ ! भैरबले जति फकाए पनि महाकाली खास्टो फर्काउन मान्दै मान्दैन ! यस नाचमा श्वेत भैरबको खास्टो लुट्ने (गा त्वःकेगु) नाच प्रदर्शन देखाइन्छ ।

    खास्तो फिर्ता लिने नाच :
    महाकालीलाई मनाउन भैरब बाटो–बाटोमा पैसा उठाउन थाल्छ र पैसा चढाएर मनाउन खोज्छ । क्रोधित महाकाली मान्दैन र भाले कुखुरा खाने इच्छा प्रकट गर्छ ! भैरबले त्यही पैसाले भाले कुखुरा किनेर महाकालीलाई चढाउँछ ! महाकालीले मुखबाट भालेको टाउको छुट्याई बली लिन्छ र भैरबले आफ्नो खास्टो फिर्ता पाउँछ ! यस कथालाई जीवन्त दिँदै नाच प्रदर्शन गरिन्छ । सिम्ह दुम्ह बालकुमारी स्वेत भैरब र महाकालीबीच विशेष पूजा गरी श्वेत भैरबको नाच देखाइन्छ ।

    माछा मार्न शिक्षा दिने नाच :
    सिम्ह दुम्ह आफ्नो मित छोरालाई शिक्षा दिई माछा मार्ने जात्रा सुरु गर्न पानी फाल्ने नाच देखाइन्छ । सिम्ह दुम्हको स–साना केटाकेटीपनको चकचके नाच जिद्दिपन ठूलाबडासँग जिस्किने नाच प्रदर्शन गरिन्छ । पछि श्वेत भैरबबाट माछा मार्ने जात्रा सुरु गर्न माछा राखेको बाँसको ढक्की बोक्दै माछा मार्ने जात्रा गरिन्छ । माछा मारेर मित छोराहरूलाई अगाडि बोलाई आफू एक्लैले मात्र माछा खान्छ र माछा खाने भाषाको बोलमा सिम्हले सराप दिने गर्छ ।

    श्वेत भैरबको पेट दुख्ने नाच :
    श्वेत भैरबको पेट दुखेको नाच देखाइन्छ । छट्पटिरहेको बेला मित छोराहरू सिम्ह दुम्हकै सहयोगबाट क्षमा मागी आफ्नी श्रीमती बालकुमारी (इन्द्रायणी) बोलाई अक्षता (जाकि ह्वयेकेगु) गर्ने गराइन्छ र निको हुने नाच देखाइन्छ ! यसपछि श्वेत भैरब र इन्द्रायणीको मतिना (प्रेम) नाच प्रदर्शन गरिन्छ । आफ्नो लुगा धुन सिम्ह दुम्हको सहयोग मागिन्छ । लुगा धोइदिन्छु भनेर लिन्छन् र फालिदिन्छन् ! लुगा फाल्ने, जिस्क्याउने बानीबाट दिक्क भई मित छोराछोरीलाई गाली गरी आफैँले लुगा धुने नाच प्रदर्शन गरिन्छ ।

    समापन नाच :
    श्वेत भैरबको छोटो नाच देखाइन्छ र माछा मार्ने जात्रा सम्पन्न गरिन्छ ।
    त्यसलगत्तै पूर्ण सम्पूर्ण देवगणहरू अन्तिम देवगण नाच प्रदर्शन गरी स्थानीयबासीका हर्ष उल्लासका साथ बाजागाजा अगाडि राखेर जय काली ! जय बाराही ! लगायत नाराका साथै धुप, अगरबत्ति बाली देवगण मन्दिरसम्म पुर्‍याउने चलन छ ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै