टाेखालाइभ डट कम/नविना श्रेष्ठ
मंसिर २४,२०७९
काठमाडौं /नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौर भवनमा नेपाल स्काउट जस्तो बालबालिका तथा युवा वर्गको समग्र वृत्ति विकासको उद्देश्य सहित निरन्तर अगाडि बढी रहेको विशुद्ध सामाजिक संस्था माथि पटक पटक सत्ता र शक्तिको दुरुपयोग हुँदै , तोडफोड जोर जबरजस्ती र गैर कानुनी हर्कत प्रति नेपाल स्काउटले खेद प्रकट गरेको छ। उच्च अदालत पाटनबाट नेपाल स्काउटको पक्षमा फैसाला भैसकेको जग्गा माथि खड्काल्याण्डले पटक-पटक सत्ता र शक्तिको दुरुपयोग गरेको जनाएको छ।
नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको उपभोग गर्न पाउने वातावरण सुनिश्चतता गर्न सरकारसँग माग गरेका छन् । स्काउटले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिनका लागि सरकारसँग माग गरेको छ।नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटको नाममा लैनचौरमा रहेको तीन रोपनी जग्गा स्काउटले २०६५ सालमा खड्काल्याण्ड डेभलपमेन्ट प्रालिसँग १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराएकोमा समय सकिएपछि आफूहरूले पटक–पटक सो जग्गा खाली गर्न भने पनि अटेर गरिएको उहाँले बताए।
अदालतबाट मुद्दा जितेर आउँदा पनि जग्गा फिर्ता नगरी उल्टै नेपाल स्काउट माथि पटक–पटक धाकधम्की दिइएको र कार्यालयसमेत तोडफोड गरिएको बताए । नेपाल स्काउट राष्ट्रिय संयोजक भण्डारीले सत्ता र शक्तिको आडमा अदालतको आदेशलाई अवहेलना गरेर अमुक व्यापारीको पक्षमा प्रहरी टोलीले गुण्डागर्दी शैलीमा नेपाल स्काउटको कार्यालयका सुरक्षाकर्मीमाथि हातपात गरी तोडफोड गरेको जानकारी दिनुभयो।

भण्डारीले स्काउटको भाडाबापत पाउनुपर्ने एक करोड ९५ लाख १९ हजार १६६ रुपैयाँ पनि लिन बाँकी रहेको उल्लेख गरेको छ। भने स्काउटको सम्पत्ति कब्जा गर्न खोजिएको भन्दै आफूहरूले कुनै पनि हालतमा त्यस्तो हुन नदिने बताए। उनले स्काउटमाथि ज्यादती हुँदा र अदालतको समेत अवहेलना हुँदा पनि राज्य गम्भीर नभएको आरोप लगाएका छन्। स्काउटले उच्च अदालत पाटनमा मुद्दा हालेपछि खड्काल्याण्ड डेभलपमेन्ट प्रालिले भोगचलन गर्दै आएको तीन रोपनी जग्गा र जबरजस्ती कब्जा गरेको करिब सात रोपनी पार्किङ क्षेत्रमा खड्काल्याण्ड डेभलपमेण्ट प्रालिको कुनै हक दाबी नहुने फैसला आएको भए पनि हालसम्म सो जग्गा स्काउटको नियन्त्रणमा नआएको बताएका छन्।

